खोपमा मनपरी : कोरोना विरुद्धको दोस्रो खोप लगाउने क्रममा बेसीशहरमा देखिए, भोगिएको चर्चिकला - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, July 15, 2021

खोपमा मनपरी : कोरोना विरुद्धको दोस्रो खोप लगाउने क्रममा बेसीशहरमा देखिए, भोगिएको चर्चिकला

अमरबहादुर दनाई/रमाराज खनिया/बहादुर रावल/खड्गबहादुर बानिया/नरमाया गुरुङ

लमजुङ– यही असार २६ गतेको घटना हो । त्यस दिन चर्तिकला देख्ने र भोग्ने गरियो । कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउने भन्ने सुनेर बेसीशहर स्थित जिल्ला अस्पतालमा केही व्यक्तिहरूसँगै हामीहरू पनि १० नबज्दै पुगेर लाइनमा बस्यौं । अस्पतालको प्रांगणमा व्यवहारिक ढंगकासाथ भेरोसिल खोपको दोस्रो डोज दिने क्रम चलिरहेको थियो । त्यहाँ गत फागुनमा कोभिसिल खोप लगाएका व्यक्तिहरू पनि थियौं ।

        खोप लगाउने नर्सहरूले कोभिसिल खोप मनाङबाट आउने हो, २ बजे पछि मात्र हुन्छ, बाहिर बस्नुहोस् भन्दै कोभिशिल लगाउने खोप लगाउन आएकाहरू राम्रो तवरले बताउनु भएको थियो । त्यति बेलासम्म कोभिशिल खोप लगाउनेहरू १०/१२ जना मात्रै थियौं । भेरोसिलको खोप लगाउने क्रम चलिरहेको थियो । हामी कोभिशिल लागउनेहरू २ बजेसम्म कुर्ने भनेर बसिरहेका थियौं । मनाङबाट आउने भनेपछि गाडीको बाटो बिग्रिएको हुनाले हेलिकप्टरबाट आउने हो कि ! भनेर आकाश तिर पनि हेर्दै थियौं । 

        निकै समय बसेपछि आउने हो कि होइन ? बुझ्न पर्यो भनेर अस्पतालका निर्देशकलाई फोन गरियो । उहाँले अस्पतालले स्वास्थ्य कार्यालयको अनुरोधमा खोप लगाउन सहजिकरण गरिदिएको मात्र हो, सबै व्यवस्थापन स्वास्थ्यको हो, हामीलाई थाहा हुन्न भनेर शिष्ट तरिकाले भन्नुभयो । त्यसो भए स्वास्थ्यका प्रमुखसँग बुझ्नु पर्यो भनेर उहाँलाई फोन गर्दा कोभिशिल लगाउने कस्ले भन्यो ? सूचना गरेको छ र ? भनेर उल्टै प्रश्न गर्नुभयो । हामीलाई त यहाँ सिस्टरहरूले मनाङबाट आउँदैछ भनेको हुँदा बिहान १० बजेदेखि कुरीरहेका छौं । हामीले त्यसो भनेपछि उहाँले फोन राखिदिनु भयो । स्पष्ट जवाफ केही पाइएन । हामी झन् अलमलमा पर्यौं । त्यतिबेलासम्म जम्मा २५÷३० जना मात्र कोभिशिल खोप लगाउनेहरू जम्मा भएका थियौं । 

        त्यसैबेला एकजना स्वास्थ्यका कर्मचारीले खोप राखिएका दुईवटा बाकस लिएर अस्पतालभित्र पस्नु भयो । उहाँसँग कुरा बुझ्दा मनाङबाट फिर्र्ता आएको खोप हो, धेरै छैन । त्यही साठी जनाजतिलाई पुग्ला भन्नुभयो । हामी त्यो खोप लगाउने धेरै जना नभएकोले खोप लगाउन पाउनेमा आशावादी भयौं । जब दुई बजेको थियो, खोप लागउनेहरू एक दुई जना फाट्ट फुट्ट आउँदै हुनुहुन्थ्यो । तर त्यसपछि भने अन्य धेरै व्यक्तिहरू आएको देखियो । त्यो दृश्य देख्दा गोप्य तवरले आ–आफ्ना मान्छेलाई कोभिशिल लगाउने खबर गरिएको रहेछ भन्ने बुझियो । 

        बाहिर त्यस्तो तबरले कडाई गर्दै खोप लगाउँदै गरिएको अवस्थामा स्वास्थ्यका एकजना नर्सले कोभिशिल खोप लगाउनेहरू मध्येका केही जनाको कार्ड लिएर भित्र कोठामा जानु भयो । हामीहरूले पनि कार्ड दियौं । कोठा सानो भएको हुँदा कार्ड दिनेको भिड थियो । किन यस्तो सानो कोठामा गरिएको ? बाहिर गर्नु पर्छ भनेर आवाज पनि आइरहेको थियो । ती नर्सले भिड भयो भनेर १०– १२ जनाको कार्ड छानी छानी लिएर जानु भयो । अन्य कार्डहरू त्यही अलपत्र परे । आ– आफ्नो कार्ड खोज्दैको जात्रा भयो ।

        अर्कोतर्फ भिडिओ एक्सरे गर्ने कोठामा गोप्य तवरले स्वास्थ्य कार्यालयका र अस्पतालका कर्मचारीहरूका साथमा केही नेता भनेर चिनिने व्यक्तिहरूलाई खोप दिइरहेको देखियो । खोप लगाएकाहरूले कार्डको के    मतलब ! खोप लगाई हालियो भन्दै निस्कदै गरेको देखियो । हामी पनि भित्र गएर के गरिएको हो ? यो तरिका भएन, हामीहरूलाई बिहान १० बजेदेखि कुराइयो । अहिले यसरी आ–आफ्ना मान्छेलाई मात्र खोप लगाउने ? भन्दा ‘५० जनालाई मात्र पुग्ने थियो, सकियो’ भन्दै ती कर्मचारीहरू निस्के । 

        बाहिर बेञ्चमा ६–७ जना अशक्त जेष्ठ नागरिकहरू पनि खोप लगाउन पाइन्छ कि भनेर कुरीरहनु भएको  थियो । त्यो नाटक देखेर धेरै व्यक्तिहरू अचम्म मानेर फर्किनु भयो । हामीहरू भने के के गर्दा रहेछन् भनेर हेर्दै थियौं । स्वास्थ्यका नर्स खोपको वक्सा लिएर आफ्नो कार्यालयतर्फ जानु भयो । 

        अर्को, कोरोना विरुद्धको खोपका बारेकै अचम्मको कुरा के छ भने गत जेठमा भेरोसिल खोप पहिले पटक लगाउन अस्पतालको परिसरमा जाँदा थुप्रै मान्छे थिए । त्यहाँ ६२ देखि ६४ वर्षका व्यक्तिहरूका लागि मात्र हो भन्दै १, २, ४ दिनले ६२ वर्ष नपुगेका वा १, २ दिनले ६४ वर्ष काटेका व्यक्तिहरूलाई खोप लगाइएको थिएन । नियमको कडा रुपमा पालना भएकोमा नराम्रो पनि ठानिएन । हाम्रो टोलका एकदुई जना आमाहरू पनि तपाईको उमेर बढी भयो, १२ दिन कटिसक्यो भनेर खोप लगाउन नपाएर निन्याउरो मुख लगाएर फर्किनु भएको थियो । तर त्यतिबेला पनि ‘हुँदैन भन्दै थिए मैले त जबरजस्त लगाएँ’ भन्ने मान्छे पनि भेटिएको थियो । त्यो सुनेकाा हामीहरू तपाई अपवादमा पर्नु भएछ भनेर हासियो । 

        तर त्यही भोरोसिल खोपको दोस्रो डोज लगाउने असार २६ गते आउने व्यक्तिहरूमा ६० प्रतिशतभन्दा बढी ५० वर्ष पनि ननाघेका देख्न पाइन्थ्यो । त्यसमा पनि २०देखि ३० वर्ष उमेर समूहका बढी देखिन्थे । यसको मतलब ५० वर्ष मुनिका व्यक्तिलाई किन त्यो खोप लगाइयो ? भनेर भन्दा पनि ती असहाय आमाहरू खोप लगाउन नपाई विभेदको शिकार हुनुभयो । के स्वास्थ्य कार्यालयका कर्मचारीको काम यस्तै गर्ने हो ? 

        यस प्रकार खोप लगाउने कार्यमा बेसीशहरमा भनसुनको आधारमा आफ्ना मान्छेलाई गोप्य रुपले खबर गर्दै खोप लगाउने काम गरिएको प्रत्यक्ष देखियो । उमेर नपुगेकाहरूले उमेर ढाटेका पनि भेटियो । जो खोप लगाउनेहरूको रेकर्ड हेरेमा पनि प्रष्ट हुनेछ । यस्तोमा जिल्ला प्रशासनको भूमिका केही हुन्छ कि हुन्न होला ? 

        कोरोनाको खोप लगाउने कार्यमा त यस्तो भाइबन्दी गरिएको छ भने अन्य कामकुरामा के कति गरिएको  होला ? सहज अनुमान गर्न सकिन्छ । 

बेसीशहर नगरपालिका– ८, सेरा, लमजुङ । 

No comments:

Post a Comment