देशभरका नेपाली भाषा शिक्षकका लागि अनलाइन तालिम - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 2, 2020

देशभरका नेपाली भाषा शिक्षकका लागि अनलाइन तालिम

 पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत नेपाली भाषा शिक्षक समितिको आयोजनामा देशभरका नेपाली भाषा शिक्षकका लागि विषयगत अनलाइन तालिम सम्पन्न भएको छ ।

असोज ८ गते सुरु भई ८ दिनसम्म सञ्चालन भएपछि बिहीबार आयोजित समापन समारोहमा प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बश्यालले नेपाली विषय समितिले सिङ्गो प्रविधिमैत्री शिक्षक समाजलाई नै गौरव लाग्ने कार्यक्रम गरेको बताए । नेपाली विषयमा पनि प्रविधिको प्रयोग हुन सक्छ र ? भन्ने शङ्कालाई समितिले चिरेको बताउँदै अब हरेक विषयलाई प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्नेमा बश्यालको जोड थियो । नेपाली भाषा, साहित्यका मूर्धन्य व्यक्तित्वहरुको सहभागितामा रहेको तालिम हरेक दिन १ हजार जनाको क्षमता भएको जुम भरिनुले तालिम प्रभावकारी र ऐतिहासिक भएको उनको ठहर थियो ।

समितिका संयोजक हर्क बोहराले प्रविधिमैत्री शिक्षक समाजमा आबद्ध नेपाली भाषा शिक्षकहरुको साझा मञ्चका रुपमा नेपाली भाषा शिक्षक समिति रहेको बताए । यसअघि ३० दिने अनलाइन तालिम सम्पन्न गरिसकेको समितिले सिर्जना शिक्षकका कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिँदै आगामी दिनमा पनि भाषा, साहित्य र शिक्षणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने उनले जनाए । अझै देशभर रहेका नेपाली भाषाका शिक्षकहरुलाई समितिमा आबद्ध भई अघि बढ्न आग्रह गर्दै बोहराले सबै मिलेर अघि बढेमा नेपाली भाषाको सम्मान बढ्नुका साथै व्यवस्थित सिकाइ सहजीकरण गर्न सकिनेमा जोड दिए । उनले पहिलो चरणको तालिमपछि नेपाली भाषा शिक्षकहरुबाट निर्मित कक्षा १० र ८ का शैक्षिक सामग्री सम्पादनका क्रममा रहेको जानकारी पनि दिए ।

प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले नेपाली भाषाको अध्यापन त्यसै पनि रोचक हुने र त्यसैमाथि प्रविधिको प्रयोग गरी अध्यापन गर्न सक्दा सुनमा सुगन्ध हुने धरणा सुनाए । सहभागीहरुका तर्फबाट भूपेन्द्र बी. सी. शारदा श्रेष्ठले मन्तव्य राखेका कार्यक्रममा तालिम अवधिभरको प्रतिवेदन प्रभा लम्सालले र धन्यवाद ज्ञापन केन्द्रीय उपाध्यक्ष हिमा थापाले गरेकी थिइन् ।

तालिमको उद्घाटन सत्रदेखि नै हरेक दिन भाषा-साहित्यका विशिष्ट व्यक्तिहरुलाई प्रमुख अतिथिका रुपमा निम्त्याएर भाषा, साहित्य र शिक्षणका विषयमा चर्चासमेत कार्यक्रममा गरिएको थियो । कार्यक्रममा प्रा. डा. रामनाथ ओझा, प्रा. डा. यादवप्रकाश लामिछाने, डा. रामप्रसाद ज्ञवाली, डा. कर्णाखर खतिवडा, नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्याल, प्रा. राजेन्द्र सुवेदी प्रमुख अतिथि रहेका थिए । सो अवसरमा अनलाइन कक्षा व्यवस्थापनका विषयमा होमनाथ भट्टराई, पाठ्यक्रम प्रबोधीकरणका विषयमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारी, पावरप्वाइन्टका विषयमा परशुराम चौधरी र होमनाथ भट्टराई, कविता रचना र शिक्षण तथा वर्णविन्यासका विषयमा डा. देवी नेपाल, अनुसन्धानमूलक लेख रचनाका विषयमा डा. केशव भुसाल र ब्लग निर्माण र डिजाइनका विषयमा रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए । सो अवधिमा तारा आचार्य, मिलन श्रेष्ठ, होमनाथ भट्टराईले स्वागत गरेका थिए भने सञ्चालन रुपिन्द्र प्रभावी र प्रतिमा पौडेलले गरेका थिए । सम्पादन समितिका सदस्यद्वय केशव कँडेल र रुक्मणि पौडेलले विशेष सहयोग गरेका थिए ।

विश्वव्यापी कोरोना महामारीका कारण विद्यालयमा नियमित पठनपाठन हुन नसकेको अवस्थाको सदुपयोग गर्दै समाजले केन्द्र, प्रदेश र जिल्ला समितिहरुका तर्फबाट शिक्षकहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन गरिरहेको छ ।

No comments:

Post a Comment