एमाले फूटको प्रभाव गण्डकीमा न्यून र लमजुङमा शून्य हुने नेता अधिकारीको दावी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, August 20, 2021

एमाले फूटको प्रभाव गण्डकीमा न्यून र लमजुङमा शून्य हुने नेता अधिकारीको दावी

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभामा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले नेकपा एमालेबाट चोइटिएर गएको माधव नेपाल समूहको गण्डकी प्रदेशमा प्रभाव न्यून र लमजुङमा शून्य हुने दवी गर्नुभएको छ । उहाँले प्रेस चौतारी लमजुङद्वारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा भदौ ३ गते त्यस्तो बताउनु भएको हो । 

        उहाँले नेपाल समूह नेकपा एमालेबाट छुट्टिएर नभई चोइटिएर गएको र पुनः एमालेमै समाहित हुन बाध्य हुने बताउनु भयो । उहाँले पार्टी विभाजनको प्रभाव गण्डकी प्रदेशमै न्यून पर्ने र लमजुङ जिल्लामा शून्य अवस्था होस् भन्नका लागि, कसैलाई पनि एमालेबाट बाहिरिन नपरोस् भन्नका लागि आफूहरू लाग्ने बताउनुभयो । लमजुङमा माधव नेपाल पक्षको समानान्तर कमिटी बनेको भन्ने पनि सुनियो, त्यसमा बसेका साथीहरूसँग पनि छलफल गर्दै साथसाथै रहने र एमालेभन्दा बाहिर कोही बस्न नपर्ने स्थितिको निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नागरिक तह एमालेकै पक्षमा रहेको र विभाजनको पक्षमा नरहेको र फुट्नेहरू सफल भएका छैनन्, त्यसका लागि वामदेव गौतम र शेरबहादुर देउवा उहादार हुनुहुन्छ ।’ त्यसैले केही अलमल वा भ्रममा हुनुहुन्छ भने पनि एमालेकै पक्षमा, मूलधारमा आउन आग्रह गर्दछु उहाँले भन्नुभयो ।

        नेता अधिकारीले २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि सिर्जना भएको अन्तर संघर्ष र अलग रोडम्यापका कारण एमालेका वरिष्ठ नेता नेपालले छुट्टै पार्टी दर्ता गर्न पुगेको हो भन्ने दावी गर्नुभयो । नेपाल काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको डिजाइनका पछि लाग्नु भएको छ, उहाँ कि त ती पार्टीमा जानु पर्छ कि त एमालेमै फर्कनु पर्छ । किनकि, उहाँहरूसँग एमालकोभन्दा कुनै राजनीतिक आधार, सिद्धान्त तता विचार, दर्शन या अन्य कुनै आधारमा नभई के आधारमा पार्टी फुटाएको भन्ने कुरामा आफू अन्यौल रहेको उहाँले दावी गर्नु भयो । एउटै विचार र एउटै सिद्धान्त भएको दुई पार्टी चल्न नसक्ने ठोकुवा गर्दै नेपालले खोलेको नेकपा एमाले (समाजवादी) पार्टी पार्टी धेरै समय टिक्ने छैन भन्नुभयो । 

        कार्यक्रममा पार्टी विभाजन स्वयं नेपाल पक्षकै हितमा समेत नरहेको नेता मायानाथ अधिकारीले बताउनुभएको छ । विभाजन भएर गएका केही नेताहरुले यसअघि पनि पार्टी चलाउन नसकेको उदाहरण रहेकाले माधवकुमार नेपालले बनाएको पार्टी पनि नटिक्ने, सफल नहुने बताउनुभयो । उहाँले केही क्षणिक स्वार्थ, महत्वकांक्षाका कारण पार्टी विभाजन भएको बताउनुभयो । 

        अर्को प्रसंगमा उहाँले गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वकोे गठबन्धन सरकार आएपछि विकास निर्माणका योजनामा अवरोध सिर्जना भएको दावी गर्नुभयो । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा ल्याइएका योजना कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेपछि अवरोध सिर्जना गरेको, ठूला योजना सञ्चालन भएको लमजुङमा अहिले बजेट नपारेको बताउनुभयो । ‘समृद्ध प्रदेश सुखी नागरिक’ बनाउनका लागि अहिलेको वर्तमान सरकारले ल्याएको असन्तुलित बजेटले सम्भव छैन उहाँले भन्नुभयो । 

        पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले लमजुङका उपाध्यक्ष गुमानसिंह अर्याल, सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेल, बेसीशहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट, कार्यालय सचिव जिवराज घले, जिल्ला कमिटी सदस्य विवश बुढाथोकी, लिलाबहादुर रिमाल, वीरेन्द्र गुरुङ, पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी, संस्थापक अध्यक्ष नवराज पहाडी, पत्रकार कमला केसी, निवर्तमान अध्यक्ष आश गुरुङ, पूर्वअध्यक्ष कृष्ण केसी, उपाध्यक्ष अनुज अधिकारीलगायतको सहभागिता थियो । 

        उक्त कार्यक्रमको सञ्चालन प्रेस चौतारीका जिल्ला संयोजक दलबहादुर मजाकोटीले गर्नुभएको थियो । 

No comments:

Post a Comment