कोरोना अपडेट : नयाँ म्युटेसन, जीत्ने दर हालसम्मकै उच्च, खोपमा पनि राजनीति ? - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 21, 2021

कोरोना अपडेट : नयाँ म्युटेसन, जीत्ने दर हालसम्मकै उच्च, खोपमा पनि राजनीति ?

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– नेपालमा कोरोना भाइरस(कोभिड– १९)को नयाँ भेरियन्ट फेला पर्ने, जीत्ने दर उच्च हुने र यसको रोकथामको दरिलो उपाय भनेको खोप हुँदाहुँदै पनि त्यसको अझै सुनिश्चित नभएको अवस्था कायमै छ ।


 
        जम्मा ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ७ गते बताएको हो । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 

        मन्त्रालयका अनुसार वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा डेल्टा भेरियन्ट पुष्टि भएको हो । तिनै नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेशन भेटिएको हो । 

        नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू बढी संक्रामक र सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा स्वास्थ्यप्रति जिम्मेवार हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गर्दै आएको छ । 

        यसैबीच, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार १३० संक्रमित निको भएका छन् ।  यो हालसम्मकै निको  हुने दर ८९.९ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै, सोही अवधिमा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका ११ वटा जिल्लामा असार ७ गते १–१ जना मात्रै कोभिड– १९ संक्रमित थपिएका छन् । एकमात्र संक्रमित थपिनेमा ताप्लेजुङ, म्याग्दी कपिलवस्तुलगायतका ११ वटा जिल्ला छन् । धनकुटा भोजपुर लगायतका २३ जिल्लामा आज १ भन्दा बढी १० जनाभन्दा कम संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले मुलुकभरका १९ जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा कम रहेको छ । १८ जिल्लामा ५ सयभन्दा कम रहेको र अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छन् । 

        यसैगरी उक्त अवधिमा देशभर ४६ संक्रमितको मृत्यु भएको छ । मृत्युदर १.४१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  

खोपमा पनि राजनीति ?

        नेपालमा खोप आउने जेजति हल्ला भए पनि ती विषयमा अहिलेसम्म खासै प्रगति भएको छैन । नेपालले केही हप्ताभित्र पाउन सक्ने खोप कोभ्याक्स कार्यक्रमको केही लाख डोजमात्रै हो । आजका दिनसम्म अमेरिका, बेलायत, रसिया वा अन्य मुलुकबाट जे जति खोप किन्ने तयारी छ भन्दै मिडियाबाजी गरिएको छ, ती सबै नेपालको ‘चाहना’ मात्र भएको तर खोप किन्न ठोस प्रक्रिया शुरुसम्म पनि भएको पाइदैन । यसैले पनि खोपमा पनि राजनीति चलेको भन्न असान्दर्भिक हुँदैन ।

        मुलुकमा राष्ट्रपतिबाट भएको ‘खोप कूटनीतिक’ सक्रियता, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीले केही दिन अघि बोलेको सुन्दा हामीलाई लागेको थियो कि, अब एकाध महीनाभित्रै सबै नेपालीले खोप पाउँदैछन् भन्ने विश्वास जागेको थियो र छ पनि ।

        प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि सबै नेपालीलाई खोप लगाइसक्ने भन्दै गर्नु भएको बाचा एकपटक होइन, पटकपटक व्यक्त भएको हो । उहाँले सीसीएमसीको बैठकलाई सम्बोधन गर्दा चीनसँग ४० लाख खोप किन्ने निर्णय भइसकेको बताउनु भएको छ । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १५ दिनमा हुन्छ भनेको ‘ब्रेक थ्रु’ डेढ महीना बित्दा पनि हुनसकेको छैन । 

        नवनियुक्त परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीले पद वहाल गरेपछिपका आश्वासन पनि कम मीठा देखिदैनन् । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको केही महीनाभित्रै सबै नेपालीलाई खोप लगाइदिने दाबी छ । परराष्ट्रमन्त्री रघुवीर महासेठले झण्डै एक करोड डोज खोप किन्न लागिएको दाबी गर्दै दशैं अगाडि सबै नेपालीलाई खोप दिइसक्ने बताउनु भएको छ ।

        त्यतिमात्र हैन जोन्सन एण्ड जोन्सनबाट ५० लाख डोज खोप किन्ने, चीनबाट ५० लाख डोज खोप किन्ने, अमेरिकाले पनि लाखौं डोज खोप दिने तथ्यांक उच्च सरकारी अधिकारीहरूबाट सार्वजनिक हुँदै आइरहेको हामीले सुन्दै, देख्दै आएका छौं । 

        तर, नेताहरूले सार्वजनिक गरेका भनाई र खोप खरिद प्रक्रिया बीचको तीतो यथार्थमा ठूलो खाडल भेटिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अंग्रेजी भाषामा असार ३ गतेमात्र जारी गरेको विज्ञप्ति पनि एक प्रमाण हो । विज्ञप्तिमा चीन मात्रै नभई सबै मुलुकसँगै नेपाललाई पनि खोप दिन आग्रह गरिएको भन्दै खोपका विषयमा आएका जानकारीहरू अनुमानमात्र भएको उल्लेख छ ।

        प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले चीनसँग ४० लाख डोज खोप किन्ने निर्णय भएको बताएपनि अहिलेसम्म नेपाल सरकारले काठमाडौंस्थित चिनियाँ दूतावास वा खोप निर्माता कम्पनीलाई यसबारे औपचारिक जानकारी नगराएको स्रोतको दावी छ ।

        नेपालले आफ्नै पैसा खर्चेर भारतको सिरम इन्ष्टिच्युटसँग १० लाख डोज मात्र किनेको हो भने नेपालले अहिलेसम्म ठूलो संख्यामा पाएको खोप भारत, चीन र कोभ्याक्स कार्यक्रमबाट प्राप्त अनुदान मात्रै हो । स्रोतका अनुसार अन्य मुलुकको तुलनामा नेपालले खरिद प्रक्रिया नै ढिलो शुरु गरेका कारणले गर्दा नेपाल धेरै महीनासम्म ‘पर्खाइको सूची’मा बस्नुपर्ने स्थिति सिर्जना भएको छ ।

        यसअघि ३ लाख ४८ हजार डोज खोप उपलब्ध गराएको कोभ्याक्सबाट करिब सोही परिणाममा प्राप्त हुनेछ । कोभ्याक्स कार्यक्रम अन्तर्गत नै नेपालले अमेरिकाबाट केही लाख डोज खोप पाउन सक्छ ।

        जानकारहरू भन्छन्, नेपालले विभिन्न युरोपियन मुलुकलाई अनुदानमा खोप दिन पत्र पठाए पनि त्यहाँबाट सीधै नेपाललाई खोप उपलब्ध हुने सम्भावना ज्यादै न्यून छ । 

No comments:

Post a Comment