अन्तरङ्ग सम्वाददाता
दाङ– यहाँको देउखुरीस्थित ‘महाप्रभू बचत तथा ऋण सहकारी संस्था’को ५ करोड बढी रकम हिनामिना गरेको खुलासा भएको छ । जिल्ला अदालतद्वारा सो अभियोगमा उक्त सहकारीका पूर्वपदाधिकारी र सदस्यहरू २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि भागभाग भएको छ । अभियोग संलग्नमा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी समेत छन् ।
पक्राउ पुर्जी जारी हुनेमा सत्तारुढ एमालेका प्रभावशाली जिल्ला नेता किरण भण्डारी भएको बताइन्छ । पूर्जी काटिएकाहरूमा २० जनामा सबै दलका नेताहरू रहेका छन् । सो ग्याङविरुद्ध ५ करोड भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा दाङ देउखुरी जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरिएको सो अदालतमा स्रेस्तेदारले जानकारी दिनुभयो । किरण भण्डारी लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका सहयोगी भएको बताइन्छ ।
अदालतद्वारा पक्राउ पूर्जी जारी गरिएकाहरूमा १. नुमानन्द सुवेदी– महाप्रभु बचत तथा ऋण सहकारीका पूर्व लेखा समिति संयोजक, २. किरण भण्डारी– महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष, ३. रुकमाङ्गत ज्ञवाली – पूर्वअध्यक्ष एमाले. ४. रामबहादुर कुवर – पूर्वउपाध्यक्ष जनमोर्चा, ५. कृष्णप्रसाद उपाध्यय पौडेल – पूर्व उपाध्यक्ष, ६. हिमानन्द पाण्डे – पूर्व सचिव एमाले, ७. हरिप्रसाद भुसाल – पूर्व सचिव कांग्रेस, ८. माधव शर्मा – पूर्व सह–सचिव जनमोर्चा, ९. रामकृष्ण पौडेल – पूर्व कोषाध्यक्ष जनमोर्चा, १०. गुरुप्रसाद सुवेदी – पूर्व व्यवस्थापक माओवादी छन् ।
अदालतले पक्राउ पुर्जी काटेका अन्यमा ११. केशवराज आचार्य – सदस्य माओवादी, १२. कमला पौडेल – सदस्य, १३. धर्मराज अधिकारी – सदस्य माओवादी, १४. शारदा भुसाल – सदस्य, ५. कमला बेल्वासे – सदस्य जनमोर्चा, १६. बिष्णुबहादुर थापा – लेखा तथा सुपरिवेक्षण समितिका पूर्व संयोजक कांग्रेस, १७. तुलसीराम पोख्रेल – लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य माओवादी, १८. युवराज भुषाल – लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य कांग्रेस, १९. गोबिन्दप्रसाद भण्डारी– लेखा परीक्षक र २०. गंगाबहादुर केसी – लेखापरीक्षक रहेका छन् ।
यसैबीच, पक्राउ पुर्जी जारी हुनेमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी पनि छन् । उनी सहकारीको लेखा समितिको पूर्व संयोजक हुन् । तर सुवेदीले विज्ञप्ति जारी गरेर सहकारीको एकपैसा पनि आफूले हिनामिना नगरेको र अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । उनले सहकारीको पदबाट आफूले राजीनामा दिइसकेको अवस्थामा रकम हिनामिनाका विषयमा नाम जोडिएर आएपछि चिन्ता व्यक्त गरेका छन् ।
सुवेदी जस्तै केही पूर्वपदाधिकारी र सदस्यहरू सहकारीको यो काण्डमा निर्दोष रहेको दाबी गरिएको छ । फरार सूचीमा रहेका २० जनाका ग्याङलाई पक्राउ गर्न दाङ प्रहरी सक्रिय भएको छ ।

No comments:
Post a Comment