अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङमा असार महिना शुरु भएसँगै निरन्तर रुपमा भएको बर्षाबाट चलेको बाढी पहिरोका कारण सुन्दरबजार क्षेत्रका १४ सय परिवारमा खानेपानीको हाहाकार मञ्चिएको छ । सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्ने खानेपानी आयोजनाको पाइप विछ्याएको ठाउँमा बाढी र पहिरो चलेर पाइप बगाएपछि खानेपानीको हाहाकार हुन गएको हो ।
२२ वर्ष पुरानो सुन्दरबजार खानेपानी आयोजना त्यसै पनि पुनःनिर्माणको पर्खाईमा थियो तर अहिलेको भेलबाढी र पहिरोले त झण्डै चौथाई खण्डमा क्षति पु¥याएर काम लाग्ने अवस्थामा पु¥याएको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ततबहादुर गुरुङले बताए । उनका अनुसार ११ किमि दुरीबाट ल्याइएको खानेपानीको २२– २४ ठाउँमा पहिरोले पाइप बगाएको छ । उनले भने, ‘१०– २० मिटरका पाइप त धेरै ठाउँमा बगाएको छ, ५० देखि एक सय मिटरको तीन ठाउँ बगाएको र एक ठाउँमा तीन सय मिटर पाइप बगाएको छ ।’सुन्दरबजार खानेपानी आयोजना किरिञ्चे खोला, ग्याग्दी खोला र पाउँदी खोलाबाट ल्याइएको पानीको मिश्रण गरी निर्माण गरिएको छ । ती खोलामा खानेपानीका लागि बनाइएका मुहान बजारक्षेत्रबाट क्रमशः ११ किमि, ८ किमि र ५ किमिको दुरीमा रहेका उक्त समितिका सचिव नेत्र गुरुङले बताए । उनका अनुसार सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बजार क्षेत्रमा रहेका एक हजार ३ सय ६५ निजी घरमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘निजी घर बाहेक विद्यालयहरू, सरकारी कार्यालयहरू, पशुपालन फार्म आदि सबै गर्दा एक हजार चार सय बढी परिवारलाई सेवा दिदै आएको छ ।’ सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सुन्दरबजार नगरपालिका– ६ र ७ वडामा निजी धाराबाट पानी वितरण गरिआएकोमा बाढी पहिरोले ऐले त एक घरमा पनि सेवा दिन नसक्ने स्थिति उत्पन्न भएको उक्त समितिका व्यवस्थापक नवीन पोखरेलले जानकारी दिए ।
तीन दिनदेखि अविरल रुपमा परेको पानीले चलेको बाढी पहिरोले खानेपानीमा समस्या सिर्जिएको सोही नगरपालिका– ६ की निवासी सानाकिसान सहकारी संस्थाकी अध्यक्ष सुकमाया गुरुङले बताइन् । उनका अनुसार खानेपानीका लागि पुराना धारा, कुवा खोज्दै हिड्नु परेको छ । उनले भनिन्, ‘पुराना धारा सबै भत्किए, कुवा पनि भल पसेर पुरिएर पानी नै नजम्ने भएका छन् । खानेपानीको निकै समस्या भएको छ ।’
सोही वडामा रहेको तीन लाख लिटरको खानेपानीको टंकीको आसपासमा गएको पहिरोका कारण उक्त टंकी कुनै पनि क्षण फुट्न सक्ने स्थिति रहेको स्थानीय व्यवसायी एवम् सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णकुमार श्रेष्ठले बताए । उनले भने, ‘टंकी फुट्यो भने त्यसबाट उत्पन्न हुन सक्ने स्थिति बजारमा भयवह हुन सक्ने भएको हुँदा यसको संरक्षणका लागि तत्काल ध्यान दिएर काम गर्नका लागि चेम्बर अफ कमर्सकातर्फबाट सम्बद्ध सबै निकायमा हामी माग र अनुरोध गर्दछौं ।’
फोटोमा विभिन्न स्थानमा बाढीले बगाएको सुन्दरबजार क्षेत्रको खानेपानी आयोजनाको पाइपको स्थिति ।


No comments:
Post a Comment