अन्तरङ्ग सम्वाददाता
तार्कुघाट(लमजुङ)– लमजुङको स्थानीय क्षेत्रमा कोरोनाको दोस्रो प्रकोपका क्रममा रोजगारी गुमाएका विपन्न ३० परिवार राहत वितरण गरिएको छ । राइनास नगरपालिका– ८ तार्कुघाटमा माइती भएकी चेली जया मानन्धर गुरुङको सहयोगमा राहत वितरण गरिएको हो ।
तार्कुघाटमा स्थानीयवासी समाजेसेवी इञ्जिनियर राजेन्द्रकुमार श्रेष्ठको संयोजनमा राहत वितरण कार्य जेठ २७ गते गरिएको हो । साविक तार्कुघाट गाविस– १, २, ३, ४, ८ र ९ वडाका रहेको मजदुर परिवारलाई तार्कुघाट निवासी समाजसेवी स्व. रामलाल मानन्धरकी सुपुत्री जया मानन्धर गुरुङ र उहाँका श्रीमान ज्ञानु गुरुङले सो सेवा गर्नु भएको हो । हाल इजरायलमा रहनु भएका जयादम्पत्तीले सो कार्यका लागि ४५ हजार रुपैयाँ सहयोग पठाएको राजेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सोही रकमले आफ्नो संयोजनमा खाद्यान्न खरिद गरी वितरण गरिएको हो ।
कोरोना कहरका कारण रोजगारी गुमाएर साँझ विहानको छाक बसेका स्थानीय क्षेत्रमा बसोबास गरिआएका विपन्न ३० परिवारलाई राहत वितरण गरिएको हो । सो अवसरमा ४ जना भन्दा बढी सदस्य रहेका परिवार भएका १० परिवारलाई प्रति परिवार ३० केजी चामल, २ केजी दाल, १ लि तोरीको तेल, १ केजी नुन र १ हात धुने सावुन प्रदान गरिएको राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार एकदेखि चार जनासम्म परिवार संख्या हुने २० परिवारलाई प्रति परिवार २० केजी चामल, १ केजी दाल, १/२ लिटर तोरीको तेल, १ केजी नुन र १ हात धुने सावुन वितरण गरिएको राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उक्त राहत नाइनास नगरपालिकाका कार्यपालिका सदस्य विष्णुमाया धिताल र धु्रव रानाभाटले वितरण गर्नु भएको हो ।
दिनहुँ दैनिक ज्यालादारीको काम गरेर छाक टार्दै आएका ती परिवारले महिनादिनभन्दा बढीको बन्दाबन्दीमा काम गर्न नपाएपछि चुल्होमा आगो बल्न छाडेको र कुनै दिन आधा पेट खाएर बस्ने गरेको बताउँदै राहत पाएपछि उनीहरूले खुशी व्यक्त गरेका छन् ।


No comments:
Post a Comment