विश्व वातावरण दिवसमा लोकमार्ग हरियालीसहित आयआर्जन अभियान थालनी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 5, 2021

विश्व वातावरण दिवसमा लोकमार्ग हरियालीसहित आयआर्जन अभियान थालनी

अन्तरङ्ग सम्वाददाता

हर्राबोट(लमजुङ)– विश्व वातावरण दिवसमा मध्यपहाडी लोकमार्ग हरियालीका साथ आयआर्जन अभियानको थालनी गरिएको छ । राइनास नगरपालिका मेयर सिंहबहादुर थापाको प्रमुख आतिथ्यता तथा उपमेयर धनकुमारी गुरुङको विशेष आतिथ्यतामा विश्ववातावरण दिवस २०७८ उपलक्ष्यमा जेठ २२ गते सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 

        ‘नयाँ सोच र सृजना– प्राकृतिक प्रणालीको पुनःस्थापना’ भन्ने नाराका साथ मध्यपहाडी लोकमार्गको दायाँ बायाँ हरियाली र आय आर्जन सहितको उद्देश्यले फलफूल रोपण अभियानको आरम्भ गर्दै एभोकाडोको विरुवा रोपी शुभारम्भ गरिएको हो । सो कार्यका लागि हिमालयन एग्रो टुरिजम कम्पनी, सर्वोदय सेवाश्रम लमजुङले यो अभियानको अवधाराणा तयार गरी राइनास नगरपालीकासंगको सहकार्यमा यसको डिपिआर (सर्भे रिपोर्ट) तयार गरी थालिएको हो । 

        डिपिआरकै आधारमा नेपालमा नै पहिलो नमुनाको रुपमा मध्यपहाडि लोकमार्गका दायाँ बायाँ हरियालीका साथै आम्दानी हुने फलफूल रोपण कार्यक्रम स्थानीय उपभोक्ताको सहकार्यमा कार्य गर्ने तयारी छ । त्यस कार्यको थालनी विश्व वातावरण दिवसको दिन फलफूल विरुवा रोपी शुभारम्भ गरिएको हो ।

 

        सो अभियान अन्तरगत राइनार नगरपालिका क्षेत्रमा मध्यपहाडी लोकमार्गको पहुँच क्षेत्र मर्स्याङदी नदी किनार हर्राबोटबाट, धमिलिकुवा हुँदै चेपे नदी किनारको सिमानासम्मको १० कि मि दुरीमा सडकको दाँया बायाँ फलफूलका विरुवा रोपिने भएको छ । एक विरुवादेखि अर्को विरुवाको दुरी ६ मिटर राखेर दुई हजार पाँच सय विरुवा रोप्ने तयारी गरिएको सो कार्यमा सहजिकरण गरिरहेको सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार वातावरण दिवसको दिन ५ वटा एभोकाडोका विरुवा रोपेर उक्त कार्यको शुभारम्भ गरिएको हो । उहाँले भन्नुभयो, ‘राइनास नगरपालिकको आर्थिक सहयोगमा सर्वोदय र हिमालयन एग्रो टुरिजम कम्पनिले तीन लाख खर्चमा डिपिआर (सर्भे रिपोर्ट) तयार गरिएको हो ।’

        सो बृक्षारोपण कार्यका अवसरमा वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने, कार्यपालिका सदस्य विष्णुमाया धिताल, सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया, हिमालयन एग्रो टुरिजम कम्पनिका चन्द्रमान श्रेष्ठ, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामजी श्रेष्ठलगायतको सहभागिता थियो ।  

        उक्त बृक्षारोपण कार्यको अवधारणा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया र हिमालयन एग्रो टुरिजम कम्पनिका वागबानी विज्ञ चन्द्रमान श्रेष्ठले तयार पार्नु भएको बृक्षारोपण अभियान उपभोक्ता समितिका अध्यक्ष विश्व कडरियाले बताउनु भयो । राइनास नगरपालिकाको १३ लाख रुपैया, वन डिभिजन कार्यालयको ३ लाख, मध्यपहाडी लोकमार्गबाट ५ लाखको लागतमा स्थानीय उपभोक्ता मार्फत काम शुरु भएको सो समितिका सचिव टुकनारायण श्रेष्ठले बताउनु भयो । 

        मध्यपहाडी लोकमार्ग कालोपत्र भएसंगै सडकको दायाँ बायाँ फलफूलको विरुवा रोपि हरियाली र आयआर्जन गर्ने गरी निजी, सामुदायिक र सरकारी (पब्लिक प्राईभेट पार्टनरसीप) अवधाराणा अनुरूप काम गर्ने सहमती बनाई काम अगाडि बढेको छ । यो अवधारणा अनुसार मध्यपहाडी लोकमार्गको पूर्वदेखि पश्चिमसम्म फलफूल विकास अवधारणा झल्काउने गरी यो सडक दायाँ बायाँ फलफूल रोपण अवधारणा ल्याइएको हो । हिमालयन एग्रो टुरिजम कम्पनीका प्रोजेक्ट मेनेजर बागÞवानी विज्ञ चन्द्रमान श्रेष्ठ र सर्वोदय सेवाश्रमका अध्यक्ष सामाजिक अभियन्ता कृष्णराज ओलियले यो अवधारणा तयार गरी प्रस्तुत गर्नु भएको हो ।

        स्मरणीय छ, मध्यपहाडी लोकमार्गमा लमजुङको राइनास नगरपालिका क्षेत्रमा चेप नदी किनारदेखि मर्स्याङदी नदी किनारसम्म तीन वडाहरू पर्दछन् । वडानं– ६ को राइनास, ७ को धमिलिकुवा र वडानं– ८ हर्राबोटको भूभाग पर्दछ । 

No comments:

Post a Comment