अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) का नयाँ संक्रमित संख्या आज पनि एक अंकमै सीमित भएको छ । आज असार १५ गते जिल्लामा एकअंकको सबैभन्दा उचाई अर्थात ९ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज कोरोनाका कारण निधन हुनेको खबर छैन ।
लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपको संक्रमणका क्रममा आज पुष्टि भएकाहरूमा बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकाका ४/४ जना छन् । त्यस्तै, मर्स्याङ्दी गाउँपालिका– ९ का ४० वर्षका पुरुष संक्रमित भएका छन् ।
आजका संक्रमितमा कम उमेरमा १५ वर्षीया बालिका र अधिक उमेरमा ६२ वर्षीया महिला छन् । उनीहरू क्रमशः मध्यनेपाल नगरपालिका– १ र बेसीशहर नगरपालिका– ८ का हुन् । बेसीशहर नगरपालिका– १ का २५ वर्षका पुरुष, वडानं– ४ का ५२ वर्षीया महिला, वडानं– ७ का ५३ वर्षीया महिला छन् ।
यसैगरी, मध्यनेपाल नगरपालिका– १ का १५ वर्षीया बालिका, वडानं– ६ का ६१ वर्षका पुरुष तथा २९ र ५० वर्षका महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज सक्रिय संक्रमितको संख्या जिल्लाभर २३१ जना रहेको छ । हालसम्म एक हजार ६५० जनाले कोरोना जित्न सफल भएका छन् । जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या २७ पुगेको छ ।
स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेको यो चौथो दिन हो । तर एकअंकको सबैभन्दा उचाईमा भने आजकै दिन ९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि असार १२ गतेका दिन ३ जनामा तथा १४ गतेका दिनमा ६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो ।

No comments:
Post a Comment