स्वतन्त्र पत्रकार संघ झापा अधिवेशन भर्चुअल विधिबाट, अध्यक्षमा ढकाल सर्वसम्मत, चयन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, August 20, 2021

स्वतन्त्र पत्रकार संघ झापा अधिवेशन भर्चुअल विधिबाट, अध्यक्षमा ढकाल सर्वसम्मत, चयन

अन्तरङ्ग सम्वाददाता

बिर्तामोड(झापा)– स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन हुनु भएको छ । राष्ट्रिय कोषध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको प्रथम जिल्ला अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा भदौ ४ गते चयन गरेको हो ।

        कोरोना भाइरस(कोभिड– १९)को संक्रमण झापामा बढ्दै गएका बेला प्रविधि(जुम)को प्रयोग गर्दै जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला निर्वाचित हुनु भएको छ । यसैगरी, सदस्यहरू तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी निर्वाचित हुनु भएको नवनिर्वाचित सचिवमा चन्द्र बस्नेतले बताउनु भयो । उहाँका अनुसार समितिका अन्य सदस्यहरु समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ । संघको शाखाका संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरूलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ ।

        अधिवेशनबाट दलीय स्वार्थका कारण मुलक गम्भिर संकटमा पर्ने खतरा बढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकले सहि सुचना पाउनबाट बञ्चित हुनु परेको निकर्ष निकालिएको छ । नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशील संघ–संगठनले अझै पनि स्वतन्त्र पत्रकारको अस्तित्व स्विकार गर्न अनाकानी गरेको स्थितितर्फ संकेत गर्नु हुँदै स्वतन्त्र पत्रकारहरूलाई अर्को दुनियाँको र कमजोर नठान्न आग्रह गर्नु भयो  ।

        समाचार लेखेकै आधारमा कसैले असुरक्षाको अनुभूति गर्न नपरोस् भन्दै जिम्मेवार पत्रकारिता गर्नु आजको आवश्यकता भएकोमा अधिवेशनका सहभागी स्वतन्त्र पत्रकारहरूले जोड दिएका छन् । अधिवेशनमा दलीय संगठनको आधारमा गठन भएका संगठनहरूले स्वतन्त्र पत्रकारिता गर्न नसक्ने भएकाले आस्था र विचारलाई थाँती राख्दै पत्रकारिता स्वतन्त्र रुपमा गरिनु पर्नेमा जोड दिइएको छ । साथै पत्रकार महासंघको हरेक गतिविधिमा स्वतन्त्र पत्रकारहरूलाई समेत समावेश गर्नु पर्नेमा जोड दिइएको छ ।

        साथै अधिवेशनले संस्थापक अध्यक्ष बस्नेतलाई प्रदेश पार्षदमा चयन गरेको छ । संघको राष्ट्रिय महाधिवेशन यही भदौ १९ र २० गते नवलपुरको गैंडाकोट स्थित मौलाकालिका परिसरमा गरिने निर्णय भएकाले अधिकांश जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेका छन् । संघको २५ जिल्लामा संगठन विस्तार भइसकेको छ ।

    अबका दिनमा संघमा आउने नयाँ राष्ट्रिय नेतृत्वले आगामी दिनमा थप जिल्लाहरूमा संगठन विस्तार गर्ने तथा संघका सदस्यहरूको समाचार लेखनमा स्तर बृद्धि तालिम तथा संस्थामा शुद्धिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको प्रमुख अतिथि पाण्डेले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment