– मुक्तिनाथ घिमिरे,
जिता, लमजुङ ।
यो हो हाम्रो त जेठो लमजुङ भरको पत्रिका अन्तरङ्ग
देखी सग्लो जवानी वरपर भरका पर्दछन् धेर दङ्ग
सास्ती धेरै खपेको विचलित नभई दुःखले हुर्किएको
धब्बा केही नलागी तरुण तन हुँदो वैँसले फुर्किएको ।
।।१।।
धोका खाँदै गयो कान्तिपुरतिर बस्यो द्वन्द्वको दुर्दशामा
फक्र्यो साम्मे भएको दिनपछि त छिटै भुल्न आफ्नै नशामा
बस्थ्यो जैले जहाँ त्यो नियति नियमको व्यर्थमा अल्झिएन
ऐले सम्मन् कहीँ त्यो अपयश भनिने जालमा बल्झिएन ।
।।२।।
हल्लाखल्ला गराई सहज रजतको स्मारिका भो प्रकाश
सारा वृत्तान्त आए उस दिनतकका फैलियो झन् सुवास
हाँगाडाला पलाए वरपर फिजिए मूल हो वृक्ष सोही
फट्का मार्दै उछिन्ने रहर यदि भए आँक्न सक्तैन कोही ।
।।३।।
काखी कैले नच्यापे दिनहुँ बदलिने घीनको राजनीति
आफू लत्रक्क लत्री सकभर नसुते लाउँदै स्नेहप्रीति
घण्टी कैले बजाई टिनटिन नगरे गाउँदै भाटगान
जम्मैलाई झुकाए विचलित नभई राखदै शानमान ।
।।४।।
सच्चा निश्पक्ष राम्रा खबर हुनुपर्यो लोकले मान्छ सोही
आत्माले ठीक भन्छन् तर जनमुखले छैन है भन्छ कोही
कालोलाई त कालो भनि दिनुपर्यो श्वेतलाई त सेतै
बेग्लै भाका फिराई नभनि दिनुपर्यो है बिराई लगत्तै ।
।।५।।
धेरै उत्साह राख्तै भरखर अहिले तीसमा टेकदो छ
बाढी पैर्हो र काँढा रनवन असिना मार्गमा देखदो छ
त्यस्ता बाधा अफाल्दै अपचलन बिना स्वर्णमा लम्किजाओस्
मेरो आफ्नो शुभेच्छा गति दिन दुगुना रातमा चौगुना होस् ।
।।६।।
No comments:
Post a Comment