‘वास्तविक भोको पेटका लागि खाद्यान्न अभियान’द्वारा भोकोपेट रहेका थप छ परिवारलाई खाद्यान्न वितरण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 8, 2021

‘वास्तविक भोको पेटका लागि खाद्यान्न अभियान’द्वारा भोकोपेट रहेका थप छ परिवारलाई खाद्यान्न वितरण

अन्तरङ्ग सम्वाददाता

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्शले थालनी गरेको ‘वास्तविक भोको पेटका लागि खाद्यान्न अभियान’द्वारा भोकोपेट रहेका थप छ परिवारलाई खाद्यान्न जेठ २५ गते वितरण गरिएको छ । सो अभियान अन्तरगत सहयोग रकम आउने क्रम आज पनि जारी नै छ । सो अभियान अन्तरगत आजका दिनसम्म ६० हजार आठ सय ७५ रुपैयाँ संकलन भएको छ । 

उक्त अभियान अन्तरगत वास्तविक भोको पेट परेका परिवार पहिचान गरी ६ परिवारलाई सहयोग गरिएको सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रतिव्यक्ति जीरा मसिनो चामल १ बोरा, तोरिको तेल १ लिटर, आयो नुन १ किलो र दाल २ किलोका दरले एक परिवारलाई सहयोग गरिएको छ । आज त्यस्तो सहयोग पाउनु हुने परिवारमा सुन्दरबजार नगरपालिका– ३ र ४ दुराडाँडाका क्रमशः एक र दुई परिवार, वडानं– ६ र ७ का ३ परिवार गरी कुल छ परिवारलाई सहयोग गरिएको हो । 

यसअघि जेठ २२ गतेका दिन १५ परिवारलाई सहयोग गरिएको थियो । सो दिन सुन्दबजार नगरपालिकाको विभिन्न वडाका १३ जना, बेसीशहर नगरपालिका– ६ चण्डीस्थानका एक जना र दोर्दी गाउँपालिका– ८ का एक जनालाई सहयोग गरी सकिएको र माग पनि आइरहेको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भोलि पनि राहत वितवरण गर्ने कार्यक्रम छ । 

चेम्बरका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘उक्त अभियानमा सहयोग आउने क्रम जारी छ । आजका दिनसम्म सहयोग गर्नु हुने सम्पूर्ण परोपकारी भावनाका  महानुभावहरु सबैलाई संस्थागत तथा व्यक्तिगत रुपमा विशेष धन्यवाद ज्ञापन गर्दछौं ।’ श्रेष्ठले थप जानकारी दिदै भन्नुभयो कोभिडका कारण उत्पन्न परिस्थिति समान्य नहुदासम्म यो अभियान जारी रहने छ । 

No comments:

Post a Comment