विद्युत प्राधिकरण र उपभोक्ता संस्था बीच जुधाई : मार खेप्दै उपभोक्ता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 25, 2021

विद्युत प्राधिकरण र उपभोक्ता संस्था बीच जुधाई : मार खेप्दै उपभोक्ता

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङ जिल्लाका विद्युतका उपभोक्ताहरू विद्युत प्राधिकरण र विद्युत उपभोक्ता संस्था बीचको जुधाई मार खेप्दै आएको खुलासा भएको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाले लमजुङ उद्योग वाणिज्य संघका पदाधिकारीहरू र जिल्लाका पत्रकारहरूका बीचमा गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्य असार १० गते उजागर भएको हो । 

        लमजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उनले दुईपेज लामो विज्ञप्तिमार्फत जिल्लामा विद्युतको विद्यमान स्थितिका बारेमा जानकारी दिदै विद्युत प्राधिकरणको रवैयाका कारण उपभोक्ताले सास्ती खोप्नु परेको बताउनु भयो । २०५३ सालमा चार हजार ग्राहक र ४७ वटा ट्रान्सफरमरबाट कार्य शुरु गरेको संस्थाले ऐले ३१ हजार सेवाग्राही र १८७ वटा ट्रान्सफरमरबाट काम गरिरहेको छ । यो काम संस्थाले अन्यको सहयोग अनुदान आदिबाट नभई आफ्नै क्षमताले गरेको दावी अध्यक्ष घिमिरेले गर्नु भयो । उहाँले भन्नुभयो, ‘प्राधिकरणसँग स्रोत साधन, प्रविधि, प्राविधक आदि सबै छ, उसले चाहेमा जुनकुनै पनि समयमा समस्या समाधान हुन सक्छ तर प्राधिकरणले हामीलाई टेर्दैन ।’

        अन्य कुनै समस्या छैन, पछिल्ला दिनमा १०– ९० का आधारमा समस्या समाधानको पहल भइरहेको बताउँदै आध्यक्ष घिमिरेले संस्थाको नवीकरण देखि निर्वाचनसम्मका सबै समस्या समाधानतर्फ अघि बढेको दावी गर्नु भयो । उहाँले गत चैत मसान्त भित्र हामीले निर्वाचन सम्पन्न गर्ने भनेकोमा कोभिड– १९ संक्रमण बढेका कारण यो काम गर्न नसकिएको हो, हामी निकट भविष्यमै त्यो काम गर्न तयार रहेको जिल्ला प्रशासनलाई समेत जानकारी गराएको घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘एक साता मात्रैको रेकर्ड भिडाएर हेरौं कस्का कारणले विद्युत लाईन बढी जाने आउने भएको छ, एक मिनेटमै विग्रिएको बन्ने त हुँदैन नि !  यो हेरियो भने समस्या पनि पत्ता लाग्ने र धेरै हदसम्म पनि निराकरण हुन्छ ।’ उहाँको भनाईको आसय थियो, प्राधिकरणको उपभोक्त संस्थालाई हेर्ने दृष्टिकोण ठीक छैन र उसैले समस्या बढाउने काम गरेको छ । 

        पछिल्लो दुई साता यता जिल्लामा ‘लमजुङ उज्यालो अभियान’ सञ्चालन गर्दै केही युवाले फेसबुकमार्फत प्रपोगण्डा गर्ने, प्रशासन सहित स्थानीय तह र विद्युत उपभोक्ता संस्थालाई ज्ञापन पत्र बुझाउने, व्यङ्ग्यका अनेक कार्य गर्न थालेपछि लमजुङ विद्युत उपभोक्ता संस्था उक्त अन्तरक्रिया कार्यक्रम गर्न बाध्य भएको हो । 

गत फागुन २३ गते तीन महिनाको अवधि दिएर निर्वाचन सम्पन्न गर्न र अन्य समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको र त्यो अवधि जेठ २२ गतेनै सकिएको हुँदा किन लाज पचाएर कुर्चिमा बसिरहेको ? प्राधिकरणलाई संस्था नबुझाएर ? भन्ने अन्तरक्रियाका अधिकांश सहभागीहरूको भनाई थियो । 

        लमजुङ उद्योग वाणिज्य संघ(लउवा संघ)का अध्यक्ष गुणराज सिलवालले हिजोका दिनमा वाणिज्य संघकै पहलमा जिल्लालाई लगानी मैत्री बनाएका कारणले विद्युतको सहज उत्पादन सम्भव भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘समस्याको बुँदागत सूचिकृत गरी समाधान गर्न पहल गर्नु पर्छ, त्यसका लागि हामी कस्ले के गर्नु पर्ने हो जिम्मेवारी बहन गर्न तयार छौं ।’ संघकै निवर्तमान अध्यक्ष राजेश थापाले आफ्नो अध्यक्ष कार्यकालमा चार वर्ष अघि यही समस्यालाई लिएर लउवा संघले सार्वजनिक सुनुवाई स्वरुपको कार्यक्रम गर्दा पनि उपभोक्ता संस्थाका अध्यक्षले आजकै जस्तो ‘आफू सचेत भएको’ बताएको स्मरण गर्दै आज चारवर्ष पछि पनि उही कुरा दोहो¥याउने ? यस्तो कहिले सम्म ? भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

        त्यस्तै, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले यो गर्न नसकिने काम होइन, दुई वटा काम गरौं, पहिलो समस्याको सूचि बनाऔं,  दोस्रो समाधानको उपाय लेखौं र त्यसको समाधान गर्ने स्रोत व्यक्ति खोजेर तिमीले नगरी सुख पाउन्नौ भनौं कसरी काम हुन्न ? भन्नुभयो । पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीन कुइँकेलले मनाङे चौताराभन्दा उत्तरको क्षेत्र अर्कै प्रदेश जस्तो अनुभूति हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘माथि भएको एक जना कर्मचारीले पनि छाडेको एक वर्ष बढी भयो, अर्को भर्ना गरिएको छैन । तीन दिनसम्म पनि विजुली नआएको रेकर्ड पनि छन् यस्तो नियति कहिले सम्म भोग्नु पर्ने हो ?’ 

        पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष एवम् स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडीले विद्युत प्राधिकरणको यहाँ कार्यालय हुँदाहुँदै यस्तो महत्वको विषय उठान भएको कार्यक्रममा त्यो कार्यालयका प्रमुखलाई नबोलाउनु फेरि गोलमटोलमै टार्न खोज्नु हो भन्ने देखिएको बताउनु भयो । उपभोक्ता संस्थामा हामीले धेरै अघि देखि उठाएको पारदर्शीता, सुशासन, वैधानिकताहरूका प्रश्नका वाईप्रोडक्टको रुपमा सिर्जित विद्यमान समस्याहरू हुन्, समाजमा आफ्नो अस्तित्व छ भन्ने ठान्नेले लाज मान्नु पर्छ कि पर्दैन ? उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लमजुङ जस्तो उद्योग प्रायः शून्य रहेको स्थानमा झण्डै डेढ सय व्यक्तिलाई रोजगारी दिने गरी तीन वर्ष अघि नै सञ्चालनमा ल्याउने भनिएको उद्योग विजुलीकै कारणले सञ्चालन भएको छैन, यो भन्दा लाजमर्दो स्थिति अर्को के हुन्छ ? र अझै पनि पदमा बसिरहने ?’ 

        पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले यस्तो गोलमटोल वक्तव्य भन्दा बुँदागत भएको भए बेस हुने सुझाब दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्युतको अनियमितताले यति विद्युतीय सामग्रीमा नोक्सान भएको छ, अब त क्षतिपूर्तिको अनिवार्य प्रवन्ध गर्नु पर्छ ।’

        सो अवसरमा युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीले विद्यामान परिस्थितिले अनलाइन कक्षा सञ्चालन गर्नु पर्ने स्थिति सिर्जना भएको तर आधा घण्टाको एउटै कक्षामा पनि ५, ७ पटक विद्युत जाने आउने गरेपछि, यो कार्य के कसरी सम्भव हुने हो ? आवश्यक प्रवन्ध गरियोस् भन्नुभयो । उहाँले प्रश्न गरे, ‘हामीले एक दिन ढिला हुँदा पनि जरिवाना तिर्नु पर्ने तर हामीले मार खेपेको क्षतिपूर्ति कस्ले दिने हो ?’

        कार्यक्रममा प्रश्न उठाउनेहरूमा लमजुङ मस्र्याङ्दी युवा क्लवका अध्यक्ष जुन तामाङ, लउवा संघका महासचिव प्रदिप बस्नेतलगायत हुनुहुन्थ्यो । 

        अब एक साता भित्रै प्राधिकरणका प्रतिनिधि, जिल्ला प्रशासन, राजनीतिक दलका प्रमुख सहित आजका सबै सहभागी भएर अर्को एक कार्यक्रम गरी यसको समाधान खोज्ने निर्णय भएको लमजुङ उज्यालो अभियानका एक अगुवा त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो बीचमा उपभोक्ता संस्थाले समस्या र समाधानका उपाय सहितको बुँदागत सूचि तयार गरी आउँदो भेलामा पेश गर्ने निर्णय भएको छ ।’  

No comments:

Post a Comment