अन्तरङ्ग सम्वाददाता
बेसीशहर । लमजुङ जिल्लामा फेरि असार २४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलद्वारा असार १६ गते जारी निषेधाज्ञा आदेशमा त्यस्तो उल्लेख गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलद्वारा आज जारी गर्नु भएको विज्ञप्तिमा यसअघिका जस्तो धेरै कडा सर्तहरू भने घटाइएको छ । घोषित निषेधाज्ञा खुकुलो बनाउदै असार १७ गते राति १२ बजेदेखि फेरि एकसाता जिल्लाभर निषेधाज्ञा थप गरिएको हो । थप भएको निषेधाज्ञाको अवधि असार २४ गते राति १२ बजे सम्मका लागि रहने छ ।
अझै पनि सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनर सिनेमा हल जस्ता भिडभाड हुने कार्यक्रम संचालन गर्न नपाउने सो अदेशमा भनिएको छ । त्यसैगरी, धार्मिक, साँस्कृतिक, सामाजिक क्रियाकलाप जस्ता कार्य गर्न नपाइने तर विवाह, ब्रतबन्धका लागि २० जनासम्म भेला भइ गर्न पाउने विज्ञाप्तिमा उल्लेख गरिएको छ । यसअघि यस्ता कार्यमा १० जनाका लागि मात्र अनुमति थियो ।
त्यसैगरी, अबका दिनमा बैंक तथा वित्तीय संस्थाहरू दिउँसो ३ बजेसम्म खुल्न पाउने छन् तर सहकारीका बजार प्रतिनिधिहरूलाई घरघरमा जाने र पैसा संकलन गर्ने छुट भने छैन । त्यस्तै, होटल रेष्टुराँका सञ्चालकहरूले साँझ ६ बजेसम्म आफ्नो पसल खोल्न पाउने छन् ।
सार्वजनिक यातायातले स्वास्थ्य मापदण्डको पालना गरी सिट क्षमताको आधा संख्यामा मात्र यात्रु राखेर जिल्ला भित्र मात्र जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाउने भएको छ ।
सदरमुकाममा मात्र नभएर गाउँगाउँमा पनि कोभिडका बिरामी कम नभएपछि सवारी साधनको हकमा भने एम्बुलेन्स र अनुमति कागज भएकाहरूले मात्र संचालन गर्न पाउने छन् । जिल्ला भित्र भने जोर विजोर प्रणलीमा स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न पाइने निर्णय विज्ञाप्तिमा भनिएको छ ।
उक्त आज्ञाको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ एवम् कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने जानकारी जिल्ला प्रशासन कार्यालयबाट जारी उक्त विज्ञप्तिमा भनिएको छ ।
स्मरणीय छ, असार १५ गतेका दिन संक्रमित संख्या एक अंकमा झरेर ९ जनामा पुष्टि भएको थियो । आजको संक्रमित प्रतिवेदन आउन भने बाँकी छ ।

No comments:
Post a Comment