सामाजिक काममा कमाईको दश प्रतिशत खर्चिनु पर्छ : मेयर मिश्र, हाम्रो घरको पहिलो अधिवेशन सम्पन्न - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 7, 2021

सामाजिक काममा कमाईको दश प्रतिशत खर्चिनु पर्छ : मेयर मिश्र, हाम्रो घरको पहिलो अधिवेशन सम्पन्न

अन्तरङ्ग सम्वाददाता

भोटेओडार(लमजुङ)– सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले ‘हामीलाई हाम्रा धर्म शास्त्रले सामाजिक एवम् परोपकारी कर्ममा कमाईको दश प्रतिशत खर्चिनु पर्छ भन्ने निर्देशन गरेका छन् तर हामीले त्यो आदर्शतालाई के कति उपयोग गरेका छौं ? म म गरौं’ भन्ने संगीन तथ्यको उजागर गर्नु भएको छ । जिल्लामा ६ महिना अघि स्थापना भएको परोपकारी संस्था ‘हाम्रो घर’को यहाँ आयोजित पहिलो अधिवेशनको उदघाटन गर्दै साउन २३ गते त्यस्तो बताउनु भएको हो । 

        मेयर मिश्रले अतिनै सालिन र सभ्य वाक्यांशहरूको प्रयोग गर्दै झण्डै एक घण्टा लामो समय लिएर गर्नु भएको उदघाटन मन्तव्यमा स्वयम्सेवामा लाग्नेहरूका लागि उत्प्रेरित गर्दै उर्जा भर्ने काम गर्नु भएको थियो । उहाँले भन्नुभयो, पूर्वीय दर्शनको संस्कार संस्कृतिले अग्रजहरूलाई सम्मान गर्ने, पाहुनालाई देवता स्वरुप पुज्ने अनि कमाईको दशांस परोपकारी काममा खर्चिन निर्देशन दिएको छ । ‘हामीहरूमा ‘म र मेरो’ भन्ने भावनाको बोलाबाला हुँदै आएको स्थितिमा नामनै ‘हाम्रो घर’को नामले पनि धेरैको होस खोल्न सक्छ र यसको मुल उद्देश्य प्राप्तिमा सहयोगका हातहरू सहकार्यका लागि आउने छन् भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले संस्थाको अल्प र दीर्घकालीन योजना(डिपिआर) १, ३, ५, १०, २०, ५० वर्षमा कहाँ पुग्ने हो ? त्यो खाका तथा क्यालेण्डर बनाएर अघि बढ्न आवश्यक रहेको सल्लाह दिनु हुँदै नगरपालिकाका यो अभियानमा साथै रहेको बताउनु भयो । 

        मेयर मिश्रले हाम्रो घरका संरक्षक एवम् जग्गादाता गुमानसिंह कार्कीलाई विशेष धन्यवाद ज्ञापन गर्दै त्यो जग्गाको उचित उपयोगका लागि नगरपालिका हाम्रो घरका अभियानकर्ताहरूसँगै रहेको छ र रहने छ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले ‘यात्री’ कविताको स्मरण गर्दै त्यसमा जीवनको आदर्श खोज्न सकिने बताउनु भयो । उहाँले यस्तो उद्देश्य र शैलीको संस्था नगरपालिकाको पहिलो भएको बताउँदै यसको खाँचो थियो त्यो पूर्ति भएको छ यसैले पनि नगरपालिकाले सक्दो सहयोग गर्नेछ भन्नुभयो । उहाँले रहेक कामहरूमा पारदर्शीताको खाँचो हुने औंल्याउदै त्यस्तो कार्यले सहयोगी मनहरू प्रफुल्ल हुन्छन् भने अन्यका लागि पनि यो काम प्रेरणादायी हुने हुन्छ भन्नुभयो । 

        उक्त कार्यक्रममा हाम्रो घरका सल्लाहकार एवम् सुन्दरबजार नगरपालिका– ९ का अध्यक्ष मोतिप्रसाद गुरुङले आफू सदैव यो संस्थाको साथमा रहेको भन्दै तत्कालको खर्चका लागि केही सहयोग गर्न चाहन्छु भन्दै पाँच हजार रुपैयाँ प्रदान गर्नु भयो । सोही नगरपालिका– ८ का वडाध्यक्ष कृष्णकान्त अधिकारीले गुमानसिंह कार्कीले यो संस्थालाई दिनु भएको एक रोपनी जग्गाको प्रचलित मूल्य ३२ लाख रुपैयाँ बराबरको भएको जानकारी दिदै त्यसको उपयोगका लागि आफू सदैव तयार रहेको र सहयोग गरिरहने बताउनु भयो । 

        त्यस्तै, हाम्रो घरका सल्लाहकार एवम् मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुमन गुरुङले सेवा गर्ने मानवीय सोचका साथ संस्थालाई जन्म दिएको बताउनु भयो । उहाँले आफ्नो क्षेत्रमा संस्थाको शाखा खोल्ने तयारी गरिएको बताउँदै हामीले सहयोग गर्नु पर्नेको संख्या ठूलो छ, हामी स्थापनाकालमा भएको हुँदा त्यसतर्फ अग्रसर हुन केही कठिन भएको छ तर पनि हामीले दृढ संकल्पका साथ अघि बढ्नु पर्छ भन्नुभयो । 

        त्यसैगरी, उक्त संस्थाका सल्लाहकार एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले लमजुङ जिल्लामा तीन प्रकारका आश्रमहरू सञ्चालन भइरहेका छन् । बाहिरबाट यो संस्था पनि त्यस्तै हो जस्तो देखिन्छ तर यो संस्थाको घोषित उद्देश्य तथा लक्ष्य भने भिन्न छ उहाँले भन्नुभयो । सामाजिक जीवनको रहेक क्षेत्रमा यो संस्था पुग्नु पर्ने खाँचो छ । त्यसका लागि मनोपदामर्शदाताहरू उत्पादन गरेर द्वन्द्वका लागेका व्यक्ति त्यस्तो परिवारमा सहजीकरण गरिने छ पहाडीले भन्नु भयो । उहाँले ऐले मानिसहरू स– साना कुरामा पनि बेखुशी हुने, घर त्याग्ने र आत्महत्यासम्म गर्न पुग्ने गरेका छन् त्यसरी दुःखेका सबै मनहरूका लागि ‘हाम्रो घर’ मल्हम बन्न चाहेको छ भन्नुभयो ।  

        संस्थाका अध्यक्ष खुशीमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रगति प्रतिवेदनका साथमा भावी कार्यक्रमसमेतको खाका प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी, कोषाध्यक्ष विपना तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदन बारेमा छलफल गरी बन्द सत्रमा पारित गरिएको नवनिर्वाचित सचिव पुर्णबहादुर गुरुङले बताउनु भयो । 

        कार्यक्रममा उपाध्यक्ष प्रदिप गुरुङले स्वागत गर्नुका साथै पुर्णबहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो ।  

        सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्ष पदमा खुशीमाया गुरुङ, उपाध्यक्ष प्रदिप गुरुङ, सचिव पुर्णबहादुर गुरुङ, कोषअध्यक्ष विपना तामङलाई चयन गरेको छ । यसैगरी, समितिको सदस्यहरूमा बालकृष्ण घले, राधादेवी श्रेष्ठ, सुमित्रा घले, पार्वती अधिकारी र उमल बिक चयन हुनुभएको छ । 

        स्मरणीय छ, उक्त संस्थाका अध्यक्ष खुशीमाया गुरुङ स्वतन्त्र पत्रकार संघ नेपालको लमजुङ शाखाका जिल्ला अध्यक्ष हुनुहुन्छ । 

No comments:

Post a Comment