प्रमोद अधिकारी/अन्तरङ्ग
तीनपिप्ले(लमजुङ)– लमजुङमा व्यावसायिक तरबुजा खेती शुरु भएको छ । यो वर्षमात्र एक किसानले ६ लाख आम्दानी गरेका छन् । जिल्लाको पूर्वीक्षेत्रमा रहेको राइनास नगरपालिका– ५ को तीनपिप्लेमा सूर्य प्रसाईले तरबुजाको व्यावसायिक खेती गर्नु भएको हो । पहिलो सिजनमै झण्डै छ लाख आम्दानी भएको छ ।
इच्छशक्ति र मेहनत ग¥यो भने असम्भव केही हुन्न भन्ने उदारहण बन्न सफल हुनुभएको छ– सूर्य प्रसाई । पूर्वझापा घर भएका प्रसाई विगतको १४ वर्षदेखि लमजुङ बसेर कर्म थलो बताउदै आउनुभएको छ । शुरुका दिनमा ढुंगाको डिलर बनेर लमजुङ छिर्नु भएका प्रसाईले कञ्चन कलात्मक उद्योग समेत चलाउनु भएको छ । ऐले त्यो कामसँगै व्यावसायिक तरबुजा खेती पनि थाल्नु भएको छ उहाँले । २५ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँ भाडामा लिएर उनले त्यो खेती शुरु गरेको उहाँको भनाई छ । उहाँका अनुसार तरबुजा खेती उषा बंगुर तथा कृषि फर्ममार्फत गरिएको हो ।
२०७५ सालमा दर्ता गरेको उक्त फर्ममा त्यस खेतीका लागि उहाँले करिव १६ लाख लगानी गरी सकेको बताउनु भयो । उहाँका अनुसार फर्ममा ८ वटा बंगुर पनि छन् । तरबुवा खेतीबाट वर्षका दुईपटक आम्दानी गर्न सकिने उहाँको अनुभव छ । यसका लागि उहाँले तीन वर्ष अघि परीक्षण गरेर सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यहाँको मौसम हेर्दा तरबुजा खेती हुनुपर्छ भन्ने लाग्यो र तीन वर्ष अघि केही बोट लगाएर हेरेँ । राम्रो फल्यो, त्यसपछि यसको व्यावसायिक खेती थालेको हुँ ।’ तरखबुजाको विउ पनि महंगै हुने, खेती पनि ठूलै स्केल(क्षेत्रफल)मा गर्नु पर्ने रहेछ उहाँले अनुभव सुनाउनु भयो ।
उहाँका अनुसार हाम्रोमा विचौलिया बढी मोटाउने गरेका छन्, यसको विउ ताइवानबाट भारत हुँदै नेपाल आउने हुँदा महांगो पर्ने रहेछ । विउप्रति केजी डेढ लाख रुपैयाँ पर्छ उहाँले भन्नुभयो । त्यो बीउ मैले बाराको सिमराबाट खरिद गरी ल्याएको हुँ प्रसाइँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सधैं भनेको बेलामा वीउ पाइदैन त्यसैले एक केजी ल्याएको थिएँ, त्यसले तीन सिजनका लागि पुग्छ ।’
आफैले नर्सरी बनाएर तरबुजाको विरुवा उत्पादन गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार पहिलो सिजन सकियो । अब दोस्रो सिजनका लागि विरुवा तयार हुँदैछ । जग्गा तयार गर्ने काम गरिरहेको छु, १५–२० दिन पछि रोप्ने हो उहाँले उल्लेख गर्नुभयो । यो वर्ष पहिलो सिजनमा आफूले नर्सरीमा ५० हजार विरुवा तयार गरेको पहिलो सिजनमा १७ हजार विरुवा रोपेको हुँ प्रसाईले भन्नुभयो । खरबुजाको एउटा फल दुई केजीदेखि चार केजीसम्मको फलेको उहाँले बताउनु भयो ।
तरबुजाको बजारका लागि कुनै समस्या नभएको बताउँदै स्थानीय बजार सदरमुकाम बेसीशहर र आसपासका भोटेओडार, सुन्दरबजार आदिले नै धान्छ उहाँले बताउनु भयो । मैले प्रायः खुद्रा मूल्य प्रतिकेजी ४० रुपैयाँका दरले नै बिक्री गरेको हुँ यस पटक । बन्दाबन्दीले गर्दा उस्तो सहज यसपटक भएन, त्यसैले होलसेल दिइन उहाँले बताउनु भयो । उहाँका अनुसार एउटा फल २ केजीदेखि ४ केजीसम्मको फलेको प्रसाईले जानकारी दिनुभयो । पसलेहरूले २० रुपैयाँ केजीमा माग्न थाले, त्यस कारणले गर्दा दिइन प्रसाईले बताउनु भयो । यसपटक १२, १३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको थिएँ तर बन्दाबन्दीले गर्दा आधा जति मात्र भयो उहाँले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो बजार व्यवस्थित छैन, मेरो उत्पादन रहँदासम्म बजार नियन्त्रित थियो । सबैले ४० रुपैयाँमै दिने गरेका थिए । तर मेरो उत्पादन सिद्धियो, ऐले त केजीको ९० रुपैयाँ भन्न थालिसके बजारमा ।’
‘यतिको राम्रो खेती गर्दा कतैबाट अनुदान वा सहयोग केही पाउनु भएको छ कि ?’ भन्ने जिज्ञासामा ‘मेरो फर्म नगरपालिकाको कार्यालयबाट पाँच मिनेटको पैदल दुरीमा पर्छ । जिल्लाको कृषि ज्ञान केन्द्रलाई पनि मेरो बारेमा थाहा छ, मेरो उत्पादन उनीहरूले खाएका छन् तर सहयोग कसैले गरेका छैनन् ।’ प्रसाईले थप भन्नुभयो ‘मैले त्यस्तो आशाले यो काम थालेको होइन, त्यस्तो आशा गरेको पनि छैन ।’


No comments:
Post a Comment