निर्विषयः
अन्तरङ्ग वर्ष– २९, अंक– ४५ मिति असार २४ गते(२०७८) प्रकाशित
मित्र रुद्र बोहरा मार्फत अष्टदेव खनालजीको उपन्यास कृति ‘निर्विषय’ हालै हात परेको छ । वि सं २०१० कुन्छामा जन्मेर २०२० सालमा चितवन झरेका खनाल भरतपुर – ९, संगमटोल, शरद्पुर निवासी हुन् । खनालजीको पहिलो औपन्यासिक कृति ‘निर्विषय’ वि सं २०७७ मा प्रकाशित भएको रहेछ ।
साहित्य संगम चितवनका लागि सुशीला खनाल यस कृतिको प्रकाशक रहेको पाइन्छ ।
भूमिकामा रेशम विरहीले ‘निर्विषय’लाई आम विषयहरूको निर्विषय भनेका छन् । उनले उपन्यासकार खनाललाई प्राज्ञिक चेतका अध्ययनशील साधक भनेर सटिक मूल्यांकन पनि गरेका छन् ।
‘मेरो भनाइ’मा लेखकले उपन्यास लेखनको पृष्टभूमि उल्लेख गरेका छन् ।
३३१ पृष्टको उपन्यास मैले लगातार दैनिक ४१,४२ पृष्टका दरले ८ दिनमा पढी सिध्याएं ।
उपन्यासको प्रारंभमा अमेरिका जान उडेके म पात्र (लेखक) र प्रिन्सीको उडानकै क्रममा भेट हुन्छ, उनीहरुमा मित्रता हुन्छ । उनीहरू दुबैको रुचिको क्षेत्र पनि समाज शास्त्र हुन्छ ।
त्यसपछि कथा पछाडि फर्किन्छ । अनि ओलेटा, ब्यासिल, महाजन निकोल, जुलिसा, विलियम, लुकास, लिन्डा, अन्ना, जेनी, एलेक्स, लिलियाना, थोमस, इश्मा, नोरा,युनिस,
मन्दिरा, विक्रम, रोविन, बु्रस, वेली, डंकन, नयनी, कुमार, इम्मा, ब्रुक, रोबर्ट, डा रुनि ब्रेनेट आदि पात्रहरू आउंछन् कथामा । कथा लास भेगास, लिस्वन, ट्रिनिडाड, टोको, नेभाडा, नेब्रास्का, लस एन्जलसको सेरोफेरोमा घुम्छ ।
ओलेटाको छोरा ब्यासिल, ब्यासिल र जुलिसाको छोरो विलियम, विलियम र लिलियानाकि छोरी प्रिन्सी ।
उपन्यासका १८५ पृष्टसम्म विदेशमै हुन्छौं, हामी पाठक पनि । पृष्ट १८६ मा
प्रिन्सी नेपाल फर्के पछि (म पात्र पहिले नै फर्किसकेको हुन्छ) उनीहरु ककनी, बांदर झुला, देबौली, मुस्तांग,नेपालगंज, स्याब्रांगबेसी, गाउंशहर आदि अनेक ठाउँहरूको समाज शास्त्रीय अध्ययन भ्रमण गर्दछन् र चौधरी सर, बाबुलाल, लाले, सानुमाया, दिनेश, लखन, बडक, अनुराधा, सुखन, शिव रिजाल, नरबहादुर, मनबहादुर, लप्टन बा, विपना, श्याम, माइकलहरुसंग भेटघाट र अन्तरक्रिया सम्पन्न गर्दछन् ।
उपन्यासको पृष्ट २०१ मा भनिएको छ, अहिलेसम्म कुनै सन्दर्भमा पनि विषय नवनेको बाँंदरझुला किन निर्विषय नै रह्यो होला ?’ यसबाट
बांदरझुलाजस्ता राज्यको दृष्टिमा निर्विषय वनेका नेपालमा अनेक गाउं समाज रहेको तिर संकेत गरिएको पाठकलाई महसुस हुन्छ र यथार्थता हो पनि । हामी कहां सामाजिक न्याय र समताको सिध्दान्त भन्दा पंहुच र प्रभावको आधारमा बजेट वितरण हुने गर्दछ । यसैबाट उपन्यासको न्वारान गरिएको अड्कल काट्न सकिन्छ ।
उपन्यासमा कल्पनाशीलता, प्रकृति चित्रण, बालविवाह, अनागरिकता, महिला हिंसा, समाजको बिभिन्न अवस्था, आतंकवाद, छाउप्रथा, अभाव र बिपन्नता, विधिध जातीय संस्कृति, विभेद, बहुपति प्रथा, हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप, कौरा÷रोधिं, शीत युद्ध जस्ता अनेक विषय समेटिएको पाइन्छ ।
उपन्यासमा के छ भन्नुभन्दा कै छैन र भन्दा उपयुक्त हुन्छ, मेरो विचारमा ।
समाज शास्त्रीय चिन्तन, मनन, बहस र संवादले उपन्यासको धेरै समय खाएको छ ।
यसलाई समाजशास्त्रीय उपन्यास पनि भन्न सकिएला ।
उपन्यास पढ्दै जांदा उपन्यासको सुरुमा जागेको उत्सुकता विस्तारै सेलाउंछ र अगाडिका पृष्ट पल्टाउन जांगर लाग्दैन । उपन्यास सिद्याउन मजस्ता अल्छी पाठकलाई निकै नै धैर्यताको खांचो पर्दछ ।
भाषालाई स्तरीय वनाउन खोज्दा दुरूह भएको छ । भाषा रसिलो र सरल तथा संप्रेषणीय हुन सकेको छैन । छपाइमा सामान्य त्रुटीहरु भेटिन्छन्, तर यो पक्तिंकारका ‘कथाजस्ता कथाहरू’ र ‘भोटेचौरको कथा’मा जति हैन । केही कमजोर पक्ष रहे पनि उपन्यास पठनीय एवं संग्रहणीय छ ।
उपन्यासकारले आगामी उपन्यासमा यी कुरामा ध्यान दिइ आम पाठकले पनि पढ्न र बुझ्न सक्ने रोचक उपन्यास प्रकाशन गर्नु हुनेछ ।
अन्त्यमा पहिलो प्रयास मै यति गहन उपन्यास प्रकाशन गरेर नेपाली उपन्यास साहित्यमा आफ्नो जबरजस्त उपस्थिति जनाउन सक्षम मेरा एक असल छिमेकी, अनुज मित्र उपन्यासकार अष्टदेव खनालजीलाई हार्दिक शुभकामना सहित बधाइ ज्ञापन गर्दछु ।
No comments:
Post a Comment