कोरोनाको दोस्रो प्रकोप : लमजुङको समुदायस्तरमा देखिन थाल्यो, आजै आठ जनामा संक्रमण पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, May 2, 2021

कोरोनाको दोस्रो प्रकोप : लमजुङको समुदायस्तरमा देखिन थाल्यो, आजै आठ जनामा संक्रमण पुष्टि

अन्तरङ्ग संवाददाता

बेसीशहर– कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो प्रकाप लमजुङमा समुदायस्तरमा देखिन थालेको छ । विगतमा शहरमा बढी फैलिएको कोरोना यसपटक ग्रामीण भेगका देखिन थालेको हो । त्यसो त बेसीशहरमा पनि दुई जनामा बैशाख १९ गते संक्रमण पुष्टि भएको छ । 

जिल्लाको दुर्गम मानिने दूधपोखरी गाउँपालिका– २ का ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सो कार्यालयका अनुसार संक्रमित हुनेहरू बालकदेखि बृद्धसम्म छन् । पुष्टि भएका संक्रमितको उमेर १० बर्षीयदेखि ७१ बर्षीयसमेत छन् । बालक स्थानीय बागीश्वरी माध्यमिक विद्यालयको कक्षा– ५ का विद्यार्थी हुन् । संक्रमित अन्यको उमेरमा २२ बर्षीय, ४२ बर्षीय पुरुष र ४५ बर्षीय पुरुषका साथै ७० बर्षीय बृद्ध रहेको जानकारीमा आएको छ । दूधपोखरी गाउँपालिका– २ मा ९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ६ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

दूधपोखरी गाउँपालिका– २ का संक्रमित ६ जना मध्ये १ जना एक जना शिक्षक हुन् भने अन्य गाउँमै रहँदै आएका स्थानीय भएको वडाध्यक्ष गोविन्द दवाडीले बताउनु भयो । उहाँका अनुसार केही समयअघि सोही गाउँका ६५ बर्षीया महिलामा रुघाँखोकी लाग्ने ज्वरो आउने समस्या देखिएको थियो । 

स्वास्थ्य समस्या आएपछि बैशाख १० गते उनलाई उपचारका लागि चितवन लगिएकोमा उहाँलाई ४ दिन अघि चितवनमा कोरोना पोजेटिभ देखिएको वडाध्यक्ष दवाडीले बताउनुभयो । उहाँका अनुसार वडामा अन्यलाई पनि रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा १६ गते ९ जनाको स्वाब संकलन गरिएको कोरोना पोजेटिभ देखिएका ६ जना आफ्नै घरमा छन् । उनीहरू सबैलाई परिवारका सदस्यबाट छुट्टै सुरक्षितका साथ बस्न अनुरोध गरिएको वडाले जनाएको छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिको केही दिनमा स्वाब संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

उक्त क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको बुझिएको छ । रोजगारीको क्रममा भारत गएका केही व्यक्ति गाउँ फर्किएको स्थानीयले बताएका छन् । भारतबाट आएका व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण फैलिएको हुन सक्ने आशंका गाउँलेहरूको छ । यस विषयमा गाउँपालिकाले खोजविन गरिरहेको गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले बताउनुभयो । 

कोरोना संक्रमण देखिएपछि दुधपोखरी गाउँपालिका ६ दिनका लागि बन्द

गाउँपालिका निवासी ६ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि दुधपोखरी गाउँपालिकाको कार्यलय आज १९ गतेदेखि ६ दिनको लागि बन्द गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ६ दिनका लागि गाउँपालिकाको कार्यलय र सम्पूर्ण वडा कार्यलय बन्द गरेको जनाएको हो । गाउँपालिका अन्तर्गतका सबै वडा कार्यलय तथा पालिकाको कार्यलयबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द गरिएको गाउँपालिकाले जनाएको छ । दुधपोखरी गाउँपालिका– २ विचौर, सविक विचौर गाविस– ४ निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसपछि ६ दिनका लागि गाउँपलिाकाको कार्यलय बन्द गरिएको गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दुधपोखरी गाउँपालिकाको स्थानियमा कोरोना संक्रमण पुष्टि भएकाले समुदायस्तरमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै बैशाख १९ गतेदेखि २४ गतेसम्मका लागि गाउँपालिकाको कार्यलय र वडा कार्यलयहरु बन्द गरिएको हो ।  

गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरू तथा शैक्षिक संस्थाका शैक्षिक क्रियाकलापहरू अर्को सूचना जारी नभएसम्म बैकल्पिक माध्यमबाट सञ्चालन गरिने गाउँपालकाले जनाएको छ ।

बेसीशहरका पनि दुई जनामा संक्रमण पुष्टि 

यसैबीच, बेसीशहर नगरपालिका– ८ की एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । २९ बर्षीया ती महिलामा कोरोना संक्रमण पुष्टि भएको वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो ।

निर्देशनालयका अनुसार रुघाखोकी, ज्वरो आएकोमा कोरोना जाँच गर्दा पुष्टि भएको हो । उनको लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा कोरोना जाँच गरिएको थियो । उनको अहिलेको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ । संक्रमित महिला बेसीशहरको एक बैंककी कर्मचारी हुन् । केही दिनअघि जिल्ला बाहिर गएर फर्किनु भएकी उहाँमा स्वास्थ्य समस्या देखिएको थियो । 

यसैगरी, आजै बेसीशहर नगरपालिका– ६ का ७० बर्षीया बृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणको दोस्रो प्रकोप समुदायमा देखिन थालेपछि स्थानीयमा सन्त्रास छाएको छ । यसअघिको भन्दा यस पटकको कोरोना खतरानक रहेको समाचार प्रवाह भइरहेका कारण स्थानीय सशंकिन भएका छन् भने थप मात्रामा सतर्कता अपनाएको पनि देखिन थालेको छ । अधिकांशले बजारमा हिँडदा मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने गरेका छन् । 

No comments:

Post a Comment