संस्थागत क्षमता स्वमूल्यांकनमा सुन्दरबजार नगरपालिकालाई साँढे ५६ प्रतिशत अंक - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 15, 2021

संस्थागत क्षमता स्वमूल्यांकनमा सुन्दरबजार नगरपालिकालाई साँढे ५६ प्रतिशत अंक

अन्तरङ्ग सम्वाददाता

सुन्दरबजार(लमजुङ)– चालु आर्थिक बर्ष २०७७/७८ मा लमजुङको सुन्दरबजार नगरपालिकाले ५६.५ प्रतिशत अंक प्राप्त गरेको छ । संस्थागत क्षमता स्वमूल्यांकनमा नगरपालिकाले उक्त अंक ल्याएको हो ।

        आर्थिक बर्ष २०७६/७७ मा नगरपालिकाले गरेको कामको आधारमा चालु आर्थिक बर्षमा गरिएको स्वमूल्यांकन अनुसार समग्र स्थितिमा ५० प्रतिशत अंक प्राप्त भएको छ । प्रक्रियागत स्थितिमा ५४.४१ प्रतिशत, परिणात्मक स्थिति ६१.११ प्रतिशत अंक प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत दिवाकर पौडेलले बताउनुभयो । उहाँका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तहका संस्थागत अवस्थाका बारेमा गत चैत तेस्रो साता स्वमूल्यांकन कार्यविधिका आधारमा नगरपालिकाले स्वमूल्यांकन गरेको हो ।

        लोकल गभर्मेन्ट इन्टिच्युसनल क्यापासिटी सेल्फ–एसिस्मेन्ट (लिजा)ले सो नगरपालिकाको मूल्यांकनको जिम्मा पाएको थियो । लिजाका अनुसार नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो । नगरपालिकाको स्वमूल्यांकन १० वटा विषयका आधारमा गरिएको थियो । जसमा सबैभन्दा बढी शासकीय प्रबन्धमा ८०.५६ प्रतिशत र सबैभन्दा कम अंक बार्षिक बजेट तथा योजना व्यवस्थापन ३१.८२ प्रतिशत प्राप्त भएको छ । 

        यसैगरी, न्यायिक कार्य सम्पादनमा ७१.४३ प्रतिशत, वित्तीय एवं आर्थिक व्यवस्थापन ६५.९१ प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६६.६७ प्रतिशत, भौतिक पूर्वाधारमा ५७.६९ प्रतिशत, सामाजिक समावेशीकरण ५० प्रतिशत, संगठन तथा प्रशासन ५० प्रतिशत, सेवा प्रवाहमा ५० प्रतिशत तथा सहकार्य र समन्वयमा ५० प्रतिशत अंक प्राप्त भएको छ । 

        चालु आर्थिक बर्ष २०७६/७७ मा गरिएको संस्थागत क्षमता स्वमूल्यांकनमा नगरपालिकाले प्राप्त गरेको अंक सन्तोषजनक रहेको नगरपालिकाका मेयर जनकराज मिश्रले बताउनु भयो । उहाँका अनुसार गतबर्ष कोरोना संक्रमणका कारण नगरपालिकालाई काम गर्न निकै असहज भएको थियो । उहाँले भन्नुभयो, ‘मुख्य काम गर्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भोग्नु परेकाले सोचे जति उपलब्धि हासिल गर्न नसकिएको हो ।’ नगरपालिकाले धेरै काम गरेपनि डकुमेन्टहरू अपडेट गर्ने काममा कमजोरी भएकाले पनि काम नदेखिएको मेयर मिश्रले उल्लेख गर्नु भयो ।

No comments:

Post a Comment