अन्तरङ्ग संवाददाता
काठमाडौं– वरिष्ठ साहित्य, कला एवम् गीतकार, संस्कृतिविद बहुप्रतिभाका धनी व्यक्तित्व चेतन कार्की हामी माझबाट विदा हुनुभएको छ । उहाँले नेपाली साहित्य तथा सांगीतिक क्षेत्रमा थुप्रै कालजयी गीतहरूका साथ साहित्यिक कृतिहरू छाडेर जानु भएको छ । उहाँको छाउनीस्थित सैनिक अस्पतालमा जेठ २ गते बिहान १० बजे ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँमा कोरोनासमेत पुष्टि भएको थियो ।
वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनले नेपाली साहित्य तथा कलाकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । गत बैशाख १६ गते भारतको देहरादुनमा व्यक्तिगत काम सकेर नेपाल फर्किनु भएका कार्कीलाई ज्वरो आउने समस्याका कारण बैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । २६ गतेका दिनमा स्वास्थ्यमा केही सुधार भई सुप पनि पिउनु भएको थियो । हिजो दिउँसोसम्म कार्कीको अवस्था राम्रै रहेको बताइएको थियो । तर बेलुकीदेखि उहाँको स्वास्थ्यमा समस्या र्सिजिएको र आइसीयूमा भर्ना गरिएको थियो । अन्ततः आज निधन हुन गएको परिवार स्रोतले जनाएको हो ।
संस्कृतिका समेत ज्ञाता कार्की बि.सं. १९९५ कार्तिक २२ गते (सन् १९३८ नोभेम्बर ७ तारिख) मा स्याङ्जाको आरुखर्क– ९ बहाँटारीमा बुबा क्याप्टेन जुद्धवीर कार्की र माता चन्द्रमाया कार्कीको कोखबाट जन्मिनु भएको हो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझै ४ वर्षको उमेरमा पिताजीसँग लाहुर जाँदा ‘राम्दीको कुराउनी– लाहुर पुराउनी’ गीत आफै गुनगुनाएर काव्य चेतना भएको प्रमाण दिनु भएको थियो, त्यस्तो गीत न पहिले थियो, न पछि भयो । उहाँलाई नजिकबाट जान्ने अग्रजहरू बताउँछन् ।
चेतनले तारादेवी, मिरा राणा, गोपाल योन्जन, दिव्यखालिङ लगायत धेरै कलाकारहरूसँग सहकार्य गर्नु भएको थियो । उहाँले रचना गर्नु भएको ‘तीजको रहर आयो बरिलै’ बोलको तीजको गीत आज पनि चर्चित छ । दिवंगत स्रष्टा कार्कीले उज्बेकिस्थान, अजरबैजान, रुस, अमेरिका, थाइल्यान्ड, हङ्गकङ्ग, जापान, पाकिस्तान र भारतका विभिन्न शहर भ्रमण गरी अनुभव हासिल गर्नु भएको थियो ।
‘नजाउन मलाई छोडी मुख मोडी दिल तोडी च्यान्टे मायालु’, ‘कान्छी ए कान्छी’, ‘बहिनीको दया छ भने, रोधी गर दाइ नाचे नभने’ लगायतका गीतहरूका बीचमा दुनियाँले अब उहाँलाई सम्झिनेछ । चलचित्रका निर्देशक, लेखक, गीतकार, कवि, एवं साहित्यकारको पहिचान बनाउनु भएका उहाँ बहुप्रतिभाका धनी कार्की खोज तथा अनुसन्धान साहित्यमा पनि अब्बल मानिनु हुन्थ्यो ।
महेन्द्र चलचित्र साधना सम्मान पुरस्कार, मधुरिमा सम्मान, गोरखा दक्षिण बाहु, रेयुकाई नेपाल, शुभराज्याभिषेक पदक २०३१, गद्दी आरोहण रजत जयन्ती पदक २०५२, नेपाली चलचित्र कलाकार संघ सम्मान, छिन्नलता गीत पुरस्कारबाट सम्मानित हुनुभएको छ । नागरिकस्तरमा शुभारम्भ म्युजिकल जर्निको आयोजनमा ३ लाख नगदसहित एकै दिन १८ वटा संस्थाले उहाँको उचाई बराबरको ताम्रपत्र प्रदान गरी सम्मान अभिनन्दन गरेका थिए । ‘भीम विराग साहित्य सङ्गीत कला प्रतिष्ठान’बाट प्रदान गरेको ‘एघारौं बिजुलीमाया वनः श्रेष्ठ पुरस्कार’बाट पनि सम्मानित हुनुभएको थियो ।
सानैमा गुरुको बोली र पाठ याद गर्न सक्ने मेधावी छात्रका रूपमा उहाँ परिचित हुनुभयो । स्कुल र कलेजमा सधैं प्रथम हुनुहुन्थ्यो । केही वर्ष संस्कृत शिक्षाको प्रारम्भिक ज्ञान हासिल गर्नुका साथै उहाँले पूर्वीय ज्ञान र दर्शनको गहिरो अध्ययन गर्नुभएको छ । भर्तिहरि, चाणक्य, कालीदासका श्लोक कण्ठ्स्थ गरि मीमांसा गर्ने गर्नुहुन्थ्यो ।
बायोलोजीमा स्नातक र हिन्दी साहित्यमा एमए गर्नु भएका उहाँले सन् १९८६ को ‘विश्वास’ नामक चलचित्रबाट निर्देशनमा डेव्यु गर्नु भएको थियो । त्यसपछि कार्कीले ‘भुमरी’, ‘मनको आँखा’ र ‘पहिलो प्रेम’ चलचित्रको निर्देशनका साथ थुप्रै फिल्म लेखन गर्नु भएको छ । उहाँका ‘आत्मा बेचेको छैन’, ‘हनीमून’ ‘ढलेको गिलास’, ‘बसिबियाँलो’ लगायत थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् ।
वरिष्ठ सिनेकर्मी, गीतकार, साहित्यकार, मिलनसार, गुणको कदर गर्ने महाविद्वान, देशलाई अत्यन्त माया गर्ने प्रखरवक्ता हुनुहुन्थ्यो कार्की ।
उहाँका सहयात्रीहरू के भन्छन् ?
चेतन कार्की दाइ नेपाली चलचित्र क्षेत्रका ‘लिभिङ लिजेन्ड’ हुनुहुन्थ्यो कलाकार तथा चलचित्र निर्देशक नीर शाहले बताउनु भयो । उहाँले मेरो जीवनको पहिलो दिनको सुटिङका दिनदेखि नै कार्कीलाई चिनेको थिएँ भन्नुभयो । चलचित्र कर्ममा पायोनियर व्यक्तित्व, नेपाली इतिहास र गीतको क्षेत्रमा प्रशस्तै योगदान छ भन्दै नेपाली लोकसंस्कृतिमा राम्रो दख्खल भएका उर्दु र हिन्दी साहित्यको पनि ज्ञाता कार्की हुनुहुन्थ्यो शाहले भन्नुभयो । साहित्यका पनि राम्रो ज्ञान भएका उहाँले गजल र मुक्तक समेत सुन्दर लेख्नुहुन्थ्यो । उहाँ फिल्मको पटकथा लेखनमा समेत सघाउनुहुन्थ्यो । आफूलाई उहाँले निर्देशन गरेको फिल्म खेल्ने अवसर नमिलेको सम्झदै कार्कीले ४÷५ वटामात्र फिल्म निर्देशन गर्नुभएको शाहले बताउनु भयो ।
उहाँ नेपाली साहित्यमा मूर्धन्य लेखकको कृतिमा फिल्म निर्माण हुनुपर्छ भन्ने व्यक्ति हुनुहुन्थ्यो । नेपालीपनको पक्षधर पनि हुनुहुन्थ्यो । सोच पनि उहाँका गम्भीर, नेपाली लोकसंस्कृतिलाई असाध्यै माया गर्ने, असल चलचित्रकर्मीमा हुनुपर्ने सबै गुण उहाँमा थिए । आफ्नो जीवनकालमा आफ्नो परिकल्पना अगाडि बढाउन उपयुक्त किसिमको बातावरण उहाँले पाउनुभएन । यसकारण पनि चलचित्रकर्मसँग उहाँ एक प्रकारले निराश हुनुहुन्थ्यो । त्यसैले आफूलाई टाढा राख्दै आउनुभएको थियो । उहाँ मेरा लागि एक प्रकारको शिक्षक समेत हुनुहुन्थ्यो शाहले बताउनु भयो ।
यसैगरी, चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले विसं २०३८ सालमा एउटा नाटक प्रतियोगिता भएको थियो । त्यो समय उहाँ निर्णायक हुनुहुन्थ्यो । म त्यो नाटकको कलाकार थिएँ भन्नु भयो । उहाँका अनुसार नाटक सकिएपछि उहाँले बोलाएर मलाई राम्रो अभिनय गरेछौ भन्नुभयो । त्यो समयदेखि उहाँसँग मेरो चिनजान भएको थियो । त्यसपछि उहाँले फिल्म ‘विश्वास’का लागि बोलाएर मलाई कलाकार बनाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ राष्ट्रवादी र स्वाभिमानी व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।’ उहाँ धेरै भाषाका ज्ञाता हुनुहुन्थ्यो उहाँ भाषा, साहित्य, चलचित्र निर्देशन लगायत सबै कुराका ज्ञाता हुनुहुन्थ्यो । हिन्दीको समेत ज्ञाता उहाँ धेरै भाषामा दख्खल राख्नुहुन्थ्यो । उहाँमा संस्कृतको पनि ज्ञान थियो । धेरै कुराका ज्ञाता भनेर उहाँलाई चिन्दा हुन्छ । राष्ट्रवादी, स्वाभिमानी र कलाक्षेत्रमा लागेका सबैका लागि उहाँ प्रेरणाको श्रोत हुनुहुन्थ्यो । कार्की प्रचार नचाहने व्यक्ति पनि । बिसं २०६०÷६१ चलचित्र विकास बोर्डको अध्यक्ष उहाँलाई अफर गरिएको थियो, उहाँले त्यो अफर अस्वीकार गर्नुभयो निरौलाले जानकारी दिनु भयो ।
त्यस्तै, साहित्यकार एवम् कवि मुरारी सिग्देलले कार्कीको व्यक्तित्वका बारेमा जानकारी दिदैै भन्नुभयो, ‘२०५२ सालमा पुल्चोकमा पहिलोपटक उहाँसँग भेट भएको हो । म कामनामा काम गर्थें । उहाँको पहिलो अन्तर्वार्ता मैले कामनामा गरेको थिएँ । हाम्रो धेरै कुरो मिल्दोजुल्दो थियो । त्यतिबेला मेरो पुल्चोकमा स्टेशनरी पसल पनि थियो । त्यहाँ हाम्रो दैनिक भेट हुन्थ्यो । हामी नजिकका मित्र, बाबुछोराजस्तै भएका थियौं सिग्देलले बताउनु भयो । सिग्देलले थप भन्नुभयो, उहाँ नेपाली साहित्य, चित्रकलाका पनि एक प्रतिभावान व्यक्ति हुनुहुन्थ्यो । उहाँजस्तो व्यक्ति न यस अगाडि थिए, न पछि पाउन सकिन्छ । एकदमै राष्ट्रवादी, नेपाल र नेपालीलाई माया गर्ने, कुनै पनि स्वार्थरहित । देशलाई सर्वोपरि ठान्ने । राजनीतिक वादभन्दा धेरै टाढा रहेका स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । चेतनका बारेमा थप सम्झदै सिग्देलले सुनाउनु भयो, व्यक्तिगत रुपमा उहाँ आर्मीको छोरा भएको हिसाबले आफू पनि अनुशासन र समयको पालना गर्नुहुन्थ्यो । अरु पनि अनुशासनमा बसेको, समय पालन गरेको रुचाउनुहुन्थ्यो । यो स्वभावका कारण केहीले उहाँलाई मुढी र सन्काहा पनि भन्थे । ‘हिटलर एक मिनेट ढिलो पुग्दा युद्ध हारेको थियो’ भन्ने उदाहरण दिएर उहाँले सबैलाई समयको महत्व बुझाउनु हुन्थ्यो ।
साहित्यकार सिग्देलले दिवंगत निर्देशक कार्कीका बारेमा थप जानकारी दिनुहुँदै चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको, उहाँले त्यहाँको गोरखा मिलिटरी स्कूलबाट विद्यालय तहको अध्ययन पुरा गर्नु भएको, देहारादूनकै डिएभी कलेजबाट बिएस्सी तथा हिन्दी साहित्यमा स्नातकोत्तर उत्तिर्ण गर्नु भएको थियो । उहाँले नेपाल आएर उहाँले एफडिए (फिसिरिज)मा डिप्लोमा गर्नु भएको हो ।
विद्यार्थी जीवनमा उहाँ कुशल फुटबल खेलाडीको रुपमा समेत चिनिनु हुन्थ्यो । देहरादूनमै छँदा उहाँ भारतको स्टेट प्लेयरको रुपमा चिनिनु भएको थियो । नेपाल आएर पनि उहाँले फुटबल खेललाई निरन्तरता दिने क्रममा ठमेल टिमको तर्फबाट फुटबल खेल्नु हुन्थ्यो । विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गर्नु भएका चेतन कार्की चलचित्रमा भने २०२५ सालदेखि आवद्ध हुनु भएको हो । उहाँले रचना गरेका दर्जनौं गीतहरू अत्यधिक लोकप्रिय छन् सिग्देलले सुनाउनु भयो ।
यसैगरी, नायिका करिस्मा मानन्धरले जतिबेला मैले चलचित्र अभिनयमा प्रवेश गरें, त्यो समयदेखि उहाँलाई चिन्दछु । त्यो समय उहाँलाई चलचित्रका लेखकका रुपमा चिन्दथें भन्नु भयो । उहाँसँग पहिलोपटक भेट पोखरामा फिल्म ‘पहिलो प्रेम’ भन्ने सुटिङमा भएको थियो । त्यो फिल्ममा उहाँ निर्देशक हुनुहुन्थ्यो, धिरेन शाक्यले अभिनयमा डेब्यु गरेका थिए भन्ने स्मरण गर्नु भयो । दिनमा ८ वटा कोकाकोला खानुहुने कार्की धेरै क्षेत्रको ज्ञान भएको विशिष्ट प्रतिभाका धनी हुनुहुन्थ्यो उहाँले भन्नुभयो ।
उहाँले विभिन्न पत्रपत्रिकालाई थुप्रै लेख रचना, गीत, गजल, मुक्तक, हाइकु, कविता र कथा प्रकाशित गराउनु भएको छ । कतिपय स्रष्टाका कृतिमा भूमिका समेत लेखिदिनु भएको छ । गोर्खा छात्र संघको बिहान र दुन समाज नेपालको पत्रिका सम्पादन गर्नु भएको थियो । उहाँका रेडियो नेपाल र विभिन्न टिभि वार्ता प्रसारण भएका छन् ।
वरिष्ठ गीतकार, कवि, लेखक, निर्देशक तथा संस्कृतिविद चेतन कार्कीको निधनप्रति नेपाल सरकारले शोक वक्तव्य निकालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक शोक वक्तव्यमार्फत दिवंगत कार्कीलाई श्रद्धाञ्जली अर्पण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालद्वारा जारी शोक वक्तव्यमा भनिएको छ– ‘चेतन कार्कीको उपचारको क्रममा सैनिक अस्पताल, छाउनीमा आज बिहान दुःखद निधन भएको छ । स्वर्गीय कार्की नेपाली साहित्य, चलचित्र तथा गीत–संगीतमा लामो योगदान दिने बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।’
स्व.कार्कीका श्रीमती गंगा कार्की, दुई सुपुत्र पारस कार्की तथा पंकज कार्की हुनुहुन्छ । उहाँहरू सहित परिवारका अन्य सदस्यहरू यतिबेला सबै आइसोलेसनमा छन् । स्वर्गीय आत्माको चीर शान्तिको कामना र परिवारमा गहिरो समवेदना ! भावपूर्ण श्रद्धाञ्जलि– चेतन कार्की ।
No comments:
Post a Comment