क्रान्तिका लागि यो जिन्दगी...(कविता) – भरतमणि भट्टराई - अन्तरङ्ग
1620215557

Sunday, May 2, 2021

demo-image

क्रान्तिका लागि यो जिन्दगी...(कविता) – भरतमणि भट्टराई

bharatmani+bhattarai+photo
कवि भरतमणि भट्टराई

 

कविता

          क्रान्तिका लागि यो जिन्दगी...

                                                                – भरतमणि भट्टराई

मानवको जीवन कस्तो कस्तो

देख्दा अमूल्य, अप्राप्य जस्तो

हिँड्दा, डुल्दा बटुवा जस्तो

धनीका लागि अनमोल जस्तो

गरिब असहायका लागि किन भो सस्तो ।


भरोसा छैन कहाँ के हुन्छ, भनेर 

भोक र प्यास मेटाउन नपाएर

बिरामी पर्दा सिटामोलको चक्की नपाएर

दुधे बच्चा मरेको छ ।

कत्रो लक्ष्य र योजना बनाई हिँडेकी छोरी 

अकालमा नै चितामा जल्नुपरेको छ । 

कठै बरा को भन्छ र ?

हिजो सानेकी दसमा पढ्ने होनाहार छोरी,

आँगनमा नै बेहास भई मुत्यु वरण गर्नुपरेको छ । 

गत महिना ठुली भोकलाई समायोजन गर्न नसक्दा

थला परेर कालको साथी बनेकी छ । 

आज कैयौं सर्जकहरु अपमान र ज्यादति सहन नसकी 

मृत्यु शैयामा जलेका छन् ।

आखिर जीवन क्षणिक नै हो,

तर

तर पनि मान्छे उपकार र सेवालाई बिर्सेर

स्वर्थसिद्धिका लागि जे पनि गर्न तयार छ,

कमाउने र रमाउनेमा व्यस्त छ ।

कसैको मतलब छैन कुन्नि किन हो,

अर्काको रगत चुस्नमा अभ्यस्त भएको छ । 

यतिका महल, मनोरञ्जनका साधन, मौजा कति कति ?

हुने खानेका लागि मात्र मोजमस्ती भएको छ । 

रगत र पसिनामा होली खेलेर बनेको  घ्याम्पे भुँडी

हिरोसिमा र नागासाकीमा बम पड्के झैं

ड्याम्म पड्कने बेला आउन पनि सक्छ । 

हे ! आजका दुश्मनहरू,

आँखा खोलेर हेर त !

 सबैको शरीर एउटै होइन र ?

रगत सबैको रातो नै हुँदैन र ?

इच्छा, आशा, योजना र लक्ष्यहरू

सबैसँग हुँदैनन् र ?

खानेहरू पनि कति हुन् कति ?

नेता, अभिनेता, भिजिलान्ते, शासक र कमिसनखोर

सबै मिली तिलाञ्जली दिए हँुदैन र ?

कहिले आउला माइला सबैले सिटामोल पाउने दिन ?

पेटभरि खान र आङ ढाक्ने गरी लाउने दिन

घर आँगनमा रातो सूर्य लाग्ने दिन

साने र काले स्वतन्त्र रूपमा हिँड्न पाउने दिन

रिखे र सावित्रीको स्वाभिमान र नैतिकता

रामे र हरिको अधिकारको प्रत्याभूति

सार्वभौमिकताका रक्षा र राष्ट्रियताको संरक्षण

समानता र समतामूलक समाजको सृजना

सर्वहारा वर्गको अधिनायकत्व एवम् नेतृत्व

सत्य युगको साम्यवादी दिन

ल्याउनका लागि भएभरको तागत लगाऔं

सुनौला भविष्यका निम्ति युद्धमा होमिऔं ।


जेठी, माइली, साइँली

जेठोदेखि जन्तरे, मन्तरेसम्म

ज्यामी, सर्जक, कलाकारदेखि सिपाहीसम्म

बौद्धिक, कालिगढ तथा सर्वसाधारणसम्म

हातमा हात , काँधमा काँध मिलाऔं

मातृभूमिलाई साझा फूलबारी बनाऔं

सबैमा जोश र जाँगरले सिँचाऔं

आँगनपासको पाहारिलो घाम 

तमाम जनमानसलाई

ताप्न सक्ने बनाऔं । 

                        मिलनटोल, पोखरा ।

                          bharatmanibhattarai123@gmail.com


No comments:

Post a Comment

Pages