दुराडाँडामा आजै थपिए १५ जना कोरोनाका नयाँ संक्रमित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 7, 2021

दुराडाँडामा आजै थपिए १५ जना कोरोनाका नयाँ संक्रमित

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा पनि कोरोना भाइरस (कोभिड– १९)को दोस्रो प्रकोप फैलिरहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराद्वारा आज बैशाख २४ गते जारी गरेको विज्ञप्तिबाट आज एकै दिनमा मात्र १५ जना नयाँ संक्रमित थपिएको पुष्टि भएको हो । 

सुन्दरबजार नगरपालिका– ३ को ऐतिहासिक थलो दुराडाँडामा आज संक्रमित पुष्टि भएकाहरू मध्ये ७ जना महिला र ८ जना पुरुष छन् । उनीहरूको उमेर २३ वर्षदेखि ६० वर्षसम्मको रहेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित महिलाहरूको उमेर २५, २७ वर्षका २ जना, २८, २९, ४१ र ४८ रहेको छ । 

त्यस्तै, संक्रमित पुरुषहरूको उमेरमा क्रमशः २३, २८, ४१ र ४३ वर्षका को २/२ जना, ४५ र ६० वर्ष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

जिल्लामा आजमात्र कोरोना संक्रमण पुष्टि हुने संख्या ३१ पुगेको छ । जिल्लामा कुल संक्रमित संख्या ९३ पुगेको छ । तीमध्ये एकजना महिलाको निधन भएको छ । 

यस वर्षको कोरोना भाइरस (कोभिड– १९)को दोस्रो प्रकोपको फैलने गति तिब्र भएको र मानिसको मृत्यु पनि गत वर्षको भन्दा अधिक हुने गरेको छ । त्यसैले यसबाट बच्नका लागि भिडभाड तथा अपरिचित व्यक्तिका साथै घरगाउँ छाडेर बाहिर गएर आएकासँग घुलमिल नहुने अर्थात दुरी कायम गर्ने, बारम्बार हात धुने, घर बाहिर सकभर ननिस्कने र निस्कनै पर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्ने आदि विधिको अवलम्बन गर्नु बुद्धिमानी हुने देखिएको छ । 

यदि कोही आफ्नो घरमै संक्रमित भए वा त्यस्तो आंशका भएमा त्यस्ता व्यक्ति परिवारका अन्य सदस्यभन्दा अलग बस्ने गर्नु पर्छ । साथसाथै त्यस्ता आशंकित व्यक्तिले खाने, बस्ने, सुत्ने तथा शौचालय र बाधरुम समेत छुट्टै प्रयोग गर्ने गर्नु पर्दछ । सावधान रहौं ! आफू पनि बाँचौं र अरुलाई पनि बाँच्ने मौका दिऔं । 

No comments:

Post a Comment