कवि भरतमणि भट्टराईको कविता- मास्टर - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 9, 2020

कवि भरतमणि भट्टराईको कविता- मास्टर

कविता      

   मास्टर

                               - भरतमणि भट्टराई

हजुरबाले दसैंमा आशीर्वाद दिँदा

हजुरआमाले पढ्न जाँदा

बाआमाले क्याम्पस जाँदा

सबै जना भन्ने गर्थे–

धेरै पढेस्, मास्टर भएस् ।

 

इष्टमित्र पाहुना, मान्यजन

समाजका ठूलाबडाहरु

उच्च स्वरले भन्ने गर्थे–

ठूलो भएस्, मास्टर भएस् ।

 

आज ती दिनहरु सम्झिरहन्छु

अँ साच्चै आशीर्वाद पो लागेछ कि के हो ?

ठूलो पनि भएँ, मास्टर पनि भएँ

के अचम्म हाम्रा पूर्वजहरु

भविष्यवाणी ड्याम्मै मिलाउने रहेछन् ।

 

के गर्ने बिडम्बना ,

त्यति बेला सबैलाई सम्झाउन सकेको भए

नेता भएस् भन्न सिकाउँथेँ होला ।

भन्सारको कर्मचारी, इञ्जिनियर वा अन्य कुनै ।

पहिलेको आशीर्वाद लाग्यो अहिले

घडीको सुईसँगै जिन्दगी चल्छ जहिले ।

तनखा केवल ‘तँ नखा’ हँुदो रहेछ ।

परिवार पाल्नलाई धौ धौ पर्ने रहेछ ।

कस्सो झुपडी बाउले ठड्याइदिएछन् र पो ।

नत्र श्रीमती पनि लुतेलाई देखेर भाग्ने रहिछन् ।

 

बा भन्नुहुन्छ,

बाटाघरे शिवेले बजारमा घर बनायो ।

बाआमा सबैलाई सुख कटायो ।

बालबच्चा इञ्जिनियर, डाक्टर बनायो ।

नन्द, राम अनि घनश्यामका पनि त्यस्तै ।

 

बिडम्बना

मास्टर भएर होला

मेरा सन्तान दुवै कतारको टिकट लिइसके ।

बाबाको भोटो र टोपी,

आमाको गुन्यु र चोली

छोराछोरीलाई खाना र नाना,

पत्नीको मागको बोली

खस्न नपाउँदै झसङ्ग हुन्छु ।

तीसको कमाइले पचासको खर्च,

बाचुञ्जेल जेनतेन मिलाउनै पर्छ ।

छैन कुनै अरु आउने बाटो

पोलेमाथिको फकुण्डा” कसरी बस्ला खाटो ।

 

पल्लो घर कर्मचारीकोमा

मासुसहित मसिनो पाक्छ ।

आफ्नो घरमा सस्तो खोजी

धेरै दिनलाई फारो हुने गरी,

दिनचर्या केवल चलाउनका निम्ति,

ढिँडो रोटो समाउन

सानो छोरो भान्छा ताक्छ ।

 

शिक्षा दिई बनेछन् डाक्टर,

प्राविधिक, विज्ञ, नर्स र इञ्जिनियर ।

नेता र मन्त्री अनि राष्ट्रपति ।

आज हेर ती मास्टरको गति ।

 

बाटोमा हिँड्दा सोझो नै चिनिन्छ ।

बोल्दा र चल्दा विशिष्ट लाग्ने,

निर्णय दिने र समाज निर्माणका काममा,

पहिलो दर्जाको पगरी गुथिन्छ ।

जसरी माझी डुङ्गा तार्छ,

त्यसै गरी मास्टर हरेक वर्ष

सिपयुक्त कालिगढ बनाई छाड्छ ।

 

विकासका कर्णवीर तयार गर्दै

आफ्नो पसिना सिञ्चने गर्छ ।

प्रगति गर्छन् सबै नागरिक बढ्छ देशको शान ।

कठै विचरा मास्टर पिरैपिरले मर्छ ।

 

यात्रीहरुलाई तार्दा तार्दै

पेटभरि खान र एकसरो लाउन ढुक्कले नपाई

अनगिन्ती रोगको भारी बोकी

निरिह यातनाभोगीजस्तो

राखेर पिडा मनभित्र दबाई

सुस्केरा हाली बाँचिरहेछ,

हेर्ने कोही सहारा नहुँदा

विचरा मास्टर,

दयनीय जीवन भोगिरहेछ

भोगिरहन्छ दयनीय जीवन ।।

(कवि रामकोट माध्यमिक विद्यालय, रुपा–७, कास्कीका प्रधानाध्यापक हुनुहुन्छ ।)


1 comment:

  1. संसार परिवर्तन गर्न सक्ने मान्छेहरू जन्माउनु भयो । त्यसमा नै त छ नि मास्टरहरूको महानता गुरू ।

    ReplyDelete