अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज एक जनामा सीमित भएको छ । हिजो मात्र ११ जनामा संक्रमण पुष्टि भएकोमा आज एक अंकमा झरेर एक जनामा संक्रमण सीमित भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आज साउन ३ गते एक जनामा मात्र संक्रमण पुष्टि भएको हो । आज कोरोनाका कारण कसैको पनि निधन भएको छैन ।
आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १२९ पुगेको छ । हालसम्म कोरोना जित्नेको संख्या एक हजार ९६२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १३३ कायम छ ।
आजका दिनमा राइनास नगरपालिका– ७ का एक २३ वर्षीया महिलामा संक्रमण फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्मरणीय छ, आज संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । यसअघि सबैभन्दा कम संक्रमित संख्या एक अंकमा झरेको आज दशौं दिन हो । यसअघि साउन १ गते र असार ३१ गतेका दिन ४÷४ जनामा संक्रमण भई स्थिर रहेको थियो । त्यस बाहेक अन्य दिनहरूमा सबैभन्दा कम असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । आज त्यो संख्यामा नयाँ रेकर्ड ब्रेक गरी एक जनामा झरेर जिल्लाबासीमा खुशी दिएको छ ।
त्यस्तै, असार २९ गते ७ जनामा, असार २७ र २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना र असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा पुष्टि भएको थियो ।
No comments:
Post a Comment