अन्तरङ्ग सम्वाददाता
दुराडाँडा(लमजुङ)– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को संक्रमणका कारण निधन भएका एक ४२ वर्षीय व्यक्तिका बृद्ध आमा र श्रीमतीको साँझ बिहानको छाक बस्न थालेको छ । सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडाको लामीखेतमा अर्काको घरमा बस्दै आएका राजु केसीको निधनपछि उनकी दुवै आँखा नदेख्ने ७० वर्षीया आमा र ४२ वर्षीष श्रीमतीको छाक बस्न थालेको हो । केसीेको कोरोनाले गलाएपछि घरमै ढलेर तीन दिन अघि (जेठ १९ गते) घट्नास्थलमै निधन भएको हो ।
राजु केसी ७ वर्षअघि सुन्दरबाजर नगरपालिका– ३ को दुराडाँडा स्थित लामिखेतमा झरेर अर्काको घरमा बस्न थालेका हुन् । राजुको जन्म घर मध्यनेपाल नगरपालिका– १० को नेटा गाउँमा पर्दछ । केसीले लामीखेतमा झरेर त्यहाँ वरपर रहेका केही व्यक्तिका जग्गामा अधिया खेती गर्नुका साथै खेतीबाट फुर्सदको समयमा ज्याला मजदुरीको काम गरेर बृद्ध आमा ७० वर्षीया शिरमाया केसी र श्रीमती ४२ वर्षकी प्रमिला केसीको समेत पालन पोषण गर्दै आएको राजुका छिमेकी समेत रहेका सो वडाका सदस्य डम्बर गुरुङले बताउनु भयो ।
उहाँका अनुसार गरीबीकै कारणले गर्दा केसीले बिरामी हुँदा पनि स्वास्थ्य परीक्षण समेत गर्न सकेका थिएनन् । केसी ढलेर घट्नास्थलमै निधन भएपछि छिमेकीहरूले कोरोनाको आशंका गरी गाउँलेले सदगतका लागि शव छुन पनि अस्वीकार गरे । त्यसपछि उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान करिब ९.३० बजे ढलेका केसीको शव साँझमात्र नेपाली सेनाले उठाएर अन्तिम संस्कार गरेको थियो ।
राजुकी आमा सुन्दरबजार नगरपालिका– १ को कुन्छा निवासी उनका पहिलो पति भारतमा नोकरी गर्ने क्रममा उतैबाट विवाह गरी आएकी बताइन्छ । शिरमायाले यहाँ आएको केही समयपछि राजुका बाबुसँग दोस्रो विवाह गरेकी रहिछन् । तर शिरमाया भारतीय छोरी भएका कारण नेपाली नागरिकता बन्न सकेको रहेनछ । त्यसैले शिरमाया दुवै आँखा नदेख्ने अपाङ्ग हुनुका साथै एकल महिला र ७० वर्षीया बृद्धा भएर पनि सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत बञ्चित रहेको वडासदस्य डम्बर गुरुङले जानकारी दिनुयो । उहाँले भन्नुभयो, ‘ती बृद्धाको नागरिकता बनाउनका लागि आफू वडा सदस्यमा निर्वाचित भएदेखिनै निकै दौडधुप गरें तर नसकेर थाकेर बसेको हुँ ।’
प्रमिला पनि राजुकी दोस्री श्रीमती भएको बुझिएको छ । उनकी पहिलो श्रीमतीको दुई छोरी जन्मिएपछि राजुले प्रमिलासँग विवाह गरेका जानकारीमा आएको छ । प्रमिलातर्फ केसीको कुनै सन्तान छैनन् ।
यतिबेला राजु केसीको काजकृया संगोलको घर मध्यनेपाल नगरपालिका– १० को नेटामा बस्दै आएको उनका कान्छा भाइले गरीरहेको सुन्दरबजार नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपानेले जानकारी दिनुभयो ।
बृद्धा शिरमाया र प्रमिला केसीको चुल्होमा आगोसमेत नबलेको जेठ २१ गतेका दिन जानकारीमा आयो । त्यसपछि सुन्दरबजार नगरपालिका– ६ स्थित न्यूश्रेष्ठ इन्टरप्राइजेजका प्रोपाइटर मेनुका श्रेष्ठले ती सासु बुहारीलाई तत्कालका लागि राहत सहयोग गरेको जानकारी दिनु भयो । ती सासु बुहारीलाई तत्काल राहतका लागि एक बोरा चामल, तेल, दाल, चिनी, चना, आलु, नुन, चियापती, धुलो मसलासहितका आवश्यक खाद्यान्न सामग्री सहयोग पठाएको र ती सामग्री ती सासुबुहारी बसको ठाउँमा पुगेको श्रेष्ठले बताउनु भयो ।
यस बारेमा वडाध्यक्ष अमृत न्यौपानेसँग सम्पर्क गर्दा राजु अर्काको घरमा बस्ने गरेका हुन भन्ने सुनेको तर उनको परिवारको अवस्था ऐले नै खान नपाउने हो भन्ने नलागेको बताउनु भयो । उहाँका अनुसार त्यस्तो रहेछ भने तत्कालका लागि राहतको प्रवन्ध वडा कार्यालयले अन्य बजेट कटौती गरेर पनि गरिने छ । उहाँले भन्न्ुभयो, ‘ती सासु बुहारीका लागि दीर्घकालसम्म पालनपोषणको काम गर्नु पर्ने भएमा नगरपालिकासँग समन्वय गरेको योजना बनाएर त्यो काम गरिने छ ।’



No comments:
Post a Comment