अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा छिनछिनमा विद्युत जाने आउने समस्याले आक्रान्त भएका जिल्लाबासीको समस्या समाधान गरी विद्युतको अति अनियमिता चिर्नका लागि सदरमुकामका युवाहरूले जोडदार माग गरेका छन् । जिल्ला सदरमुकाम स्थित चार युवा क्लबले संयुक्त रुपमा र प्याव्सनको जिल्ला समिति तथा बालमनोविदले छुट्टाछुट्टै ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरणको जिल्ला स्थित लमजुङ विद्युत वितरण केन्द्रलाई असार १ गते बुझाएर त्यस्तो माग गरेका हुन् ।
बेसीशहर स्थित युवाक्लवहरूको त्रिवेणी युवा कल्व, लमजुङ मर्स्याङ्दी युवा कल्व, बेसीशहर युथ सोसाइटी र आदर्श युवा कल्वका प्रदाधिकारीबीचको छलफलले उक्त ज्ञापन पत्र बुझाएको हो । क्लबका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय, विद्युत वितरण केन्द्रका अनिरिक्त बेसीशहर नगरपालिका र लमजुङ विद्युत उपभोक्ता संस्थामा पनि ज्ञापन पत्र बुझाएका हुन् । सो ज्ञापन पत्रमा ‘जिल्लामा विद्युत आपूर्तिको समस्या र परिस्थितिलाई मध्यनजर गर्दै दिनहूँ छिनछिनमा बत्ती जाने आउने समस्या, विगत लामो समयदेखि रहेको विदितै छ । सो सम्बन्धमा यसअघि पनि ज्ञापन पत्र बुझाएको स्मरण गराउँदै तत्कालै ठोस कदम चालेको समस्या समाधान गर्नु हुन सम्बद्ध प्रमुखहरूको पुनः ध्यानकेन्द्रित गराउँद छौँ ।’ भनिएको छ ।
लमजुङ जिल्ला भित्र करिव दुई सय मेघावट क्षमताको विद्युत उत्पादन र विद्युतमा मुलुककै धनी जिल्लाको रुपमा रहे पनि यहांँका उपभोक्ता सधैं गरिव चाल रहिरह्यो । यसमा नेपाल विद्युत प्राधिकरण र लमजुङ विद्युत उपभोक्ता संस्थाहरु एकले अर्कोलाई दोष थापर्दै उम्कने र उपभोक्तालाई सताउने काम भइआएको हुँदा यसको समाधान अबको साता दश दिन भित्रै नभएमा जुनसुकै कदम चाल्न पनि बाध्य हुने जानकारी गर्दछौं भनिएको छ ।
उक्त ज्ञपन पत्र त्रिवेणी युवा क्लबका अध्यक्ष सिजन श्रेष्ठको नेतृत्वमा बुझाइएको हो । उनको साथमा लमजुङ मर्स्याङ्दी युवा क्लबका अध्यक्ष जुन तामाङ, बेसीशहर युथ सोसाइटीका अध्यक्ष विशाल अधिकारी तथा आदर्श युवा क्लबका अध्यक्ष जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
यसैगरी, प्याव्सन जिल्ला समिति लमजुङका सचिव एवम् सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले पनि सोही बारेमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनु भएको छ । उक्त ज्ञापन पत्रमा भनिएको छ, ‘दैनिक दर्जनौं पटक आउने जाने विद्युतको समस्याबाट ग्रसित हामी उपभोक्ताको विषयमा सचेत रहेको आशयका साथ लमजुङ विद्युत उपभोक्ता समितिले निकालेको विज्ञप्ति अनुसार नेपाल विद्युत प्राधिकरणका कारण विद्युत नियमित नभएको आशय बुझिएकोले नेपाल विद्युत प्राघिकरण र लमजुङ विद्युत उपभोक्ता समिति बीच भएको सम्झौता अनुसार विद्युत नियमित गराई अनलाइन मार्फत सञ्चालन हुने कक्षाहरू सहज रुपमा सन्चालन गराउन सहयोग पुग्ने प्रवन्ध गर्न अनुरोध गर्दछौं ।’
त्यस्तै, जिल्लामा कार्यरत बालमनोविद विश्वविनोद घिमिरेले प्रमुख जिल्ला अधिकारीलाई लेख्नु भएको ज्ञापन पत्रको विषयमा ‘मेरो सानो बालकलाई बिजुलीको बारेमा सम्झाउने तरिका बताईदिनु हुन बारे’ उल्लेख गरिएको छ ।
उनले ज्ञापन पत्रमा लेखेका छन्, ‘म सानो ८ बर्षको बालकको अभिभावक रहेको र मेरो सानो बाबु कक्षा २ मा अनलाईन मार्फत अध्ययनरत रहेको र विद्युतको कारण उसको पढाई नियमित हुन नसकेको र कैयौ पटक उसको कक्षाहरू बिजुलीको जाने आउने कारणले छुट्ने गरेको अवगत गराउँछु । (आजको दिनमा नै गनेर उसको कक्षा अवधिमा ७ पटक आउने जाने गरेको र यो पत्र तयार पार्दा पनि विद्युत अबरुद्ध भएको) यो अवस्थामा उसलाई बिजुलीको बारेमा सम्पूर्ण कुरा अबगत गराए पनि निजको पढाई छुटेको कारण उसमा मानसिक समस्या हुने, नैराश्यता हुने, पढाई छुटेकोमा पछुतो हुने समस्यालाई म एक अभिभावक भएका नाताले सम्झाउन नसकेको अवगत गराउँदछु । ८ बर्षको बालकलाई न उपभोक्ता समितिको काम बारे थाहा छ, न त उसलाई विद्युत प्राधिकरणको बारेमा थाहा छ । मैले उसलाई यसका बारेमा बताउन नै सकेको छैन । यस्तो अवस्थामा उसलाई बिजुली किन बारम्बार अवरुद्ध हुन्छ भनेर बुझाउने हैसियत मसँग नरहेको र मजस्ता धेरै अभिभावकलाई यसको समस्याले पिरलेको हुँदा प्रजिअ जिल्लाकै अभिभावक भएका नाताले बालबालिकालाई बिजुलीको आउने र जाने समस्याको बारेमा सम्झाउने तरिका बताईदिनु भएमा निकै आभारी हुने थिएँ । बिजुलीको कारणले बाल बालिकामा परेको मनोबैज्ञानिक असर पर्ने वस्तुगत तथ्यको जानकारी गराउँदै सहज वातावरण सिर्जना गरि बालकलाई सम्झाउने उपाय बताई दिनुहुन बिनम्र अनुरोध गर्दछु ।
No comments:
Post a Comment