अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना संक्रमितको संख्या घटेन थालेको भए पनि संक्रमण नरोकिएपछि थप दश दिनका लागि निषेधाज्ञा जारी भएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले पुनः निषेधाज्ञा साउन १० गते सम्मका लागि थप भएको असार ३१ गतेका दिन जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
थप भएको निषेधाज्ञा असार ३१ गते राती १२ बजेदेखि साउन १० गतेको राती १२ वजेसम्मका लागि जिल्लाभर लगाईने भएको हो । बैंक तथा सहकारी संस्थाहरू साविक बमोजिक खुल्न पाउने भए पनि सहकारीका प्रतिनिधिले घरघरमा गएर रकम संकलन गर्न नपाउने विज्ञप्तिमा भनिएको छ । त्यस्तै, पसलहरू विहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्यको अनिवार्य पालना गरी खुल्न पाउने छन् ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलद्वारा जारी आदेश विज्ञप्ति अनुसार स्वास्थ्य मापदण्ड पालना गरी, दैनिक रुपमा सवारी साधनलाई निसंक्रमित गरी सिटभरमात्र यात्रु राखेर जिल्लाभित्र यातायात समेत सञ्चालन गर्न पाउने छन् ।
होटल रेष्टुरेन्ट विहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने भए पनि सिनेमाहल, पार्टीप्यालेस, दोहोरी, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन ब्यूटीपार्लर, जिमखाना पुस्ताकालय तथा मानिस भिडभाड कार्यक्रम गर्न गराउन नपाइने उल्लेख छ । तर बेसीशहरका सैलुन र ब्युटीपार्लर भने प्रायः खुल्ला भएको देखिन थालेका छन् । त्यस्तै, विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने उल्लेख छ ।
त्यस्तै, गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण आदि स्वास्थ्यको मापदण्ड पालना गरी २५ जनासम्मको उपस्थितिमा सञ्चालन गर्न पाइने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लमजुङमा दैनिक रुपमा कहिले एक अंक त कहिले दुई अंकमा कोभिड– १९ का संक्रमित संख्या भेटिदै आएको छ । असार ३१ गते दिनमा जिल्लामा एक अंकमा संक्रमित संख्या झरेर ४ जना फेला परेको भए पनि असार ३० गतेका दिन २० जनामा संक्रमित पुष्टि भएको थियो ।
लमजुङमा ऐले पनि संक्रमण फेला पर्ने दरको प्रतिशतमा कमी नआएको र त्यो दर आजमा दिनमा पनि ३२/३३ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताउनु भएको छ ।
लमजुङमा जिल्लामा असार ३१ गतेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या दुई हजार ११३ पुगेको छ । त्यस्तै, कोरोना जित्नेको संख्या एक हजार ८६५ जना छन् । यो संख्या विगत ३ दिनदेखि स्थिर रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २१४ पुगेको छ भने ३४ जनाको दुःखद निधन हुन गएको छ ।


No comments:
Post a Comment