अन्तरङ्गको वर्ष– २९, अंक– ४८, साउन १४ गते(२०७८) को मुख्य समाचार
दुराडाँडा– लमजुङको ऐतिहासिक सांस्कृतिक थलो (सुन्दरबजार नगरपालिका– ४) दुराडाँडाको अर्चल्यानी स्थित बाटेगह्राका बारेमा ‘हलोक्रान्ति नेपाल तथा पं. तोयनाथ स्मृति प्रतिष्ठान’लाई ‘त्यसको ऐतिहासिकताका साथ भावि कार्य’काबारेमा ‘निष्पक्ष र प्रभावकारी काम’ गर्न दबाब दिइएको छ । ७२औं हलोक्रान्ति दिवसका अवसरमा प्रतिष्ठानको अवस्था प्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले प्रत्यक्ष/अप्रत्यक्ष त्यस्तो अभिव्यक्ति साउन ११ गते दिएका हुन् ।
नेपाली समाजको परिवेसमा जुनकुनै पनि संघ÷संस्था वा राजनीतिक दलको गति राम्रो हुनु वा नराम्रो हुनुमा त्यसको नेतृत्वकर्ता (अध्यक्ष हुने) व्यक्तिमा निर्भर रहिआएको छ । नेतृत्व लिएपछि जस अपजसको भागीदार हुन र कमजोरी सच्चाएर अघि बढ्नेहरू नै सफल देखिन्छन् । न कि ‘बुढो गोरुले भकारो ओगटे’झैं गर्नेहरू सफल भएको इतिहास भेटिन्छ । सुझाब माग्ने, अनि सुझाव दिदा पचाउन नसक्ने र ‘त्यस्ले के गरेको थियो ?’ भन्नेहरू कति सफल होलान् ¤ आउँदा दिनले बक्ने नै छन् । २०६२ सालमा गठन भएको उक्त प्रतिष्ठानको समितिले आज १६ वर्ष बित्दै गर्दा त्यस स्थलोको बृहत कार्ययोजना(डिपिआर) सहित हलोक्रान्तिको सच्चा इतिहाससम्म पनि तयार गर्न सकेको देखिदैन भने त्यस्तो समितिलाई ‘स्यावास्’ भन्दै कस्ले ‘पगरी गुथाउने’ हो त्यो पनि हेर्न बाँकी छ ।
जसका कारण लाग्छ, पं. तोयनाथको आत्माले त्यहाँ काम गर्न जिम्मा लिनेहरूका लागि ‘मेरो अपमान गर्यौ, भन्दै गिज्याउने काम गरिआएको छ ।’ दुधे बालबालिकाले भोकाएको बोलामा रोएनन् भने कामधन्दामा भुलेकी आमाले दुध चुसाउन बिर्सिन्छिन् । अझ सत्य त के हो भने, पं. तोयनाथको अन्तराष्ट्रियस्तरको व्यक्तित्वलाई उजागर गर्न सपना बोकेको प्रतिष्ठानका नेतृत्वकर्ताहरूको उचाई साह्रै होचो, ‘‘बाउन्ने’ जस्तो रहिरह्यो । फलस्वरुप परिणाम आजसम्म शून्य रहेको हो भन्दा अतिशयोक्ति नहोला । अर्चल्यानीबाट पुरानकोट जान भनेर हिडेको यात्रु नेटा– थान्सिङतिरको बाटो लम्किएको पाराको देखिन्छ समितिको कार्यशैली । अनि, कस्ले गराई दिने हो ? उपलब्धी ?
अघिपछिका दिनमा समिति ‘मौनब्रत’माझैं रहने अनि वर्षमा एक पटक जब साउन ११ आउँछ, ‘यो दिवसलाई राष्ट्रिय दिवस बनाउन र पाठ्यक्रममा राख्नु पर्छ’ भन्दैमा सुन्छ कस्ले ? आजसम्म भएको त्यही हो । २०५६ सालमा होमस्टेको श्रीगणेश गरेको घलेगाउँ आज माविस्तरको पाठ्यक्रममा परिसकेको छ । तर दुर्भाग्य ! २००६ सालमा सांस्कृतिक क्रान्ति गरेको त्यो थलो ओझेलमै छ तर पनि नेतृत्वकर्ताहरूमा जिम्मेवारीको बोधसम्म देखिदैन । राम्रा कुरा विरोधीसँग पनि सिक्न हुन्छ, सकिन्छ । तर नेपालका राजनीतिक दलले यस्तो असल संस्कृतिको संस्कार बसाउनेतर्फ सोचेकोसम्म पनि देखिदैन । अनि, असल संस्कार हराउने नै भयो । घलेगाउँको होमस्टे त्यसको नेतृत्वकर्ता प्रेम घलेको सपना थियो, उहाँ दिनरात नभनी त्यसमा भिड्नु भयो र उपलब्धी पनि हासिल भएको छ । प्रेम घलेजस्तो नेतृत्व ‘हलोक्रान्ति’ले पायो ? वा किन पाउन सकेन ?
देख्दा, सुन्दा पनि लाज लाग्छ र कठै भन्न मन लाग्छ कि, त्यति ठूलो प्रतिष्ठानको आजका मितिसम्म यौटा अफिस कोठासम्म छैन । तीन वर्ष अघि प्रमुख अतिथि हुँदा सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रबाट ‘कार्ययोजना बनाएर आउनुुस् नगरपालिकाले सक्दो सहयोग गर्न तयार छ’ भन्ने प्रतिवद्धता व्यक्त भएकै हो । तर समितिले उहाँलाई ‘आफ्नो बचन प्रतिवद्धताप्रति किन चुक्नु भयो ?’ भनेर सोध्न, लेख्न पाउने मौका दिन आजसम्म सकेको छैन । नगरपालिकासम्म प्रतिष्ठानका लागि योजना बनाएर पेश गर्न नसक्ने समितिले प्रदेश र केन्द्र सरकारसँग हारगुहार गर्ला अनि छायाँमा परेको पं. तोयनाथको व्यक्तित्व उज्यालिएला, दुराडाँडाले गुमाएको साख फेरि फर्कला भनेर आशा गर्नु मृगतृष्णामा परिणत हुनु अस्वभाविक होइन । त्यस्तै हुँदै आएको पनि छ ।
दुराडाँडामै हलो जोत्ने काम दुई पटक भएको हो । बाटेगाह्रामा शुरु गरिएको उक्त ‘सांस्कृतिक क्रान्ति’को ज्योति(सुभास) चिसंकु, तनहूँ, स्याङ्जा, अर्घाखाँची, गोर्खा हुँदै फेरि दुराडाँडामा प्रवेश गरकोे हो । दोस्रो पटक माघमा स्वाँरामा जोतिएको थियो । त्यहाँ सहभागी भएका हुन्, ऐले भन्ने गरिएका २७ जनामध्येका अधिकांश व्यक्तिहरू ।
२००६ साल साउन ११ गते हलो जोतेको ऐतिहासिक दिन र कर्मको स्मरणमा २०६२ सालमा समिति बनेबाट दिवस मनाउन थालिएको हो । २०६२ मा बनेको त्यो समितिले बैधानिकता पाउन नै २०६८ सालसम्म कुर्नु पर्यो । यसले पनि त्यस समितिको गतिविधि उजागर गर्दछ । संस्था हाँक्ने अध्यक्ष र सचिवको जोडीले हो । २०६२ सालमा संस्थापक सदस्य रहनु भएका दीपक पौडेल, सचिव हुँदै ऐले अध्यक्ष हुनुहुन्छ । संस्थागत हिसावले उहाँजस्तो अनुभवी व्यक्ति सायद भेटिदैन । तर उहाँको पेशा हो– ‘स्थायी शिक्षक ।’ उहाँलाई प्रतिष्ठानको पदीय हैसियत निर्वाह गर्नका लागि पेशागत जिम्मेवारी ‘बार’का रुपमा खडा छ । उहाँ अध्यक्ष हुनासाथ प्रतिष्ठानको सम्पर्क कार्यालय समेत खत्रीठाँटीमा खोल्नु भयो । त्यस्तो सोच र व्यवहारले बढ्छ, हलोक्रान्ति स्थलको गरिमा ? त्यस्तै, सचिव ‘व्यवसायिक किसान’ हुनुहुन्छ । किसानले सचिव हुनहुन्न होइन तर उहाँलाई पनि आफ्नो व्यवसाय धान्दैमा सायद फुर्सद मिल्ने देखिदैन । सामाजिक काम गर्नेहरूले घर, व्यवहारमा खासै ध्यान दिन नसकेको, नभ्याएको इतिहास साक्षी छ । त्यहाँ पनि भएको त्यही हो । यही पाराको कामले पं. तोयनाथको कद घटाउनु भन्दा अर्को उपलब्धी सायद हुँदैन ।
आजका दिनसम्म हलोक्रान्ति गर्नेमा २७ जनाको नाम लिइन्छ तर पारिवारिक रुपमा केही चासो पं. तोयनाथको परिवारभन्दा बाहेकमा व्यक्तिको परिवारमा देखिदैन, किन ? ती भनिएका व्यक्तिका बारेमा एकिन गर्ने र सबैका परिवारजनलाई समेट्ने काम गर्न नसकेको समितिबाट सिंगो दुराडाँडा, अनि त्यसलाई सन्दरबजार नगरपालिकाले अपनत्व ग्रहण गराई सांस्कृतिक पुरातात्विक क्षेत्रको रुपमा घोषणा गर्न, गराउनका साथै प्रदेश र राष्ट्रकै गौरवको रुपमा उक्त स्थलो हो र त्यो रुपमा त्यसलाई स्थापित गर्ने गराउने छ भन्ने आशा त ‘आकाशको फल’ भन्दा फरक नपर्ला ।
‘हलोक्रान्ति स्थल’को ऐतिहासिक महत्व उजागर गरी त्यसलाई राष्ट्रकै ध्यानाकर्षणका लागि जे जति प्रचार प्रसार हुनुपर्दथ्यो, त्यसको पनि व्यवस्थापन गरिएको देखिदैन । आज घलेगाउँलाई त्यो उचाईमा पर्याउनुमा पत्रकारहरूले गरेको योगदान नै उल्लेख्य हो, छ भन्दा अतिशयोक्ति नहोला । घलेगाउँले पत्रकारहरूलाई के कसरी परिचालन गर्यो, गरिरहेको छ भन्ने पनि त्यहाँबाट सिक्न जरुरी छ ।
उक्त प्रतिष्ठानका बारेमा निवर्तमान अध्यक्ष ऋषिराम खनियाले आफ्नो पालामा संस्थाको हिसावकिताव पारदर्शी गर्ने, पहिलो पटक संस्थाको नाउँमा बैंकमा खाता खोल्ने र आम्दानी खर्च बैंकमार्फत गर्ने, संस्थालाई प्यानमा दर्ता गर्ने, हाल भएको टहरो बनाउने, अल्प र दीर्घकालीन योजना बनाएर नगरपालिका सहितका स्थानमा पेश गर्ने लगायतका कार्य गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म अध्यक्ष थिएँ, कुनै पनि काम वा कार्यक्रम बैठकको निर्णयबाट गरौं भनेर प्रयास गरँे तर कतिपय कार्यक्रम हुने अघिल्लो दिन साँझ, कहिले त उही दिन बिहानमात्र ‘ल यस्तो कार्यक्रम छ तँ आइज’ समेत भनियो ।’
चिन्तन, सपना र योजना जे जस्तो देख्यो परिणाम त्यस्तै आउने हो । कार्यशैली, क्षेत्र, योजनाको दायरा जति फराक बनाउन सक्यो उत्तिनै मात्राको उपलब्धी हुने हुन्छ । यथार्थ त के हो भने, पशुपतिनाथको जस्तो उपमा लिन मिल्ने पं. तोयनाथ र पशुपतिनाथ धाम जस्तो हलोक्रान्ति स्थललाई आइतबारेको पूजा गरेको जस्तो शैलीमा पुज्ने काम हुँदै आएको छ आजका दिनसम्म । त्यसोत सत्कर्मका लागि टाढा जानै पर्दैन, सर्वोदय माविका बारेमा आज जे जसरी खोज्ने काम भएको छ, पुराना फोटा बग्रेल्ती भेटिन थालेका छन् । त्यसरी हलोक्रान्तिका बारेमा पनि खोज्न सकिन्छ इच्छाशक्ति हुने हो भने ।
‘हलोक्रान्ति’ त दुराडाँडाको मात्र चिन्तन थिएन । त्यो त मुलुकमा प्रजातन्त्र स्थापना गर्ने, कृषिमा क्रान्ति गर्ने, रुढीवादी संस्कारको अन्त्य गर्ने र सामाजिक चेतना जागृत गर्ने उदघोष थियो/हो ।
त्यो स्थानलाई त्यसको मर्मअनुसार सञ्चालन गर्ने हो भने बृहत कार्ययोजना(जग्गासहित, आर्टिटेक्चर, प्रबुद्धवर्गको सहभागिता हुने) बनाउने, तत्काल उक्त कार्य गर्नेहरूलाई(परिवारजनको व्यापक सहभागिता)मा अभिनन्दन गर्ने, राष्ट्रियस्तरको समिति बनाउने जस्ता कार्य गर्नु पर्ने अति आवश्यक देखिन्छ ।
यही साउन ११ गतेकै कार्यक्रम पनि सायद युटभमा देख्न सकिन्छ । त्यसको चाजोपाजो समेत वर्तमान समितिबाट मिलाउने काम गरिएको होइन । तर समितिका कार्यशैली के कति अनुकरणीय छन् भन्ने केही झलक त्यो युटुभले पनि अवश्य बोल्ने छ ।
साउन ११ गतेको चलहपहल पनि वडा समितिले शालिक निर्माणका लागि २ लाख छुट्याएका कारणले बढेको देखिन्छ । अन्यथा, त्यो पनि विगतका दिनभन्दा फरक हुन्नथ्यो होला सायद । त्यसलाई पनि वडाध्यक्षले ‘त्यो रकमको निकासाका लागि आउँदो माघ मित्र काम सम्पन्न गर्नु पर्छ अन्यथा चुनाव लाग्छ र बजेट फ्रिज हुन्छ’ भन्नुभएको छ । त्यो बजेट के कति सदुपयोग हुने हो त्यसमा पनि आशंका पैदा भएको छ । किनकि, शालिक कस्तो, क– कस्को राख्ने ? भन्नेमा समिति अझै अनभिज्ञ रहेको खुल्न आएको छ । त्यसैले, निष्पक्ष र प्रभावकारी काम गर्न पनि त्यसको समितिलाई खबरदारी भएको हो । समितिभन्दा बाहिर बस्नेहरूले गर्ने काम नै त्यही हो ।
साउन ११ गते के कस्तो कत्रो अनि कति जनासम्मको शालिक निर्माण गर्ने हो भन्ने सम्म पनि एकिन नभए पनि शालिक निर्माणको शिलान्यास कार्य नेपाली काँग्रेसका महासमिति सदस्य तथा पर्यटनविद् डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । उहाँले आफ्नो उदघाटन मन्तव्यमा दुराडाँडा जस्तो महत्वपूर्ण स्थान किन पछि परेको हो ? सडकको अवस्था पनि त्यस्तै रहेछ भन्नुहुँदै यसको गरिमालाई बचाउन विगतमा पर्याप्त छलफल नभएको पनि उहाँले स्वीकार गर्नु भयो । उहाँले जोड दिदै भन्नुभयो ‘हिजो भएको गल्तीलाई अझै सच्चाउन सकिन्छ ।’ उहाँले यस कार्यका साथै शालिक निर्माणका लागि आफूले सक्ने सहयोग गर्न र सहयोग जुटाउन प्रतिवद्ध छु भन्नुभयो । अर्को एक प्रसंगमा उहाँले लमजुङ र यो सरहका अन्य जिल्लाको बजेट हे¥यो भने आकाश जमिनको फरक रहेको तथ्य रातो किताबहरूले बोलिरहेको देखिन्छ भन्दै यस जिल्लाका नेता(कुनै पनि दलका)ले जिल्लाको आवाजलाई केन्द्रसम्म पु¥याउन वा वकालत गर्न सकेको रहेछन् भन्ने त्यसबाट सिद्ध भएको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा वरिष्ठ समाजसेवी तथा हलोक्रान्तिका विज्ञ दामोदर अधिकारीले हलोक्रान्तिको इतिहास भन्न दुई दिनको समय चाहिने बताउँदै अत्यन्तै सालिन शब्द र शैलीमा संक्षिप्तमा केही प्रकाश पार्नु भयो । उहाँले भन्नुभयो, ‘हलोक्रान्तिका नायक पं. तोयनाथ– जो दार्शनिक समेत थियो, उहाँको सोच अनुसार काम हुने लक्षण नदेखिएपछि उहाँ सन्यासतर्फ लाग्नु भएको हो ।’ उहाँले हलोक्रान्ति गर्ने, त्यो बेलासम्म हलो नजोत्ने जातमा नेवार पनि भएको र एकजना नेवारले समेत जोतेको हुँदा उनको नाम छुटेमा अन्याय हुने बताउनु भयो । उहाँले मुख्य व्यक्तिमा उनीसहित ४ जना भएको बताउनु भयो । उहाँले हलोक्रान्तिको सांस्कृतिक पक्षलाई बिर्सन नहुने उल्लेख गर्दै आज खुट्टा बटार्दै हिड्नेलाई ‘तँ बाहुन होइनस्’ कस्ले भन्ने ? भन्ने प्रश्न उठाउँदै समाजमा पुनर्जागरणको खाँचो रहेको औंल्याउनु भयो ।
समाजसेवी पूर्णभद्र न्यौपानेले छुवाछुत अन्त्यका लागि आफू सदैव तयार रहेको र दलितकोमा जान तयार रहेको तर उनीहरूकोमा जान खोज्दा दलितहरूले नै ‘हामी बीचमा नै त्यो(छुवाछुत) बाँकी छ, पर्खनुस्’ भनेको स्मरण गर्दै छुवाछुत अन्त्यका लागि मदिरापानबाट टाढा हुन सक्नु पर्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा श्रद्धाञ्जली मन्तव्यसहित आफ्ना धारणा राख्नेहरूमा सुन्दरबजार नगरपालिका– ३/४/८ का वडाध्यक्ष क्रमशः अमृत न्यौपाने, कृृष्णराज खनिया, कृष्णकान्त अधिकारी, काँग्रेसका जिल्ला सदस्य रामबहादुर विक, समाजसेवी द्वारिकाप्रसाद मिश्र, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्ण आले, काँग्रेसका वडा सभापति कृष्णविलास न्यौपाने, नेकपा एमाले वडाप्रतिनिधि पशुपति खनिया, सर्वोदय क्याम्पसका प्रमुख ध्रुव खनिया, कवि त्रय टिकाराम खनिया, लक्ष्मीप्रसाद मिश्र र विष्णुभक्त अधिकारी, निर्मल केसी, मधुविलास न्यौपाने तथा विद्यार्थी नेताहरू विराट न्यौपाने, भुवन न्यौपाने, सुदीप अधिकारी आदि हुनुहुन्थ्यो ।
हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष मीरा न्यौपानेले गर्नु भएको थियो भने कोषाध्यक्ष उत्तम बसेलले पं. तोयनाथको व्यक्तित्व एवम् कृतित्वमा प्रकाश पार्नु भएको थियो ।
प्रतिष्ठानको सल्लाहकार समिति संयोजक रामचन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव लक्ष्मीकान्त न्यौपानेले गर्नु भएको थियो ।
No comments:
Post a Comment