वासुदेव सेडाई
बेसीशहर– राष्ट्रिय नागरिक पार्टीद्वारा लमजुङ र गोर्खामा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारी तथा हालै गएको भूकम्पबाट पीडितहरूका लागि रहत सामग्री वितरण गरेको हो ।
महामारी र भूकम्पबाट सिर्जित पीडाको समयमा नागरिकको जीउज्यानको रक्षा गर्ने उद्देश्यले राष्ट्रिय नागरिक पार्टीले ६० हजार रुपैषँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको सो पार्टीका केन्द्रीय महामन्त्री सुरेश गिरिले बताउनु भयो । उहाँका अनुसार आफ्नो पार्टीले नागरिकप्रति राजनीतिक पार्टीले गर्नु पर्ने पार्टीको जिम्मेवारी तथा कर्तव्य वहन गरेको छ । उहाँले भन्नुभयो, ‘महामारी तथा भूकम्पबाट सिर्जित पीडाको समयमा नागरिकहरुलाई थोरै भनेपनि सहयोग गर्ने उद्देश्य राखेर स्वास्थ्य सामग्री वितरण गरेका छौं ।’
नागरिकहरू अप्ठ्यारोमा पर्दा राजनीतिक दलको काम निस्वार्थ नागरिकको सेवा र सहयोगमा लाग्नु पर्ने हो । यस्तो बेलामा पार्टीका सदस्यहरूबाट रकम संकलन गरी स्वास्थ्य सामग्री र सामान्य औषधि खरिद गरिएको हो । निशेधाज्ञाको समयमा यातायातको साधन खोजेर उक्त सामान लमजुङको दुधपोखरी र गोर्खाको पालुङटारमा गरी जम्मा दुई सय घर परिवारमा माक्स, स्यानिटाईजर चतथा सामान्य औषधि वितरण गरिएको गिरिले जानकारी दिनुभयो ।
राहत बुझेपछि सर्वसाधारणले ठूला राजनीतिक दलहरू सत्ताको खेलमा जुधिरहेको बेलामा साना राजनीतिक दलहरू जनताका सहयोगमा जुटेको बताउँदै प्रशंसा गरेका छन् ।

No comments:
Post a Comment