मिसनका महानायक : ठाकुरप्रसाद ‘छाँगा’ – डा. गोविन्द नेपाल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, August 8, 2021

मिसनका महानायक : ठाकुरप्रसाद ‘छाँगा’ – डा. गोविन्द नेपाल

नवराज पहाडी

काठमाडौं– लमजुङलाई जन्म र कर्मथलो रोजेर जीवनका अन्तिम क्षणसम्म पनि आफ्नो लक्ष्यका दृढ संकल्परत रहेर क्रियाशील रहनु हुने शिक्षासेवी, सामाजिक अभियन्ता एवम् वरिष्ठ कवि, कलाकार ठाकुरप्रसाद ‘छाँगा’ मिसनका महानयक भएको डा. गोविन्द नेपालले बताउनु भएको छ । उहाँले यो धारणा कविवर ‘छाँगा’को १०औं स्मृति दिवसमा आयोजित जुम श्रद्धाञ्जली सभामा साउन २४ गते व्यक्त गर्नु भएको हो ।

         डा. नेपाल लमजुङबासी नहुनु भएता पनि उहाँले पञ्चायतकालमा राविसेको सेवामा दुराडाँडा(पा.सं. मावि)मा खटिनु हुँदा ठाकुर छाँगासँग संगत गरेर नजिकबाट चिन्नु भएको र त्यसपछि पनि बारम्बार उहाँसँग सामिप्यमा रहनु भएको व्यक्तित्व हो । आफ्नो श्रद्धाञ्जली मन्तव्यमा डा. नेपालले गर्वका साथ भन्नुभयो, ‘यहाँहरू जति पनि वक्ता हुनुहुन्छ र उहाँका बारेमा बोल्नु भयो, त्यसलाई पाँचले गुणा गर्दा सुहाउने व्यक्तित्व हो छाँगा’ । उहाँ दुराडाँडाको १२ विद्यालय अभियानलाई सार्थक बनाउने महानायक भएको समेत दावी गर्दै भन्नुभयो, ‘२५ वर्षसम्म सामुदायिक विद्यालय र त्यसपछि पनि निजी विद्यालय खोलेर त्यसको नेतृत्व गरेर सफल बनाउने जुन भूमिका खेल्नु भयो, त्यसले उहाँलाई महानायक बनाएको छ ।’ दुराडाँडामा सर्वोदय मावि र पाणिनी संस्कृत माविलाई स्थायित्व दिनका लागि ‘छाँगा’कै नेतृत्वमा भैलोसमेत खेलेको स्मरण गर्दै डा. नेपालले उहाँ कुनै दल विशेषमा आवद्ध हुनुहुन्थेन र क्षमतावान् व्यक्तिहरू यस्तै स्वतन्त्र हुन्छन् भन्ने जनाउ दिनुहुँदै छाँगा सामाजिक व्यक्तित्व, कुशल अभिभावक, सरल स्वभावले युक्त, कर्तव्यपरायण व्यक्तित्व भएको बताउनु भयो । 

        यसैगरी, स्वर्गीय छाँगाका अर्का साथी बुद्धिबहादुर बुढाथोकीले महान व्यक्तिलाई बिर्सने नेपालीको प्रवृत्तीप्रति व्यङ्ग्य कस्नु हुँदै यस्तै कारणले हाम्रो देश पछि परेको हो भन्ने ठोकुवा गर्नु भयो । उहाँले छाँगा शिक्षक, सामाजिक कार्यकर्ता, कवि, कलाकार, साहित्यकार सबैका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनु भयो । 

        सो अवसरमा उहाँलाई नजिकबाट चिन्ने र छाँगाको व्यक्तित्वलाई उहाँको निधन पछि पनि जीवन्त बनाउन अनवरत क्रियाशील रहनु भएर ९औं स्मृति दिवससम्म मनाउँदै आउनु भएका तीर्थ स्मृति प्रतिष्ठानका अध्यक्ष, कविवर विजयराज न्यौपानेले छाँगाको जीवनी बारेमा संक्षिप्त श्रद्धाञ्जली कविता वाचन गर्नु भएको थियो । त्यसरी श्रद्धाञ्जली कविता वाचन गर्नेहरूमा हृदय अधिकारी, गंगा खनिया, भाग्यशाली अधिकारी, चन्द्रवदना घिमिरे आदि हुनुुहन्थ्यो । 

        उहाँको स्मृतिमा आफूसँगका स्मरण सुनाउनेहरूमा कार्यक्रमका अध्यक्ष डा. जीवन अधिकारी, ई. कृष्ण राना, कार्यक्रमका सञ्चालक देशवन्धु अधिकारी, नवीन अधिकारी(गोर्जे), देव दुरा, दुराडाँडा सेवा समाजका अध्यक्ष  निर्मल न्यौपाने आदि हुनुहुन्थ्यो । 

        यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडीले छाँगाको व्यक्तित्वका बारेमा प्रकाश पार्दै उहाँ जस्तो व्यक्तित्वलाई गुमाउनु पर्दा आजका दिनमा पनि पीडाबोध हुन्छ भन्नुभयो । उहाँले पछिल्ला दशकहरूका आफ्नो जन्मथलोलाई कर्मथलो बनाउन धेरैले बिर्सने गरेको स्थिति छ । छाँगाले काठमाडौं जस्तो ठूलो ठाउँमा आफूलाई विकाउन नसकेर जन्मथलोलाई कर्मथलोको रुपमा स्वीकार गर्नु भएको होइन भन्ने जीवनको अन्तिम क्षणसम्म पनि यही थलोमा क्रियाशील रहेको तथ्यले पुष्टि गर्दछ । उहाँको यो आदर्शतालाई उहाँका अनुयायीहरूले अवम्बन गर्न आवश्यक छ पहाडीले भन्नुभयो । उहाँले त्यसैले पनि उहाँको जन्म र कर्मथलो मै उहाँको स्मृतिका कामहरू गर्न सक्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो । छाँगा आफ्नो अभिभावक समेत भएको, उहाँलाई आफूले शैक्षिक अभियान्ताका रुपमा मात्र नभई, कुशल प्रशासक, कवि, गीत र नृत्यकार, आफूले सम्पादन गरिआएको अन्तरङ्गको सल्लाहकार, त्यसको असल पाठक एवम् कविताको स्तम्भकार जस्तै हुनुभएको स्मरण पहाडीले गर्नु भयो । 

        ठाकुरप्रसाद छाँगा स्मृति परिषद तदर्थ समिति, काठमाडौँको आयोजनामा भएको श्रद्धाञ्जली सभामा परिषदका अध्यक्ष डा. जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँकी सहधर्मिणी पार्वती अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने परिषदका उपाध्यक्ष तथा छाँगाका सुपुत्र प्रतीक अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । 

        स्मरणीय छ, कार्यक्रममा छाँगाको तस्वीर नराखिएको र उहाँका छोरीहरू कुनैलाई पनि दुई शब्द पनि राख्ने अवसर नदिएको प्रति भने सहभागीहरूले तीतो अनुभव गरे । त्यस्तो टिप्पणी गर्नु हुनेमा लमजुङ रत्न साप्ताहिकका प्रकाशक एवम् समाचार संयोजक सुधा ढकाल पहाडीसमेत हुनुहुन्छ । 

No comments:

Post a Comment