अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज पनि एक अंकमा सीमित रहेको छ । जिल्ला प्रशासन कार्यालयले आज असार २७ गते जारी गरेको विज्ञप्ति अनुसार आज असार २७ गते ६ जनामा संक्रमण पुष्टि भएको छ भने थप २ जनाको निधन भएको छ ।
नयाँ संक्रमित थप भएसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २०६८ पुगेको छ । हालसम्म जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ८६५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १६९ रहेको र ३४ जनाको दुःखद निधन भएको छ ।
आज दूधपोखरी गाउँपालिकामा तनि जना, राइनास नगरपालिकामा २ जना र मध्यनेपाल नगरपालिका– ६ का ७८ वर्षका पुरुषमा सक्रमण पुष्टि भएको छ । आज बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।
आज संक्रमित हुनेको अधिक उमेरमा ९० वर्षका पुरुष छन् भने कम उमेरमा १४ वर्षीया बालिका छिन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ८ र सोही नगरपालिका– ७ का हुन् ।
आज दूध पोखरी गाउँपालिका– ४ निवासी ४० र ५५ वर्षीया महिला र सोही पालिका– ५ का १९ वर्षकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेको यो छैठौं दिन हो भने संक्रमित संख्या एक अंकमा झरेको लगातार दोस्रो दिन अर्थात हिजो र आज हो । हिजो असार २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो ।

No comments:
Post a Comment