लमजुङका समाजसेवी/राजनीतिक व्यक्तित्व पाण्डेको निधन : मध्यनेपालका मेयरलाई पितृशोक - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, July 5, 2021

लमजुङका समाजसेवी/राजनीतिक व्यक्तित्व पाण्डेको निधन : मध्यनेपालका मेयरलाई पितृशोक

अन्तरङ्ग सम्वाददाता

भोर्लेटार(लमजुङ)– लमजुङका समाजिक एवम् राजनीतिक व्यक्तित्व नारायणबहादुर  पाण्डेको निधन भएको छ । मध्यनेपाल नगरपालिका– ९ स्थित बांग्रेबेसी निवासमा असार २१ गतेका दिन विहान ८० वर्षको उेमर उहाँको निधन भएको हो । उहाँको निधनसँगै मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे र उहाँका भाइ महेश पितृशोकमा पर्नु भएको छ । 

        करिब चार महिना अघि पक्षाघातको सिकायत देखिएपछि उहाँलाई त्यसको उपचारपछि केही ठीक भए पनि एक महिना यता श्वासप्रश्वासमा समस्या देखिएको थियो । पछिल्ला दिनमा घाँटीबाट खाना र पानी समेत निल्न समस्या उत्पन्न भएपछि उहाँलाई पाइपको माध्यमले खाना खुवाउने गरिएको थियो । उहाँको उपचार फलदायी नहुने डाक्टरले सल्लाह दिएपछि चरक अस्पताल पोखराबाट घरमा ल्याइएको थियो । घरमा नै अक्सिजन सहितको उपचार गरिए पनि अन्ततः उहाँले २१ गते विहान आफ्नो देह त्याग गर्नु भएको नेपाली काँग्रेसका जिल्ला सदस्य मदनकुमार न्यौपानेले बताउनु भयो । 

        आफ्नो जीवनलाई समाजसेवा, प्रजातन्त्रको प्राप्ति र स्थायित्वका लागि समर्पण गर्नु भएका नारायण पाण्डेको निधनले लमजुङले एक अनुकरणीय समजसेवी तथा नेपाली काँग्रेसले एक कर्मठ, अनुशासन प्रिय कार्यकर्तालाई गुमाएको छ । नारायण पाण्डेले तत्कालीन बांग्रे गाविसमा खानेपानीको सुविधाका लागि विभिन्न योजनाको माग र कार्यान्वयन, हाडीखोला सिंचाई योजना, गाविस क्षेत्रमा घोडेटो बाटो निर्माण लगायतका विकास निर्माणका कार्य गर्नु भएको थियो । गाउँमा शिक्षाको ज्योति छर्नका लागि कल्याण माविको स्थापनार्थ जग्गा समेत दान गर्नु भएका उहाँले उक्त विद्यालय स्थापनामा विशेष भूमिका निभाउनु भएको थियो । 

        त्यसो त उहाँ बांग्रे गाउँ पञ्चायत छँदा उपप्रधानपञ्च र प्रधानपञ्च गरी १५ वर्ष बिताउनु भएको थियो । प्रजातन्त्रको पुनःस्थापनाका लागि पनि सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो भने प्रजातन्त्रको पुनःस्थापना पछि उहाँले गाविसस्तरको काँग्रेस पार्टीको सभापति हुनुका साथै ऐले पनि काँग्रेसको क्रियाशील सदस्यका रुपमा रहनु भएको थियो ।

        रामबजारको मादी नदी किनार स्थित आर्यघाटमा उहाँको अन्तिम विदाई गर्न नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेल, संविधानसभाका सदस्य चन्द्रबहादुर कुँवर, नेपाली काँग्रेसका जिल्ला सदस्यहरू, तरुण दलका जिल्ला अध्यक्ष ललित गुरुङ सहित उहाँका शुभचिन्तकहरू झण्डै आठसय संख्यामा आर्यघाटमा भेला भएका    थिए । नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेलले उहाँको पार्थिव शरिरमा काँग्रेसको झण्डा ओढाउनु भएपछि उहाँका छोरा द्वय रमेश र महेशले उहाँको शव राखिएको चितामा अग्नि प्रज्ज्वलित गर्नु भई दागबत्ती दिनु भएको थियो । 

        मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे स्व. नारायण पाण्डेका जेठा छोरा हुनुहुन्छ भने कान्छो छोरा महेश हुनुहुन्छ । महेश पनि नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ ।

        खड्गबहादुर पाण्डे र नन्दकुमारी पाण्डेका जेठा सुपुत्रको रुपमा नारायण पाण्डेको विसं १९९८ भदौ ११ गते जन्म भएको थियो । पैतृक सम्पत्तीबाट अंश समेत नलिनु भएका स्वर्गीय पाण्डेका श्रीमती र दुई छोरा, दुई बुहारी हुनुहुन्छ भने दुई नाति र तीनजना नातिनीहरू छन् । 

No comments:

Post a Comment