अन्तरङ्ग सम्वाददाता
पोखरा– चेम्बर अफ कमर्स गण्डकी प्रदेशको प्रथम अधिवेशन तयारी चलिरहेको छ । यही असार २६ गतेका दिन हुने प्रदेश अधिवशेनको तयारी अन्तिम चरणमा पुगेको हो । उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललाई आमन्त्रण गरिएको छ ।
गण्डकी प्रदेशमा निजी क्षेत्रको प्रभावशाली तथा अग्रणी संस्थाका रुपमा स्थापित गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम अधिवेशन तथा साधारण सभा सो दिन जुम प्रविधिका माध्यमबाट सम्पन्न गर्ने गरी तयारी भएको छ । उक्त अधिवेशन सहितको सभाले प्रगति प्रतिवेदन पारित, लेखा परीक्षकको नियुक्ति, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक भइसहेको छ ।
सो अवसरमा विभिन्न उपसमिति, बिज्ञ समिति गठन, विभिन्न नियामावलीहरू प्रस्तुत गरी सहभागी बीच छलफल तथा परामर्श गरी पारित गरिने कार्यक्रम समेत रहेको प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अधिवेशनको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गर्नु हुनेछ ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारको अध्यक्षता हुने उक्त कार्यक्रममा गण्डकी प्रदेशका सबै जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँ पालिका तथा वडा चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको प्रतिनिधित्व हुने सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अधिवेशनमा कुल एक सयले भाग लिने छन् ।

No comments:
Post a Comment