अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङको दोर्दीका बाढी पिडित परिवार तथा सुन्दरबजार स्थित नमूना अस्पताललाई सहयोग प्राप्त भएको छ । गत असार १ गते दोर्दी खोलामा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई कोभिड– १९ को उपचार तथा व्यवस्थापन कार्यका लागि नमूना सामुदायिक अस्पताललाई अमेरिकाको न्यूयोर्कबाट आर्थिक सहयोग प्राप्त भएको हो ।
लमजुङमा स्थायी बसोबास भई रोजगारीका शिलशिलामा हाल अमेरिकाको न्यूयोर्कमा रहनु भएका व्यक्तित्वहरूले बाढीबाट पूर्णक्षति भएका दोर्दी गाउँपालिका– ८, हिलेबजारका १८ घर परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ तथा आंशिक क्षति भएका ६ परिवारलाई प्रति परिवार पाँच हजारका दरले कुल दुईलाख १० हजार रुपैया सहयोग गरेका हुन् ।
सविधानसभा सदस्य जमिन्द्रमान घलेले एक कार्यक्रमका बीच प्रभावितहरुलाई राहात रकम साउन ३ गते हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा गाउँपालिका उपाध्यक्ष दिलबहादुर घले र सोही वडाका अध्यक्ष तुलबहादुर घलेको विशेष उपस्थितिमा राहात रकम वितरण गरिएको हो । संविधान सभा सदस्य घलेले घर परिवार र आफन्तदेखि टाढा रहेर पनि आफ्नो जिल्लाका नागरिकहरूलाई यो आपतको समयमा सहयोग गरी परोपकारी कार्य भएको उल्लेख गर्नुभयो । उहाँले यस उदाहरणीय पुण्य कार्यको जत्ति प्रशंसा गरे पनि पुग्दैन भन्नुभयो । प्रवासीको सहयोग सँगै थप राहात र पुनःनिर्माणका लागि सम्वन्धित निकायमा आफूहरूले पनि आवश्यक पहल गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।
दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले सहयोगी सम्पूर्णलाई धन्यवाद दिनुुहुँदै सबैको साथ सहयोगले विपदका बेला उद्धार र राहातमा निकै सहज भएको बताउनुभयो । उहाँले प्रकृतिसँग कोही पनि जुध्न नसक्ने भएको हुँदा अझैपनि जोखिम कायमै रहेको स्थिति छ र स्थानीयहरू सतर्क रहन आवश्यक छ भन्दै आग्रह गर्नुभयो ।
राहात रकम हस्तान्तरणका क्रममा अमेरिकमा सहयोग अभियान संचालन मध्येका विपिन विष्टका वुवा भरत विष्ट, नेकपा एमाले दोर्दी गाउँ कमीटी अध्यक्ष युवराज अधिकारी, जिल्ला युवा समिति लमजुङका अध्यक्ष जुन तामाङ, रेडियो मस्र्याङदीका स्टेशन म्यानेजर सन्देश पौडेल, स्थानीय विपद व्यवस्थापन समिति सदस्य एवं अन्य जनप्रतिनिधिहरूको सहभागिता थियो । रेडियो मर्स्याङ्दीका निर्देशक मिना गुरुङले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बेसीशहर कार्यपालिका सदस्य मनमाया गुरुङले सहयोग संकलन अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी, गृह जिल्लामा कोभिड– १९ को संक्रमण रोकथाम तथा उपचार र बाढी पहिरो प्रभावितका लागि राहत सहयोग गर्ने उद्देश्यले ३१ जना लमजुङेहरू र १ जना गोर्खाका गरी ३२ जनाले पाँच लाख ४८ हजार सात सय २८ रुपैया संकलन गरी पठाएका हुन् ।
सोही रकम मध्येबाट कोभिड व्यवस्थापनका लागि सुन्दरवजार स्थित नमूना सामूदायिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नमूना सामूदायिक अस्पतालका लागि ७० हजार दुईसय ३७ रुपैया बरावरको औषधी एवं कोभिड सुरक्षा सामग्री खरिद गरि हस्तान्तरण भएको हो ।
उक्त दिन सोही टोलीले सुन्दरवजार पुगेर अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीलाई औषधी सहित कोभिड सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा अधिकारीले समूदायकै पहलमा सञ्चालित अस्पताल कोभिड– १९ को संक्रमणकालीन अवस्थाकै कारण सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएका बेला प्रवासदेखि औषधी तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकोमा सम्पुर्ण प्रवासीहरूलाई धन्यबाद व्यक्त गर्नुभयो ।
सोही रकममध्येबाट कोभिड व्यवस्थापनका लागि लमजुङ जिल्ला अस्पताललाई यस अघिनै एक लाख ८९ हजार पाँचसय २२ रुपैया बरावरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।
No comments:
Post a Comment