देउवालाई विश्वासको मत प्राप्त : पक्षमा १६५ र विपक्षमा ८३ मत, तटस्थ एक - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, July 18, 2021

देउवालाई विश्वासको मत प्राप्त : पक्षमा १६५ र विपक्षमा ८३ मत, तटस्थ एक

अन्तरङ्ग सम्वाददाता

काठमाडौं– नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाउनु भएको छ । सो सम्बन्धी प्रस्तावमा साउन ३ गते राती अबेर भएको मतदानमा उहाँको पक्षमा १६५ मत प्राप्त भएको हो । 

        सभामुख अग्नि सापकोटाले सो सम्बन्धि नतिजा राती १०ः११ बजे सुनाउने देउवाले संसदमा आफूलाई विश्वासको मत छ भनि राख्नु भएको प्रस्तावको पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको र एक मत तटस्थ रहेको जानकारी दिनुभएको हो ।

        मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

        नेकपा एमालेको साउन ३ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो ।

        देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन् ।

        सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।

        आज राति अबेर संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् । त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपाल निकट मानिने १० सांसदहरू तटस्थ रहे ।   

        त्यसो त एमाले अध्यक्ष केपि ओली पक्षका केही सांसदहरूले पनि देउवाको पक्षमा मत दिएका छन् । यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गर्नु भएको हो ।

        हिरा केसी, पार्वती विशंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिनु भएको हो । यसअघि उहाँहरू सबै ओली पक्षमा देखिनु भएको    थियो । उहाँहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गर्नु भएको    थिएन । 

        केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिनु भएको छ । त्यस्तै तनहुँ– १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गर्नु भएको छ । 

        स्मरणीय छ, यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिनु भएको थियो । झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत संसद भवनबाट निस्किनु भएको हो ।

        जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिनु अनैतिक भएकोले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने उहाँहरूको भनाई थियो ।

         एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु भएको सांसद रामकुमारी झाँक्रीले बताउनु भयो । 

        पार्टीको निर्णय नमानेर देउवालाई मत दिने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराउनु भएको छ । 

No comments:

Post a Comment