छात्रा उपर शिक्षकद्वारा भएको दुर्व्यवहारका बारेमा प्रजिअलाई तीनवटा मागपत्र बुझाइयो, यी पत्रका आधारमा कारवाही गर्न मिल्दैन : प्रशासन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 7, 2021

छात्रा उपर शिक्षकद्वारा भएको दुर्व्यवहारका बारेमा प्रजिअलाई तीनवटा मागपत्र बुझाइयो, यी पत्रका आधारमा कारवाही गर्न मिल्दैन : प्रशासन

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङको एक नमूना विद्यालयकी छात्रा उपर शिक्षकद्वारा भएको भनिएको दुर्व्यवहारका बारेमा प्रमुख जिल्ला अधिकारीलाई तीनवटा मागपत्र बुझाइएको छ । राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविको कक्षा– ८ मा अध्ययन गर्ने बालिका उपर दुर्व्यवहार भएको प्रति निष्पक्ष छानविन गर्न जेठ २४ गते माग पत्र बुझाईएको हो । तर ती मागपत्रका आधारमा कारवाही गर्न नमिल्ने प्रहरी प्रशासनको प्रष्टोक्ति रह्यो । 

        प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलको कार्यकक्षमा प्रहरी प्रमुख प्रनाउ गंगाबहादुर थापालाई उक्त माग पत्र बुझाउदै प्रजिअलाई बोधार्थ पत्र थमाउने काम गरिएको हो । राइनास नगरपालिकाका उपमेयर धनकुमारी गुरुङ समेत रोहवरमा हुनुहुन्थ्यो । दुई चरण गरी माग पत्र बुझाउने काम भैरव माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डे र जेष्ठ सदस्य कृष्णराज ओलियाले पहिलो चरणमा र दोस्रो चरणमा नगर बालसञ्जाल राइनास नगरपालिकाका सचिव गणेश चिलुवाल र नगर बाल अधिकार समिति राइनास नगरपालिकाका संयोजक निर्मला चिलुवालले गर्नु भएको हो ।

        विद्यालय व्यवस्थापन समितिबाट ‘घट्नाको पुनः अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरिएको’ छ भने नगर बाल अधिकार समिति र नगर बालसञ्जालद्वारा एकै विषय– ‘बालयौन दुर्व्यवहार सम्बन्धी विषयको उजुरी’को माग पत्र पेश गरिएको भन्ने मागपत्रमा उल्लेख छ । 

        विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले आफ्नो विद्यालयलका प्रअले आफ्नो पदीय मर्यादा नाघेर व्यवस्थापन समितिको निर्णय कुल्चने, विभिन्न वक्तव्यवाजीका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ताकेता गर्दा उल्टै वि.व्य.स. अध्यक्षलाई सार्वजनिक रुपमा अमर्यादित अपशब्द प्रयोग गरी दुर्व्यवहार समेत गरि वि.व्य.स.को वैठक पुस्तिका, छाप तथा लेटरप्याड समेत कब्जामा लिएको, शिक्षकलाई भड्काउने, विद्यालय अस्तव्यस्त बनाउने र पेनडाउन गर्ने जस्ता कार्य गरेको तर्फ पनि ध्यानाकर्षण गर्दछु भन्नुभयो । 

        ती पत्र तीनवटैको पेटबोलीमा प्रायः एकै खालको बेहोरा लेखिएको छ । ती पत्र बुझेपछि चारै पक्षबाट आ– आफ्ना भनाई राखिएको थियो । मागपत्रवालाहरूबाट राति तीन बजे प्रहरीलाई खबर हुन्छ, प्रहरी विहानै पुगेर आरोपिलाई पक्रिन्छ, जिल्लामा लग्छ तर दिउँसो तीन नबज्दै मेयरको गाडीमा सबैसँगै फर्किन्छन् । यो परिदृश्यले पीडितले न्याय नपाउने अवस्था सिर्जिएको देखिन्छ । पीडित, पीडक वा आरोप लगाउनेमध्ये अनुसन्धानका आधारमा दोषी देखिनेलाई कारवाही गरियोस् भनिएको छ । 

        माग पत्रवालाहरूले जाहेरी नै यही हो भन्ने दावी गरेका थिए भने प्रशासनकातर्फबाट यसलाई त्यो रुपमा लिन मिल्दैन, भोलि पीडितबाट जाहेरी आएको खण्डमा त्यो मिसिलमा मात्र यी रहन्छन् भनियो । 

        मागपत्र बुझ्दै प्रहरी प्रशासनकातर्फबाट आफ्नोतर्फबाट सफाई दिने काम भएको थियो । पाण्डे टिमको उपस्थितिमा भन्दा बालक र महिला टिमको प्रस्तुतिका चरणमा प्रजिअ र प्रनाउ खुल्नु भएको थियो । 

        प्रजिअ लुइटेलले तत्कालका लागि हिरासतमा राख्नु पर्ने कारण नदेखेको हुँदा फिर्ता पठाइएको हो, अन्तिम भइसकेको छैन, एक वर्षसम्म उजुरीको म्याद हुन्छ हामीले कारवाही गर्नका लागि आधार, प्रमाणको खोजीमा छौं, तपाईहरूको सहयोग चाहिन्छ भन्नुभयो । त्यस्तै, प्रनाउ गंगाबहादुर थापाले प्रहरीलाई खबर राती ३ बजे होइन, ६ बजे आसपासमा आएको हो, कारवाहीको किनारा भएको वा मिलापत्र गरिएको होइन, त्यस्तो भएको छैन र आरोपी व्यक्तिलाई पुरै सफाई दिएर पठाएको पनि होइन भन्नुभयो । उहाँले हामीले गरेका यस्ता प्रकृतिका अन्य घट्नाका बारेमा पनि हेर्नुहोस् के कसरी सम्पादन गरेका छौं ? त्यही दिनको पनि यस्तै अर्को केस पनि छ, दुवैको एकैपटक म्याद थप गर्नु भनेको पनि हुँ तर यो केसमा म्यादथपका लागि पठाउने आधार भएन, पीडितको शारीरिक, मानसिक अवस्था ठीक भएको बुझियो र पटक पटक एकै कुरा दोहोर्याउने काम गरिन् र मउपर त्यस्तो केही भएको होइन भनिरहिन्, उजुरी पनि परेन त्यसैले हामीले पीडकलाई हिरासतमा राख्ने आधार भएन, शंका नगुर्न होला, गर्ने ठाउँ दिन्नौं भन्नुभयो ।

        त्यस अवसरमा राइनास नगरपालिकाका महिला विकास निरीक्षक सीता गैरेले कर्मचारी भएर पनि दमदार प्रस्तुति राख्नु भएको थियो । उहाँले आफ्नो महिला विकास कार्यालयमा समेत रहेको हालसम्म काम गरेको २८ वर्षको अनुभव सुनाउँदै भन्नुभयो, विगतका यस्ता कतिपय केसमा मुद्दा दर्ता गर्न नमान्दा निकै मेहनत गर्नु परेको र बल्लबल्ल दर्ता भएपनि मुद्दालाई कमजोर बनाइदिने गरिदा पीडक उम्कने र पीडितले न्याय नपाएका उदारहण प्रसस्त छन् र ऐले पनि त्यही नियति दोहोरिने देखियो त्यस्तो नहोस् भन्ने हो भन्नुभयो । 

        त्यसैगरी, उपमेयर धनकुमारी गुरुङले आफूले यो पदमा निर्वाचित हुनु अघि महिला र बालबालिकाको क्षेत्रमा महिला आपसी सहयोग केन्द्र, लमजुङको पटक पटक अध्यक्ष भएर यस्ता धेरै घट्नाको साक्षी रहेको उदाहरण प्रस्तुत गर्नु भयो । बाबु मरे आधा र आमा मर्दा पक्का टुहुरो हुन्छ भन्ने पुर्ख्यौली भनाईको समेत स्मरण गर्दै पीडित बालिकाको जन्म दिने आमा साथमा नभएको, उनलाई आफूले पनि भेटेको तर उनको अनुहार उज्यालो देखिदैन, भोलिका दिनमा डिप्रेसनमा जानसक्ने अवस्था छ, ऐले उनी अब काठमाडौंमा पढ्ने हुँ भन्ने थालेकी छन्, यस्तो अवस्था कसरी सिर्जियो ? यसतर्फ विशेष ध्यान दिन जरुरी छ उपमेयर गुरुङले भन्नुभयो । यतिबेला त्यहाँका अभिभावकहरूले छोरीहरू सुरक्षित नभएको हुँदा हामी पढाउन्नौं भन्न थालेको र आक्रोशित आन्दोलित अवस्था छ यसतर्फ पनि यहाँहरूको ध्यानाकर्षण गर्दछु उपमेयर गुरुङले भन्नुभयो । 

        त्यसपछि, आफ्नो अन्तिम भनाई राख्ने क्रममा प्रनाउ थापाले घट्ना माघफागुन तिर भएको त्यसबारेमा पीडित बालिकाले बैशाखमा आफ्ना साथीहरूलाई सेयर गरेको र ऐले सार्वजनिक भएको बुझिन्छ, पीडकलाई हिरासतमा नराख्देनमा अनुसन्धान सिद्धियो भन्ने होइन, एक वर्षसम्म उजरीको म्याद रहन्छ भन्नुभयो । तर आफ्नो यही भनाई अर्थात् ‘घट्ना माघफागुनमा घटेको’लाई प्रमाणका रुपमा लिन किन नमिलेको हो ? त्यो भने प्रनाउ थापाले खुलाउनु भएन । 

        त्यस क्रममा उठेका तीन प्रश्न भने अनुत्तरित नै रहे, पहिलो थियो प्रहरीलाई विहान छ बजे आएको भनिएको खबरमा के बताइएको थियो ? पीडित भनिएकी बालिकाले पटक पटक एकै कुरा दोहोर्याउने गरिन्, यस्को अर्थ उनलाई यही मात्र भन्नु भनेर घोकाउने काम त गरिएको होइन ? तेस्रो, त्यस विद्यालयको पठनपाठनको काम अब के कसरी अघि बढ्ला ? योसँगै यस घट्नाले अर्को पनि संगिन प्रश्न उब्जिएको छ कि ? विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यपक को ठूलो वा बलियो हुन्छ ?  

        भैरव मावि भौतिक रुपमा जिल्लाकै नमूना र गौरव मानिन्छ । त्यो विद्यालय भवन ६० कोठे भवन हालै मात्र निर्माण गरिएको छ । त्यसलाई शैक्षिक गुणस्तरका हिसावले पनि नमूना बनाउने भनिएको बेलामा घटेको घट्नाले धेरैलाई विक्षिप्त बनाएको छ । 

        समाचारको साथमा विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालय रहेको जनप्रतिनिधिहरू, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा शिक्षक अभिभावक संघको उपस्थितिमा गरिएको निर्णय संलग्न छ । 

No comments:

Post a Comment