आफ्नै वैधानिकता माथि प्रश्न उठेका बेला प्रधानमन्त्री ओली १७ पटक मन्त्रीमण्डल पुनर्गठन, ३ उपप्रधान सहित नयाँ मन्त्रीहरूलाई खुवाउनु भयो शपथ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 5, 2021

आफ्नै वैधानिकता माथि प्रश्न उठेका बेला प्रधानमन्त्री ओली १७ पटक मन्त्रीमण्डल पुनर्गठन, ३ उपप्रधान सहित नयाँ मन्त्रीहरूलाई खुवाउनु भयो शपथ

अन्तरङ्ग सम्वाददाता

काठमाडौँ– प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेर वैधानिकतामाथि प्रश्न उठेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नु भएको छ । प्रधानमन्त्रीले जसपाका महन्थ ठाकुर पक्षलाई समेट्दै मन्त्रिपरिषदमा हेरफेर जेठ २१ गते गर्नु भएको हो । स्थिरताको नारा दिएर सत्तामा पुग्नु भएका प्रधानमन्त्री ओलीले तीन वर्षमा १७ पटक मन्त्रिपरिषदमा फेरबदल गर्नु भएको छ भने ५९ मन्त्री फेरिएका छन् ।

        प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाउनु भएको छ । प्रधानमन्त्री ओलीले क्याबिनेटमा रहेका चारजना बाहेक बाँकी एमालेबाट मन्त्री भएका सबैलाई जिम्मेवारीबाट हटाउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराई सक्नु भएको छ । 

        नयाँ मन्त्री मण्डलमा अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले निरन्तरता पाउनु भएको छ । एमालेबाट रघुविर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

        राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिएर शपथ गराइएको छ भने जसपाबाट शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकबाल मियाँले वन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । 

        जसपाबाट चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री हुनुभएको छ ।

        गृह र रक्षा प्रधानमन्त्रीले आफैसँग राख्नु भएको छ । रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् ।

च्याखेमा मन्त्रीपद–

        प्रधानमन्त्री ओलीले आफूसँग राख्नु भएका मन्त्रालयमा आफ्नै दलका नेपालपक्षका नेतालाई तान्नका लागि रिजर्भमा राख्नु भएको बताइन्छ । अन्तिमसम्मको त्यो प्रयास सफल नभएमा आफ्नालाई उहाँले ती मन्त्रालयको विम्मेवारदिनु हुनेछ । 

काँग्रेसको भोट बैंकमा प्रहार– 

        ओली सरकारमा धनुषाले दुई उपप्रधान सहित तिन महत्वपूर्ण मन्त्रालय दिएर काँग्रेसको भोटबैंक मानिएको धनुषामा प्रहार गर्नु भएको छ । सिघ्र हुने मन्त्रीपरिषद विस्तारमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राजेन्द्र महतो उपप्रधान तथा क्षेत्र नं. ४ बाट निर्वाचित रघुविर महासेठ उपप्रधान हुनुभएको छ भने निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित जसपाका उमाशंकर अरगरिया मन्त्री बन्नु भएको छ । 

नेपालको इतिहासमा पहिलो पटक तराईबाट सर्वाधिक मन्त्री भएका छन् । 

साथ दिनेलाई मन्त्री पद उपहार–

        मन्त्री पाउनेमा महासेठ र महतो मात्रै हुनुहुन्न माधव नेपालको गुट छोडे बापत शेरबहादुर तामाङ र उषाकला राई पनि मन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई साथ दिए बापत दम्पतीले नै आलापालो मन्त्री हुुनु भएको छ । 

वरियता नमिलेपछि मन्त्रि पद त्याग गरेँ : त्रिपाठी

        स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताउनु भएको छ । ‘तर वरियता नमिलेको कारण म आफै हटेको हुँ योबारे धेरै बोल्न चाहन्न’ मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै भन्नुभयो । उहाँले सरकारबाट बिदा हुँदै गर्दा बाँकी खोप ल्याउने जिम्मेवारी पूरा गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफू मन्त्रीमा नरहे पनि भारतबाट रोकिएको कोरोना भाइरसविरुद्धको खोप दुई साता भित्रै आइपुग्छ ।’ त्यस्तै, उहाँले चीनबाट २० लाख डोज खोप खरीदको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । त्रिपाठीले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयमा सिस्टम बसाएकाले अब आउने मन्त्रिलाई काम गर्न सजिलो हुन्छ ।’

        मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिनु भएको छ । 

        परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्रुमाकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले विदा पाउनु भएको छ । 

        विदा हुनेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि हुनुहुन्छ । 

        त्यस्तै, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा हुनुभएको बताइएको छ । 

तीन वर्षमा १७ पटक मन्त्रिपरिषदमा फेरबदल–

        यो अवधिमा ओली स्वयं दुईपटक प्रधानमन्त्री बन्नुभएको छ भने झन्डै दुईतिहाइ बहुमतसहित शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले तीन वर्षपछि विश्वासको मतसमेत पाउन सक्नु भएको छैन । ओलीले वैशाख ३१ गते ठूलो दलको हैसियतमा दोस्रो पटक प्रधानमन्त्रीको सपथ लिनु भएको थियो भने आफ्नो कार्यकालमा उहाँले १६ पटक मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ ।

        आफू प्रधानमन्त्री भएको साढे तीन महिनापछि २०७५ जेठ १८ गते आफ्नो सरकारलाई पूर्णता दिनु भएको थियो भने २५ सदस्यीय मन्त्रिपरिषद बनाउनका लागि चारपटकसम्म विस्तार गर्नु भएको थियो । 

        २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे। प्रतिनिधिसभा विघटनको विरोधमा सरकारमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । 

        सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम २०७७ फागुन ११ गते गलत ठहर गरिदियो । त्यसपछि फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले अलग गराइदियो ।

        प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि उहाँले आफ्नो साथै सबै मन्त्री र राज्यमन्त्रीलाई शपथ गराउनु भएको थियो ।

        प्रधानमन्त्री ओलीले जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्नु भयो । त्यसको विरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उहाँले सोह्रौंपटक मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो । 

No comments:

Post a Comment