अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) का नयाँ संक्रमित संख्या आज फेरि उचालिएर २७ जनामा संक्रमण पुष्टि भएको छ । आज असार १६ गते जिल्लामा एक १२ वर्षीया बालिकासहित २७ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज कोरोनाका कारण निधन हुने संख्या छैन ।
लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपको संक्रमणका क्रममा आज पुष्टि भएका संक्रमितहरूमा सबैभन्दा धेरै बेसीशहर नगरपालिकाका १७ जना छन् । त्यस्तै, राइनास नगरपालिकाका ४ जना छन् भने सुन्दरबजार नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।
आजका संक्रमितमा कम उमेरमा १२ वर्षीया बालिका र अधिक उमेरमा ८० वर्षीया महिला छन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ८ र सुन्दरबजार नगरपालिका– ९ का हुन् ।
बेसीशहर नगरपालिका– १ का २३, २९ र ५० वर्षका पुरुष तथा २१ वर्षीया महिला छन् । वडानं– २ का २९ र ४० वर्षका पुरुष, वडानं– ३ का २७ वर्षीया महिला, वडानं– ६ का ५७ वर्षीया महिला, वडानं– ७ का ७१ वर्षका पुरुष, वडानं– ८ का ४९ र ५८ वर्षका पुरुष, वडानं– १० का २४, २९ र ४९ वर्षका पुरुष, वडानं– ११ का ३२ वर्षका पुरुष तथा २५ र ३७ वर्षीया महिला छन् ।
यसैगरी, राइनास नगरपालिका– ८ का ३५ वर्षका पुरुष तथा १२ वर्षीया बालिका, १७ र ५६ वर्षीया महिला रहेका छन् । त्यस्तै, सुन्दरबजार नगरपालिका– ७ का ७६ वर्षीया महिला, वडानं– ९ का ३४ वर्षका पुरुष तथा ८० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, मर्स्याङदी गाउँपालिका– २ का २९ वर्षका पुरुष, वडानं– ३ का १९ वर्षका पुरुष र वडानं– ९ का ३६ वर्षीया महिलामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज सक्रिय संक्रमितको संख्या जिल्लाभर २५८ जना पुगेको छ । हालसम्म एक हजार ६५० जनाले कोरोना जित्न सफल भएका छन् । जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या २७ पुगेको छ । आजका दिनसम्म कुल संक्रमितको संख्या एक हजार ९३५ रहेको छ ।
यसअघि असार १५ गते कोरोना संक्रमित एक अंकमा झरेर ९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघि असार १४ गतेका दिनमा ६ जनामा तथा १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो ।
स्मरणीय छ, भोलि असार १८ गतेदेखि निषेधाज्ञामा खुकुलो बनाउने जिल्ला प्रशासनले घोषणा गरेको अघिल्लो दिन मात्र २७ जनामा संक्रमण पुष्टि हुन गएको हो ।

No comments:
Post a Comment