शताब्दी पुरुष नरकान्त अधिकारीको १०१ बर्षको उमेरमा निधन, एक आदर्श युगको समाप्ति, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान शोकमा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 10, 2021

शताब्दी पुरुष नरकान्त अधिकारीको १०१ बर्षको उमेरमा निधन, एक आदर्श युगको समाप्ति, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान शोकमा

नवराज पहाडी/अन्तरङ्ग

काठमाडौं– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानलाई आज गहिरो शोक परेको छ । उक्त कुलका ज्वाज्यल्यमान ज्योतिका रुपमा रहनु भएका आदर्श पुरुष, नेपालका गौरव तथा शताब्दी पुरुष नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा जेठ २७ गते आफ्नै निवास लैनचौरमा निधन भएसँगै प्रतिष्ठान शोकमा डुबेको हो । उहाँको निधनले एक आदर्श युगको समाप्ति भएको छ । 

        पूर्वमहालेखा परीक्षक (संवैधानिक अङ्ग प्रमुख) पदबाट निवृत्त हुनुभएका शताब्दी पुरुष अधिकारी सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो । उहाँ नेपालको निजामती प्रशासनमा एक आदर्श व्यक्तित्वका रुपमा स्थापित हुनुभएको थियो । निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारीले नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिवको रुपमा समेत अनुभव हासिल गर्नुभएको थियो । 

        उहाँको निधनमा प्रष्ठिानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले शोकव्यक्त गर्दै भन्नुभएको छ, ‘हामी अधिकारीहरूकै अभिभावक, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान वंशावली ग्रन्थ, प्रकाशन समितिका सहल्लाकार, लमजुङ दुराडाँडा, हाल काठमाडौ लैनचौर निवसी नरकान्त अधिकारी १०१ वर्षको उमेरमा हामीलाई अविभावक बिहीन र टुहुरो बनाई यो लोकलाई छोडी परमधाम हुनुभएको खवरले वंश प्रतिष्ठान, नेपालको केन्द्रीय कार्य समिति परिवार साथै सम्पूर्ण जिल्लाका जिल्ला समिति परिवार शोकाकुल बनेका छौँ । परमधामवासी बुवाको बैकुण्ठवास, मिलन हवस्, परिवरजनमा पर्न गएको शोकप्रति विन्ध्यवासिनी कुलदेवीले सहन गर्ने शक्ति प्रदान गरून् भन्दै समवेदनाका साथ भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दछौँ’ भन्नुभएको छ ।

शताब्दी अधिकारीको संक्षिप्त जीवनी–

        शताब्दी पुरुष अधिकारीको पुर्ख्यौली अर्थात जन्म थलो लमजुङको ऐतिहासिक थलो दुराडाँडा हो । दुराडाँडाको इतिहास रच्ने तथा दुराडाँडाको इतिहासलाई सुनौलो एवम् गौरवशाली बनाउनमा उहाँका पनि योगदान रहेको पाइन्छ । उहाँका पिता लप्टन शेषकान्त अधिकारी र आमा शैलकुमारी अधिकारीका साथ वीरगञ्जमा सेवारत रहँदा उहाँको जन्म वि.सं. १९७७ पुस २२ गते बुधवारका दिन वीरगञ्जमा भएको हो । उहाँका पिताजी स्वयम् हलो क्रान्तिका एक सशक्त अभियन्ता हुनुहुन्थ्यो । 

        वीरगञ्जबाट प्रारम्भिक शिक्षा लिएपछि उहाँले काठमाडौं गएर फुपू पूर्णकुमारी पौडेलको लैनचौर निवासमा बसेर पढ्नु भएको हो । दरबार हाइस्कूलमा कक्षा ७ मा भर्ना हुनुभएका उहाँ वि.सं. १९९४ को एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । आइए र बिए त्रिचन्द्र कलेजबाट उत्तीर्ण गरेपछि उहाँले कानुन विषयमा स्नातक पनि गर्नु भएको थियो । 

        नरकान्त अधिकारी १३ वर्षका हुँदा तनहुँ, चुँदीरम्घा निवासी दिग्विजय आचार्यकी ९ वर्षकी माहिली छोरी रमादेवीसँग विवाह भएको थियो ।

        आत्मावलम्बी भई पढ, लेख र चिन्तनमनन गर भन्ने सन्देश उहाँ आफ्नो आवासमा पुग्ने जो कोहीलाई पनि सम्झाउनु हुन्थ्यो । उहाँको ‘थोरै बोल– मीठो बोल’ भन्ने सूत्र थियो । गाउँघर र खासगरी लमजुङ तथा तनहुँबाट पढ्नका निम्ति काठमाडौँ आउने व्यक्तिलाई अन्यत्र व्यवस्था नहोउन्जेल आफ्नै घरमा आश्रय लिने गर्थे । उहाँको पढ्नुपर्छ भन्ने चेतनाका अघि अन्य सबै पक्ष गौण मानिन्थे । साहित्यकार मोहन कायस्थले भन्नुभएको छ, ‘काठमाडौं पहिले पढ्न आउँदा सातदिन उहाँकहाँ बसेपछि बल्ल डेरा खोजेर बसेँ ।’ खर्च सकिन्थ्यो अनि नरकान्त कहाँ विद्यार्थी पुग्थे र राहत पाउँथे । उहाँले लगाएका यस्ता गुन कति छन् कति लमजुङ र तनहूँबासीको मनमा । 

        भारत, श्रीलङ्का, जापान, जर्मनी, चीन, अमेरिकालगायतका देशको उहाँमा उच्चस्तरीय तालिमसहितको अध्ययन भ्रमणको अनुभव थियो । 

        वि.सं. २००० सालदेखि निजामती सेवामा प्रवेश गरेर निरन्तर २०४७ सालसम्म राष्ट्रसेवक रहेको झन्डै आधा शताब्दीको समय अधिकृतदेखि मन्त्रालयको सचिव, महालेखा परीक्षक बन्न सफल उहाँ कहिले कतै घुसखोरी, कामचोरी, ढिलासुस्ती एवं अवगालको निष्कलङ्क राष्ट्रसेवक हुनु भएको पाइन्छ । उहाँको निष्कलङ्क छविलाई याद गर्दा ‘घुस खान्या र दिन्या’ दुवै मुलुकका शत्रु हुन् भन्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई उहाँले आफ्नो जीवनकालमा अक्षरशः पालन गर्नुभएको देखिन्छ ।

        उहाँ राष्ट्रसेवामा संलग्न रहँदा मात्र होइन बाँकी जीवनपर्यन्त निष्कलङ्क, शान्त र स्थिर देखिएर स्वनामधन्य भई आफ्नो नामलाई सार्थक तुल्याउनुभएको छ । यसै सन्दर्भमा उहाँसँग जोडिएका कैयौं मिथक बनेको पनि पाइन्छ ।

        एकपटक नरकान्त अधिकारी अर्थसचिव रहनु भएको बेला साढे दुई किलो असला माछा बोकेर एकजना कर्मचारी सायद पदोन्नति चाकडीका लागि उहाँको घरमा आएछन् र माछाको झोला कोसेलीको रूपमा छोडेछन् । कसले के ल्यायो भनेर बेलुकी सोधखोज भएछ, भोलिपल्ट अफिसको प्रथम सत्रमा तिनै कर्मचारी मन्त्रालयमा पुगेर सचिव नरकान्तलाई भेट्नका लागि नाम पिए कक्षमा टिपाएर उत्साहका साथ भेटका लागि प्रतीक्षामा बसेछन् । केहीबेरमा नरकान्त अधिकारी निस्केर ‘आउ त’ भनी उनलाई सङ्केत गरेर आफ्नो मोटरमा राखी घरमा पु¥याएर भन्नुभएछ । त्यो हिजो छोडेको आफ्नो झोला लिएर गइहाल्नुहोस् । चूँ नबोली बिचरा ती कर्मचारी माछाको झोला बोकेर पश्चात्ताप महसुस गर्दै बाटो लागेछन् ।

        अधिकारी उपसचिव हुनुभएपछि गुल्मी–अर्घाखाँची क्षेत्रको प्रशासन हेर्न बडाहाकिमको जिम्मेवारी दिएर पठाइएको थियो । त्यहीबेलामा पाल्पाका राणा बडाहाकिमका नातेदारले कसैको ज्यान मारेको विषयमा सो मुद्दा डिसमिस गर्न दबाब दिएछन् । तर उहाँले सो काम गर्न चासो नदिनु भएको हुँदा उहाँलाई पुनःफिर्ता बोलाइयो । फलस्वरुप धेरै वर्षसम्म उहाँको बढुवा समेत रोकिएको थियो । 

        नेपालमा देखिएका सामान्य प्रशासकहरू भन्दा शताब्दी पुरुष अधिकारी फरक स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो । एकपटक उहाँलाई भेट्न उनको घरतर्फ जाँदै गर्दा मैले एकजना मान्छे तल घरछेउ बाटोमै एउटा झोला बोकी बसेको देखेँ । रहेछन् भूमिसुधारमा काम गर्ने कुनै कर्मचारी । झ्यालबाट अधिकारीले हेर्दै भने– तपाईँले ल्याएको झोला बाहिरै छाडेर भित्र आउनोस् ।

        अर्थसचिव हुँदाकै अवस्थामा राजदरबारबाट दुईवटा हेलिकप्टर किन्न रकम माग भएछ । ‘यो जनताको पैसा हो, राजकुमारहरूको नाममा दिन मिल्दैन’ भनेर ठाडै इन्कार गरिदिनु भएको थियो शताब्दी पुरुष नरकान्त अधिकारीले ।

        जनसंख्या अधिकृतबाट राष्ट्रसेवकको हैसियतमा सेवा शुरु गर्नु भएका अधिकारी उपसचिव हुँदै सहसचिव बनेपछि राष्ट्रिय योजना आयोगमा पनि काम गर्न पुग्नुभयो । तत्कालीन श्री ५ को सरकारको सचिवमा पदोन्नति भएपश्चात् उहाँले क्रमशः अर्थ, कृषि र रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु भएको थियो । अधिकारीलाई २०४१ सालमा महालेखा परीक्षक पदमा नियुक्त हुनुभएको हो । मुलुकमा २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि प्रशासन सुधार आयोग गठनसँगै उहाँलाई नै पे–कमिसनको अध्यक्ष बनाइयो । यसप्रकार अधिकारीको प्रशासन यात्रा २०४७ सालसम्म जारी रह्यो । 

        नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्रको उदय भएपछि उच्च प्रशासकहरूमध्ये गर्वका साथ लिइने नाम हो– नरकान्त अधिकारी । नेपाली प्रशासनको इतिहासमा ४७ वर्षसम्म लगातार सरकारी सेवामा रही काम गर्ने यस्ता प्रशासक सायदै भेटिएलान् । त्यस्तो लामो थियो शताब्दी पुरुष नरकान्तको जागिरे जीवन । सरकारी जीवनबाट अवकाश पाएपछि पारिवारिक धरोहरका रूपमा अन्तर्निहित आध्यात्मिक चेतले उहाँको पछिल्लो वयको ठूलो हिस्सालाई झन् पल्लवित भएको थियो । अंग्रेजी तथा संस्कृत भाषामा पनि राम्रो दख्खल राख्ने अधिकारी कडा अनुशासनका पर्याय हुनुहुन्थ्यो ।

        दम्भरहित सरल स्वभावका उहाँले भन्ने गर्नु हुन्थ्यो– ‘हामी केही जान्दैनौं तर जानेकोजस्तो गर्छौं ।’ क्षितिजचन्द्र चक्रवर्ती त्यसबेला त्रिचन्द्र कलेज र दरबार हाइस्कूलमा अङ्ग्रेजी पढाउँथे । अङ्ग्रेजी विषयमा आफ्नो कति नम्बर आयो होला भन्दै जान्ने हिसाबले पछि लाग्नुभएका नरकान्त गुरुसँगै पशुपति पुग्नुभएछ । गुरुले सन्तमहन्त भेट्दा तिनका घतिला बातचित सुन्ने मौकाका साथ प्रसाद पनि मिलेछ । फर्कंदा गीता निरन्तर अध्ययन गर्नू भन्ने गुरुआज्ञालाई शिरोपर गरेर उहाँले गीताध्यायनलाई जीवनका अन्तिम दिनसम्म पनि जारी राख्नु भएको थियो ।

        उहाँ नाम जस्तै नरका कान्त हुनुहुन्थ्यो । पछिल्ला दिनमा विस्मृतिका कारण आफ्ना अनुभव सिकाई वा भोगाईका सबैकुरा सम्झेर बताउन नसक्ने हुनुभएको थियो । उहाँ शताब्दी वाड्मय पुरुष संस्कृतिविद् सत्यमोहन जोशीका पनि सहयात्री एवं अत्यन्त प्रियमित्र हुनुहुन्थ्यो । झन्डै आधाशताब्दी राष्ट्रसेवकका रुपमा रहेर उमेरले करिब ७६ वर्ष पुगिसकेपछि मात्र आध्यात्मिक कृति लेखनमा जीवन सुम्पेर बृहत् आकारका यति धेरै ग्रन्थहरू लेख्ने विद्वान् शायद नेपालमा कमै होलान् । उहाँका प्रमुख कृतिमा शिव महिमा स्तोत्र (२०५३),  नारद तथा शाण्डिल्य भक्ति स्तोत्र (२०५५),  श्रीमद्भागवत स्तुतिपुष्प (२०५७), पतञ्जलि योगसूत्र (२०६१), अमरापुरीभन्दा माथिको नन्दन वन (२०६४), गीताः मैले बुझेका केही कुरा (२०७३) र चिन्तन, मनन, अध्ययन गर्दा राम्रो हुन्छ कि ! (२०६६) भन्ने प्रतिदिन राम्रा वाणीहरू पढ्न पाइने टेबुलपात्रो हुन् ।

        उहाँको सङ्गतमा पुगेका, पढेका, खारिएका जति पनि मानिस छन् तिनीहरूमा शताब्दी पुरुषका मुहारबाट छुटेका कान्ति कणको प्रभावले शालीन स्वभाव बनाएको पाइन्छ । यो नै उहाँको महानताको परिचय हो । यस्तो व्यक्तित्वलाई राष्ट्रले चिन्न सकेन भन्दा अतिशयोक्ति हुनेछैन । शताब्दी पुरुष अधिकारीको सरल, सादा र मर्यादित जीवनबाट जोकसैले पनि सिक्न र अनुशरण गर्न आवश्यक छ ।

        स्व. अधिकारीको आजै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।


No comments:

Post a Comment