अन्तरङ्ग संवाददाता
बेसीशहर– नेकपमा एमाले र माओवादी केन्द्र पूर्ववत रुपमा फर्किएपछि नेकपा एमाले लमजुङको यहाँ बसेको पहिलो बैठकले पार्टीको विरुद्धमा समानान्तर कमिटी निर्माण र सञ्चालन गर्नु विधान, नीति र सिद्धान्त विपरित रहेको ठहर गरेको छ । सो बैठक चैत ३१ गते सम्पन्न भएको हो ।
नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीका अध्यक्ष गोविन्दबहादुर नेपालीको प्रमुख आतिथ्यता र केन्द्रीय कमिटी सदस्य तथा लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यता रहेको बैठक नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडीको अध्यक्षता भएको हो ।
बैठकले संचार माध्यमहरूमा समानान्तर कमिटी भनेर सार्वजनिक भएकोमा त्यसरी पार्टीको विरुद्धमा समानान्तर कमिटी निर्माण र संचालन गर्नु पार्टी नीति र सिद्धान्त विपरित भएकोले यस्ता गतिविधिमा नलाग्न, सहभागी वा संलग्न नहुन सबैलाई आव्हान गरेको छ । यतिवेला पार्टी क्रान्ति र परिवर्तनको पक्षमा अविचलित भई दृढतापूर्वक लाग्न बैठकले सबैलाई आब्हान गरेको एमालेका जिल्ला सचिव कृष्णप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार बैठकले ६ महिना भित्र जिल्ला अधिवेशन गर्नेगरी सम्पूर्ण तयारी थाल्ने निर्णय गर्नुका साथै नेकपा एमालेलाई सच्चा कम्युनिष्ट पार्टी, अनुशासित, एकताबद्ध, गतिशील, जनआधारित कार्यकर्ता पार्टी र जनताको मन–मनमा भिजेको पार्टी बनाउने निर्णय गरेको छ ।
बैठकले वर्तमान अवस्था, संगठन र पार्टी निर्माणमा केन्द्रीत बैठकमा जिल्ला सचिव कृष्णप्रसाद अधिकारीले केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन– ९ वटा र नेकपा एमाले गण्डकी प्रदेश कार्यालयबाट प्राप्त बिशेष निर्देशन– १ को जानकारी गराउनु भएको थियो ।
उक्त बैठकमा संविधानसभा सदस्य त्रय डा. भिष्म अधिकारी, जमीन्द्रमान घले, टुका हमाल, एमालेका नेताहरू महेन्द्रलाल श्रेष्ठ, मोहनहरी पौडेल, बमबहादुर थापा, गोर्वधन गौली, जिल्ला कमिटीका उपाध्यक्ष गुमानसिंह अर्याल लगायत जिल्ला कमिटीका सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्यहरूको सहभागिता रहेको जिल्ला कमिटीका उपसचिव शुभाष पौडेलले बताउनु भएको छ ।
No comments:
Post a Comment