बाटोमा भेट्टाएका ३१ हजारसहितको पर्स सम्बन्धितलाई बुझाए अर्जुनले - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, August 31, 2021

बाटोमा भेट्टाएका ३१ हजारसहितको पर्स सम्बन्धितलाई बुझाए अर्जुनले


 

पोखरा । पोखराका एक व्यक्तिले आफूले भेट्टाएको रकमसहितको पर्स सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।

गोशली प्याकेजिङ ईण्डस्ट्रिज प्रा. लि. पोखराका सुपरभाइजर अर्जुन पोखरेलले कार्यालय जाने क्रममा भेट्टाएका नगद ३१ हजारसहितको पर्स बुझाइदिएका हुन् ।

मानवता र इमानको खडेरी परेको समयमा आफ्नो असली मानवीय गुण र इमानदारीको परिचय दिएका भन्दै सोही पोखरेलका कार्यालय प्रमुख दीपक समीपले उनको प्रशंसामा लामो फेसबुक स्टाटस लेखेका छन् ।

घटनाक्रमअनुसार पोखरा छिनेडाँडा निवासी अर्जुन पोखरेलले अफिस आउने क्रममा बाटोमा कसैको पर्स खसेको देखे । बाइक रोकेर हेरे । पर्सभित्र हजार हजार र पाँच पाँच सयका नोटहरु थिए । ती नोटहरु सबै गरेर रु. एकतिस हजार पाँच सय रहेछन् । पर्सको अर्को साइडमा विभिन्न बैङ्कका ATM CARD र सवारी साधनको स्मार्ट लाइसेन्स भेटिए । अर्जुनले लाइसेन्समा हेरे नाम, ठेगाना र मोबाइल नम्बर देखियो । पर्स हराउनेवाला रहेछ्न्- पाङग्राङ- ५, पर्वतका योगेन्द्रराज कुँवर । तुरुन्तै उक्त मोबाइल नम्बरमा फोन गरे, फोन उठेन । फेरि फोन गरे, फेरि पनि फोन उठेन । अर्जुनलाई अफिस पुग्न ढिला भसकेको थियो । उनले अफिस आएर पुन: योगेन्द्रलाई फोन गरे । यस पटक भने योगेन्द्रसँग सम्पर्क भयो उनी हाल टुटुङ्गा, पोखरामा बस्दा रहेछन् । अर्जुन पोखरेलले उनलाई आफ्नो अफिसमा बोलाएर आफूले भेट्टाएको नगद, एटिम कार्ड, स्मार्ट लाइसेन्स र अन्य कागजपत्र जे जति पर्समा थिए ती सबै सही सलामत योगेन्द्रलाई बुझाए । हराएको पर्स, पर्स धनीलाई बुझाउन पाउँदा अर्जुन प्रफुल्ल थिए भने योगेन्द्र भावुक भएर अर्जुनलाई ‘मैले माया मारिसकेको पर्स र पर्समा भएको नगद, एटिएम, लाइसेन्सलगायत कागजात पाउँदा मैले उहाँलाई कसरी कृतज्ञता व्यक्त गर्ने शब्द नै पाइनँ’ भन्दै थिए। अहिलेको समयमा पनि आफूले बाटोमा भेट्टाएको नगद फोन गरी बुझाइदिने मान्छे हुँदा रहेछन् । जो सुकैले यस्तो गर्न सक्दैनन् तर अर्जुन सर महान् हुनुहुँदो रहेछ भनेर योगेन्द्रराजले आश्चर्य मिश्रित खुसी प्रकट गरे । उनले भने, ‘म अर्जुन सरप्रति नतमस्तक भएको छु

अर्जुन पोखरेलले भने, ‘कति कामले बोकेर हिँडेको पैसा यसरी बाटोमा हराउँदा पर्स हराउनेलाई कति छ्ट्पटी र पीडा भएको होला । शुद्ध तरिकाले त्यति पैसा कमाउन मान्छेलाई कति दु:ख, कष्ट झेल्नु पर्छ । पैसा, सामान हराउनेलाई हुने छट्पटी सम्झेर मैले उहाँको भेट्टाएको पर्स दिएको हुँ । हामीमा मानवता हुनुपर्छ । बाटोमा पाइयो भन्दैमा कसैको खानुहुँदैन । सम्बन्धित मान्छेलाई बुझाइदिनुपर्छ ।’ उनले अघि भने, ‘सामान हराउनेको मुहारमा सामान भेट्टाएपछिको खुसी हेर्दा मलाई आनन्द लाग्छ ।’

 

समीपले लेखेका छन्, ‘एउटा मानवमा हुनुपर्ने मानवीय गुण, इमानदारी र असल नागरिकको परिचय दिएकोमा अर्जुन पोखरेललाई हार्दिक धन्यवाद छ । अर्जुनको यो कार्यको सबैले अनुसरण गरून् ।’

No comments:

Post a Comment