लोक–संस्कृतीको संरक्षणमा जुट्दै लमजुङका सात चेलीहरू - अन्तरङ्ग
1620215557

Friday, August 20, 2021

demo-image

लोक–संस्कृतीको संरक्षणमा जुट्दै लमजुङका सात चेलीहरू

रणबहादुर क्षेत्री/अन्तरङ्ग             

भोर्लेटार(लमजुङ)– लमजुङका सात जना चेलीहरू लोकगीत एवम् लोकसंस्कृतिको संरक्षणसँगै समाजसेवा तथा परोपकारी कार्य गर्ने हेतुले सक्रिय हुन थालेका छन् । मध्यनेपाल नगरपालिकामा स्थायी बसोबास भई हाल काठमाडौं बसोबास गर्दै आएका ती चेलिबेटीहरूले ‘करापुटार अफिसियल नामक यु ट्युब च्यानल’ सञ्चालनमा ल्याएर सो कार्य गर्न थालेका हुन् । 

7+Cheli

        उक्त च्यानलको पहिलो भिडियो एक कार्यक्रमका बीच हालै सार्वजनिक गरियो । उक्त भिडियोमा चर्चित गायक राजु परियार र तारा थापा लगायतका कलाकारहरूको स्वर रहेको छ । सो भिडियो रोइला गीतको भाकामा आधारित छ । आफूहरूले गीत– सङ्गीतका माध्यमबाट रकम संकलन गर्ने, आफैले समेत लगानी गर्ने र संकलित रकमलाई पीडितहरूको घरबस्तीमै गएर उपचारार्थ रकम हस्तान्तरण गर्ने उद्देश्य राख्नुभएको समूहकी सक्रिय सञ्चालिका कमला कुँवर रेग्मीले बताउनुभयो । उहाँका अनुसार यस कार्यको मुल उद्देश्य लेकसंस्कृतिका संरक्षण गर्ने हो । 

        लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा घर भई हाल टोखा नगरपालिका, गोंगबु काठमाडौँमा बसोबास गर्ने ७ जना महिलाहरू उक्त अभियानमा जुट्नु भएको हो । उक्त समुहमा कमला कुँवर रेग्मीसहित सीता घिमिरे, गङ्गा कार्की, इन्दिरा भण्डारी, रीता भण्डारी, दीपा थापा, यशोदा खड्का थापा सहभागी रहेको कमलाले जानकारी दिनुभयो । 

        उहाँहरूले गत वर्षदेखि नै सो कार्यको थालनी गर्नुभएको थियो । गत बर्ष काठमाडौंमा रहेका लमजुङे महिला दिदी–बहिनी र आमा समूहको सहभागितामा लमजुङ, भोर्लेटारका मृगौला रोगबाट पीडित गङ्गाबहादुर गुरुङका लागि उपचार खर्च जुटाई रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै उहाँहरूको समूहले धुर्मुस–सुन्तली फाउन्डेसन र इन्द्रेणी सांस्कृतिक परिवारका लागि पनि समूहले रकम प्रदान गरेको र वृद्धाश्रम तथा अनाथाश्रममा गएर समेत उक्त समूहका महिला दिदीबहिनीहरूले उल्लेख्य सहयोग गर्दै आउनुभएको छ । कमलाले भन्नुभयो, ‘समाजमा कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असम्भव व्यक्तिहरूलाई रकम सङ्कलन गरी हस्तान्तरण गर्ने योजना समेत यस समूहको रहेको छ ।’ 

        लोक दोहोरीका बादशाहका रुपमा परिचित लोक गायक राजु परियारको समेत यस पुनीत कार्यमा साथ, सहयोग र समर्थन रहेको समूहकी सञ्चालिका कमलाले अन्तरङ्गलाई जानकारी दिनुभयो । कुराकानीका क्रममा उहाँले कोभिड– १९ को समस्या नियन्त्रण हुने वित्तिकै केही समय भित्रै भोर्लेटार तथा करापुटारमा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्नको लागि कलाकारहरूको व्यवस्था भइसकेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समाजका लागि केही गरौं भन्ने सोच हो, यो कार्य परीक्षण पनि हो, सफल भयो भने अघि बढ्छौं ।’ 

        आफूहरूले थालनी गरेको उक्त अभियान सफलता पूर्वक अगाडि बढाउन सकेमा यसलाई बैधानिक रुपमा संस्था दर्ता गरि समाजसेवा एवम् लोकसंस्कृतिको संरक्षणका क्षेत्रमा अघि बढ्ने योजना रहेकोसमेत उहाँले बताउनु भयो । महिलाहरूले गर्न लागेको यस पुनित कार्यलाई सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग तथा प्रचारप्रसार गर्न पनि उहाँहरूले अपिल गर्नुभएको छ । 

No comments:

Post a Comment

Pages