नजिकको तीर्थ हेला : एक सय नाघेका बृद्ध राम मालुवा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 18, 2021

नजिकको तीर्थ हेला : एक सय नाघेका बृद्ध राम मालुवा

काजी बस्नेत/अन्तरङ्ग

गाउँशहर(लमजुङ)– नजिकको तीर्थ हेला भन्ने पुर्खाहरूको भनाई छ । यस्तै नियति भोाग्दै हुनुुहन्छ– बेसीशहर नगरपालिका– ३ को साबिक गाउँशहर गाविस– ५ हाल थुम्काडाँडामा स्थायी बसोबास हुनु भएका शताब्दी पुरुष रामबहादुर मालुवा, जस्को चिरपरिचित नाम रामे सार्की हो । (यो शब्दले हिजोआज जातमा उपहास गरेको पनि मानिनसक्ला तर पुरानो थर यहि थियो, उहाँलाई संसारले चिनेको पनि ।) 

        हातमा कोदालो थियो, बुहारीले धानको बिऊ राखेर आइछन कोदालो राख्न लागेको भन्दै हाम्रो कुराकानी हाम्रो शुरु हुन्छ । हाल एकसय तीन वर्षका उहाँको सय बर्ष पुगेपछि नयाँ दाँत आएका रहेछन् । १४ बर्षको उमेर देखिनै बासँग जुत्ता बनाउन थाले एकपटक लाहुरे हुन मन लागेर गोरखपुर पुगें लाहुरे नभएपछि घरमै बसेर बाउलाई साथ दिदै जुत्ता सिउने उद्योग चलाएको बताउनु हुन्छ ।

        पातालो शरीर गहुँगोरो वर्ढा, ठीकैको उचाई अर्थात कदका बाजे गाउँघरतिर हामीले देखेदेखि यस्तै लाग्छ भन्दै हुनुहुन्थ्यो  उहाँका छिमेकी मित्र रामजी बसौला । अझै पनि विवाह, ब्रतवन्ध आदिको भोज भतेर र पुजाआजामा जहाँपनि पुग्ने गरेको उहाँले बताउनु भयो । घरमा बसेको बेला बस्तु चराउने करेसाबारिमा काम गर्ने लगायत गाउँघरतिर भेटघाट र गफगाफमा प्रायः दिनहरू बिताउने गरेको भेटियो । उहाँले खानपानमा अमिलो बाहेक अझै सबैथोक खान्छु भन्नुभयो । बेसीशहर बजार पुगेर आउन जान तीन घण्टा लगाएर ओरालो एक्लै बृद्ध भत्ता लिएर बजारमा खाजा खान्छु र उकालो लाग्छु भन्नुभयो ।

        कान अलि कम सुन्ने तर सियोमा धागो उन्न सक्ने तेजिला आँखा प्रष्ट र कडा बोली फुर्तिलो शरिरका उहाँले भन्नुभयो, ‘मेरो उमेरमा ६/७दिन हिँडेर नेपाल(काठमाडौं) पुगियो । भारी बोकेर गएको बेला भने १३/१४दिन लाग्थ्यो खाने पकाउने सामान बोकेर हिड्नु पर्थ्यो बाटामा । बासलाई पाटिपौवा हुन्थ्ये हिउँदको समयमा ठुलो रुखको मुनि पकाइ खाइवरी सुतिन्थ्यो, बिहान झिसमिसेमै बाटो लागिन्थ्यो, यस्ता यात्रा कति भए कति उहाँले सुनाउँदै जानुभयो, मुक्तिनाथ दर्शन गर्न जाँदा १३/१४दिन भोटा नुनलिन जाँदा ७/८दिन लाग्थ्यो । आफ्ना कुराहरू थप्दैपछि तलबाट सामान आउन थालेपछि ठोरि नारायणगढ डुम्रे भन्सार तुरतुरे भोटेओडार हुँदै ४०/४५सालतिर त यहिसम्म बाटो खुल्यो सामान घरघरै आए हिजोआज त स्वर्गै भैहाल्यो नि ! अझ थप्देै मान्छेको जुनि खानालाई दुख गर्नुपरेको रहेछ आँत मार्नु हुँदैन । दुःखले (काम गरेर)मरिन्न यस्ता पुराना कुरासँगै आफ्ना नाति नातिना पलाँति खलातिसम्म देख्न पाएकोमा र सरकारले दिएको बृद्ध भत्ता पाएकोमा बेसरी खुशी लागेको बताउनु भयो ।

        आफ्ना बाले पनि जुत्ता बनाउनु हुन्थ्यो तर त्यो बेला कस्ले लगाउने मान्छेनै कम थिए । आफ्नो बाले मखण्डी पाराको जुता बनाएको देखेपछि आफुले तनमन दिएर छाला बटुल्ने पकाउने र जुत्ता बनाउँदै जाँदा राम्रै बनाउने भइएछ, जुत्ता बनाउन गाई, गोरु, मृग, घोरल, झारल आदिका छालाहरू खोजेर ल्यायो सुकायो । त्यसलाई पानिको कुवामा बर्राे मिसाएर गाडेर एक महिना तीन महिना छ महिना छाला हेरी र कति राम्रो बनाउने लामो समय राख्दा छाला बलियो हुने र कलर आउने रहेछ तर यसरी राख्दा बेला बेलामा पानी फेरि रहनुपर्ने फेरि हिजो आजको जस्तो घरघरै पानी कहाँ पाउनु अलि टाढै पधेरो कुवाबाट ल्याउनु पर्थ्यो । यसरी राखेको छाला निकालेपछि सुकाएर जुत्ता सिलाएर बेचेको कथा सुनाउँदै शुरु शुरुमा सुकी मोहोरमा बेचेको जुत्तापछि चौध सयसम्म बेचेको सम्झदै भन्नु भयो तर त्यस समयमा नेपालको कमै ठाउँमा मात्रै जुत्ता बन्थ्यो ।

        मैले सिलाएको जुत्ता पछिपछि लाहुरेहरूले लाहुरसम्म पुर्याए । त्यतिबेला केही जातमा छालाका जुत्ता लगाउन हुन्न भन्ने थियो । गाउँका जिम्मल मुखिया ठूलावडाहरूले पनि बिस्तारै जुत्ता लगाउन थाले पछिपछि बाटो खुल्यो सामान बजारतिर आउन थाले मिसिनले बनाएको सस्तो राम्रो पाइन थाले गाउँघर तिर कच्चापदार्थ पनि पाइन छोड्यो । त्यसैले, पछि त्यो पेसा बाध्य भएर छोड्नु पर्यो तर मैले बनाएको जुत्ता जुगै भरी हुन्थे, आज बजारमा आएका सबै हेर्दा राम्रा तर नक्कली छन सायद शहर बजारतिर भएको भए यो व्यवसाय छोरा नातिले पनि गर्थे होलान । हामी गाउँमा बस्ने मान्छेलाई कसैलेपनि कुने सल्लाहा साहेस्ता दिएनन पछि यसै छोडियो यो काम उहाँले सुनाउनु भयो ।

        पुरानो जमाना राणा– राजाको समय हामी जस्ता गरिब दुःखी र तल्लो जात भनेपछि अहिलेको जस्तो सजिलो थिएन । हलो जोत्ने भारी बोक्ने मेलापात गरेर जीवन गुजारा गर्नु पर्थ्यो, फुर्सदको बेला म जुत्ता सिलाउँथे । पछि सबैभाइ छुट्टियौं । त्यो जमानामा जुत्ता किन्ने पनि कमै थिए त्यहिं माथि छालाको जुत्ता भन्थे । पछि छोराले खान नपुग्ने भएपछि  हलो जोत्ने भारी बोक्ने तिर जाने निर्णय गर्यो, त्यतै लागियो । हामी तीन दाजुभाइ म जेठो, बुढी भाइबुहारीहरू सबै बिते । म जेठीका तीनवटी छोरी जन्मेपछि कान्छी ल्याएँ । त्यसपछि दुबैले छोरा पाए । दुईवटा छोरा र तीनवटी छोरीहरू छन । १२ जना नाति नातिना सबै आ–आफ्नो बाटो लागेका छन् । को कता पुगे पुगे, अहिले म जेठीतिरको छोरासँग बस्छु पलाँतिहरू पनि छन् । यिनीहरू पनि यतै ज्याला मजदुरी गर्छन कुनै नातिहरू विदेशतिर पुगेका छन । खै कसो कसो गरेका छन् उती मेसो भएन । मलाई यहि छोराले पालेको छ ।

        उहाँलाई जिन्दगीमा अनुभूति गरेको सुख, दुःखका घट्नाका बारेमा गरिएको जिज्ञासामा सुख त कहिले भयो होला र दुःखै दुःख भए तर नयाँ दाँत आउँदा र बृद्धभत्ता पाएको दिन बेसरी खुशी लाग्यो । अझैपनि भएको जग्गा जमिनको अन्नपातले घरमा दुई तीन महिनालाई खान पुग्छ, बाँकी सबै बेसाएर खानुपर्छ ।

        अझै आफ्ना पुराना कुराहरू सम्झेर मिठा मिठा गफ गर्न त मन लाग्छ तर धेरै कुराहरू मनमा आउछ तर एकक्षणमै बिर्सने हुँदोरहेछ तपाईहरू आउनु भयो, बेसरी खुशी लाग्यो भन्नु भयो । आफ्ना मसिना दाँद देखाउँदै अझै मकै खान्छु भन्नु भयो । आज यस १०३ बर्षका बाजे भेट्ने रहर पूरा गराई दिनुहुने मित्र रामजी बसौला सरलाई मुरीमुरी धन्यवाद ! एउटा युग पार गरेका रामबहादुर मालुवा बाजेको सु–स्वास्थ्य र दीर्घायुको कामना नजिकको तीर्थ हेला हुन्छ । एक सय बर्ष पार गरेका बा–आमाको आशीर्वादको अवसर कमै मान्छेलाई मिल्छ ।


No comments:

Post a Comment