अन्तरङ्ग सम्वाददाता
भूलभूले(लमजुङ)– लमजुङमा बढ्दो कोरोना संक्रमणको प्रकोपलाई रोक्न एक गाउँपालिकाले अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिकाले वडानं– ७ को ङादी गाउँमा अक्सिजन सहित ५ बेडको कोभिड– १९ अस्थायी अस्पताल जेठ २८ गते सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपको रोकथाम नथा नियन्त्रणका लागि भुलभुले स्थित स्वास्थ्य चौकीलाई नै तत्कालका लागि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने गरी तयारी गरेको गाउँपालिकाले जनाएको छ । गाउँपाकिलामा कोरोना संक्रमित विरामीको चापलाई मध्यनजर गर्दै उपचारमा सहज होस् भन्ने हेतुले कोभिड अस्पताल सञ्चालन गरिएको उक्त गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले संक्रमितलाई उपचारमा सहज स्थिति बनाई राख्न अक्सिजनसहितको बेडको व्यवस्थापन गरेको हो । उहाँले भन्नुभयो, ‘तत्कालका लागि पाँच बेडको अस्पताल शुरु गरेका छौं, बिरामीको चापलाई हेरेर केही दिनमै पाँच बेड थप गरी १० बेडको बनाउने योजनाका साथ काम अघि बढेको छ ।’
विरामीको उपचार र व्यवस्थापनका लागि अक्सिजनको व्यवस्था, आइसोलेसन बेडको व्यवस्था भएको भुलभुले स्वास्थ्य चौकीका प्रमुख तथा अस्पतालका फोकल पर्सन आषिश परियारले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कोभिड अस्पतालमा कुनै पनि संक्रमित विरामी भर्ना गर्नु परेको अवस्था छैन । तर इमरजेन्सीका लागि तीन थान अक्सिजन कन्सन्ट्रेटर, स्यानीटाइजर मेशिनको व्यवस्था छ । उहाँले भन्नुभयो, ‘आइसोलेसन बेड थप्ने तयारी गरिएको छ भने अस्पतालमा ५ जना स्वास्थ्यकर्मी रहने प्रवन्ध गरिएको छ ।
पालिकाभित्रका कोरोना संक्रमितलाई एम्बुलेन्स आवश्यक परेको खण्डमा त्यसको निःशुल्क प्रवन्ध गरेका छौं पालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले पालिकाबासीहरूलाई कुनैपनि समस्या भएमा गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरेको जानकारी दिनुभयो । कोरोना संक्रमित मात्र नभएर अन्य विरामीलाई सेवा दिन पनि सवारी साधन तयारी अवस्थामा राखेको जनाएको छ ।
ताजा तथ्यांक अनुसार मस्र्याङदी गाउँपालिकामा संक्रमित संख्या २ सय १० रहेको छ । तीन जनाको दुःखद निधन भएको छ भने एक सय ३५ जनाले कोरोना जित्न सफल भएका छन् । त्यस्तै, ७२ जना सक्रिय संक्रमित छन् । पालिकामा आजनका दिनसम्म ५ सय ५२ जनाको पीसीआर परीक्षण र ८९ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।
No comments:
Post a Comment