अन्तरङ्ग सम्वाददाता
काठमाडौं– वरिष्ठ साहित्यकार विश्व नारीरत्न डा. वानीरा गिरीको कोरोना संक्रमणका कारण ७६ वर्षमा निधन भएको छ । उपचारका लागि काठमाडौँ बानेश्वरको सिभिल अस्पताल पु¥याएको आधा घन्टामै गए(जेठ ९ गते) राति १० बजे उहाँको निधन भएको हो ।
उहाँ नेपाली भाषासाहित्यमा पी.एच.डी. गर्ने प्रथम विश्व नारी प्राज्ञ समेत हुनुहुन्थ्यो । उहाँले विगत तीन वर्षदेखि अर्धचेतनाको दिनचर्या धानिरहनु भएको थियो । लामो समयदेखि मधुमेहको शिकार उहाँ विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट समेत पिडीत हुनुभएको थियो ।
डा. गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको हो । उहाँको न्वारनको नाउँ सत्यदेवी थियो । राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एम.ए. पढ्न काठमाडौँ आउनु भएकी उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध हुनु भएको थियो । त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक भएपछि उहाँले एम.एड. उतीर्ण गर्नुका साथै २०४२ सालमा पीएचडी गर्नु भएको हो । उहाँ नेपाली भाषासाहित्यमा पी.एच.डी. गर्ने उनी प्रथम विश्व नारी प्राज्ञ हुनुहुन्थ्यो ।
डा. गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । यी दम्पतिका एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो । अपराजिता र अपूर्व अमेरिकामै वसोवास गर्दै आएका छन् ।
सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएकी डा. गिरी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली महिला प्राज्ञ हुनुहुन्थ्यो । डा.गिरीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गर्नु भएको थियो । डा.गिरीले चीन, वङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, सिङ्गापुर, जापान, इटली, फ्रान्स, नर्वे, निदरल्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका आदि मुलुकको भ्रमण गरी अनुभव हासिल गर्नु भएको थियो ।
डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा. वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशित भएको छ । सो कृतिको अङ्ग्रेजी भाषामा दुर्गा वनवासी शिवाकोटीले अनुवाद (२०७८) गरी सक्नु भएको छ ।
त्रिमूर्ति निकेतनको आयोजनामा डा. गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । त्यही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा. गिरी पाँच लाख रुपैयाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित हुनु भएको थियो । सोही अवसरमा कोइरालाले डा. गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गर्नु भएको थियो ।
डा. वानीरा गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित हुनु भएको थियो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल पहिलो र वानीरा गिरी दोस्रो हुनुभएको थियो । कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम हुनु भएको थियो । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरू बीचको मतमतान्तरका कारण उहाँलाई दोस्रो बनाइएको थियो । त्यतिखेर बानीराको कविता सुनेपछि राजा महेन्द्रले उहाँलाई नेपालमा नै बस्ने आग्रह गरेपछि डा. गिरी आजीवन नेपालमा बस्ने हुनुभएको हो ।
डा. गिरीका पति इन्जिनियर शंकर गिरीको प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भएको छ । सो फाउन्डेशनको पुँजी राशि झण्डै सात करोड रुपैयाँ बराबर रहेको छ ।
वानीरा फाउन्डेशनले नेपाली भाषासाहित्यका विश्व नारीरत्न डा. वानीरा गिरीजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको वानीरा फाउन्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार स्व. गिरीका पति शंकर गिरी, छोराछोरी र परिवारजनप्रति फाउन्डेशनले हार्दिक समवेदना प्रकट गरेको छ ।
No comments:
Post a Comment