स्वतन्त्र पत्रकारको भविष्य उज्वल छ : बास्तोला, नवलपुर शाखाको अध्यक्षमा सविता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 16, 2021

स्वतन्त्र पत्रकारको भविष्य उज्वल छ : बास्तोला, नवलपुर शाखाको अध्यक्षमा सविता

अन्तरङ्ग सम्वाददाता


गैंडाकोट– स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले स्वतन्त्र पत्रकारहरूको भविष्य उज्वल रहेको बताउनु भएको छ । उहाँले स्वतन्त्र पत्रकार संघ नेपालको नवलपुर जिल्ला शाखाको उद्घाटन गर्दै सो साउन ३१ गते त्यस्तो बताउनु भएको हो ।

        कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले यो संघ नै वास्तविक पत्रकारहरूको संस्था भएको दावी गर्नु भयो । यो संस्थाको गरिमा बचाउन स्वतन्त्र रुपमा कलम चलाउनेहरू थप सक्रिय, क्षमतावान र सचेत हुन जरूरी छ उहाँले भन्नुभयो । उहाँले आफूहरूले गुण र दोषका आधारमा समाचार लेख्ने हुँदा सबै राजनीतिक दलहरू आफ्नै भएको बताउनुभयो । उहाँले पत्रकारहरूले कलम चलाउँदा सदैव सत्यको पक्षमा चलाउनु पर्ने उल्लेख गर्नु भयो ।

        सो अवसरमा स्वतन्त्र पत्रकार संघका राष्ट्रिय सल्लाहकार एवम् निवर्तमान महासचिव नवराज पहाडीले पार्टी निकट रहेर पत्रकारिता गर्दा आफ्नो पार्टीले गरेको गल्ती नदेखिने, देखे पनि लेख्न नसकिने र लेखेको खण्डमा आउने दबाब थेग्न नसकिने अनुभव सुनाउँदै आफू स्वतन्त्र भएर कलम चलाउन थालेपछि त्यस्तो दबाब झेल्नु नपरेको स्मरण गर्नु भयो । उहाँले स्वतन्त्र विचार राख्ने पत्रकारहरू एक्ला एक्लै हुँदा आफूहरूको विचार दविएकोले संगठीत हुन आवश्यक रहेको हुँदा संघको आवश्यक रहेको र यसको जन्म भएको हो, हामी यसलाई मुलुकभर फैलाउने अभियान छौं भन्नुभयो ।

        यसैगरी, वरिष्ठ कलाकर्मी, फोटो पत्रकार एवम् संघको शाखाका सल्लाहकार भिमप्रसाद शर्माले आफ्नै जिल्लामा संघको चौथो राष्ट्रिय अधिवेशन हुने जानकारी पाएकोमा खुशी व्यक्त गर्नु हुँदै आवश्यक सहयोगका लागि आफूहरू तयार रहेको बताउनु भयो । 

        संघका राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेले पार्टीका झोले पत्रकार हुनुभन्दा स्वतन्त्र हुनुमा गौरवबोध हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्र पत्रकार संघ नेपाल ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्रै हो पत्रकार भन्नु’ भन्ने मुल नारा र अभियानका साथ आफ्नो संगठन विस्तार र सदस्यहरूको स्तरबृद्धिमा लागि परेको छ ।’ 

        नवलपुर शाखाका अध्यक्ष रामहरी शर्माको अध्यक्षता भएको दोस्रो जिल्ला अधिवेशनमा उहाँले राजनीतिक दलका पद बाहेकका अन्य सबै पद स्वतन्त्र हुन्, व्यक्ति स्वतन्त्र नभए पनि पद स्वतन्त्र हो र पदमा जे जसरी पुगे पनि पदीय जिम्मेवारी निर्वाह गर्दा स्वतन्त्र रुपमा गर्नु पर्ने सम्बन्धित व्यक्तिको दायित्व हुन्छ भन्नुभयो । बालकुमारी क्यापसका सहप्राध्यापक रञ्जना लामिछानेले स्वतन्त्र पत्रकारहरूले न्यायका पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् पल्लब साहित्यिक पत्रिकाका सम्पादक ऋषि लामिछानेले ऐलेको जमानामा स्वतन्त्र व्यक्ति खोज्नु दुर्लभ भएको अनुभव सुनाउँदै कित्ता छुट्याउने र बिल्ला भिराउने प्रचलनका विरुद्ध स्वतन्त्र पत्रकारहरूले कलम चलाउनु पर्ने औंल्याउनु भयो । 

        सो अवसरमा बरिष्ठ साहित्यकार तथा स्वतन्त्र पत्रकार गोविन्दराज विनोदी तथा संघको चिवतन शाखाका अध्यक्ष सूर्य कंडेलले नवनिर्वाचितहरूलाई वधाई दिदै शुभकामना व्यक्त गर्नु भएको थियो । 

        संघका उपाध्यक्ष ईन्द्रराज पौडेलले स्वागत मन्तव्य राख्नु भएको अधिवेशनले अध्यक्षमा पत्रकार सविता तिवारीलाई निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा भूमिश्वर पौडेल, सचिवमा अस्मिता वम, कोषाध्यक्षमा उपेन्द्र भूषल र सहसचिवमा लक्ष्मी कँडेल चयन हुनुभएको छ । समितिको सदस्यहरूमा संगीता कैनी र सरु चापागाईं चयन हुनुभएको छ बाँकी दुई पदमा पछि मनोनित गरिने भएको छ । 

        यसैगरी, संघको राष्ट्रिय पार्षदमा बरिष्ठ साहित्यकार तथा स्वतन्त्र पत्रकार गोविन्दराज विनोदी, चित्रकार एवम् फोटो पत्रकार भिम शर्मा र निवर्तमान रामहरि शर्मालाई चयन गरेको छ । त्यस्तै, संघले प्रदेश पार्षदमा पनि ईन्द्रराज पौडेल र रञ्जना लामिछानेलाई चयन गरेको संघका नवनिर्वाचित जिल्ला सचिव अस्मिता वमले बताउनु भयो । उहाँका अनुसार कार्यक्रको सञ्चालन संघकी नवनिर्वाति जिल्ला अध्यक्ष सविता तिवारीले गर्नुभएको थियो ।

No comments:

Post a Comment