बाल कल्याण मा.वि.मा अनलाइन कक्षा सञ्चालनको तयारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 16, 2021

बाल कल्याण मा.वि.मा अनलाइन कक्षा सञ्चालनको तयारी

अन्तरङ्ग सम्वाददाता

लमजुङ– बेसीशहर नगरपालिका– २ को भकुण्डे स्थित बाल कल्याण मा.वि.मा अनलाइन कक्षा सञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरस(कोभिड– १९) संक्रमणको जोखिमका कारण निषेधाज्ञाको क्रम थपिदै आएको स्थितिलाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालनको तयारी गरिएको हो । 

        बालकल्याण माविको सञ्चालन समिति र शिक्षकहरूको संयुक्त सहमतिमा बाध्य भएर अनलाइन शिक्षा चलाउने निर्णय गरिएको हो । कोरोना महामारीका कारण नाजुक बनेको शैक्षिक स्थितिमा राहात होस भन्ने धेयले यही साउन १० गतेदेखि पनि नेपाल सरकारद्वारा भौतिक उपस्थितिमा अध्ययन अध्यापन गराउन अनुमति नदिएको खण्डमा सो विधिबाट कक्षा सञ्चालन गर्ने निर्णण भएको उक्त विद्यालयको सञ्चालक समितिका अध्यक्ष काजी बस्नेतले बताउनु भयो । उहाँका अनुसार आउँदो ९ गतेसम्म आवश्यक सबै तयारी पुरा गरी अनलाइन शिक्षा शुरु गर्ने निर्णय गरिएको हो । उहाँले भन्नुभयो, ‘अन्य बैकल्पिक उपाय नभएपछि जस्तोसुकै मुल्य चुकाएर भएपनि बालबालिकाहरूलाई मोबाइल किन्नुपर्ने र नेट जडान गर्नुपर्ने बाध्यता भएको छ । प्रायः नेपालको अधिकांस ठाउँहरूमा अनलाइन शिक्षा असम्भव नै छ । शहर र सुबिधा पुगेका धेरै जनसंख्या बसोवास गर्ने स्थानहरूमा सबै सुविधाहरू छन् ।’

        सुविधायुक्त ठाउँका विद्यालयहरूले गत बर्षबाट नै अनलाइन कक्षा चलाएका थिए भने कति विद्यालयहरू बर्षदिन भरी बन्द भएका पनि थिए । यसरी लामो समय विद्यालय बन्द हुँदा कतिपय बालबालिकाहरूले विगतमा पढेर जानेका विषयवस्तु पनि बिर्सने र सधैँ घरमा बस्नु पर्दा उनीहरू डिप्रेशनको शिकार बनेका धेरै भेटिन्छन । यावत स्थितिलाई मध्यनजर राख्दै सामुदायिक विद्यालयमा पनि शिक्षकहरूको सक्रियता बढेपछि कतिपय विद्यालयहरूले यसअघिबाट नै एकदुई वटा कक्षा अनलाइनबाट चलाएको भेटिन्छ । तर व्यवहारतः सबै कक्षामा र सबै बिषयहरू अनलाइनबाट पढाउन हम्ये हम्ये पर्ने स्थिति उत्पन्न भएको स्थिति छ  ।

        निजी विद्यालयहरूले शिक्षकहरूलाई तलव दिन नसक्ने स्थिति उत्पन्न भएपछि शुरु भएको नेपालको अनलाइन शिक्षाले अभिभावकहरूलाई आर्थिक भार थप्ने काम गरेको छ । हाम्रो जस्तो गाउँले परिवेशमा यो विधि जटिलै छ तर पनि उपाय नलागेपछि बाध्यभएर सकिनसकि यो शैक्षिक बिधि रोज्नु परेको सो माविको सञ्चालक समितिका अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँका अनुसार विश्व नै हसरल्ल बनेको बखत नेपालमा आरोप लगाउन उचित नहोला तर सम्बन्धित निकायहरूले यस बिषयमा गम्भीर चासो देखाउन पर्ने देखिन्छ ।

        शहरका विद्यालयहरूलाई अनलाइन शिक्षा चलाउन सहजै छ । तर दुर्गम गाउँ बस्तीहरूमा रहेका बालबालिकाहरूलाई दिइने शिक्षाको बारेमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गराउने उचित व्यवस्था सरकारले गनुपर्छ । किनकि, दुर्गममा विद्युत सेवा, नेटको पहुँच पर्याप्त हुन्न भने अनलाइन कक्षा पढ्नका लागि आवश्यक पर्ने प्रविधिको जोहो गर्न सक्ने गाउँलेको जीवनस्तर समेत देखिदैन । 

        तर पनि महामारीका कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यकासाथ बालकल्याण माविको सञ्चालक समितिका अध्यक्ष काजी बस्नेतको पहल र प्रधानाध्यापक तिर्थराज नेउपानेको सक्रियतासँगै सञ्चालक समितिका सदस्यहरू तथा सम्पूर्ण शिक्षकहरूको सहभागितामा संयुक्त रुपमा छलफल गरी ‘अनलाइन शिक्षा नै आजको आवश्यकता’ रहेको निष्कर्ष निकाल्दै अनलाइन कक्षा सञ्चालनको तयारी गरिएको हो ।

No comments:

Post a Comment