छात्रा उपर हातपात, आरोपित शिक्षक रिहा : उनी निर्दाेष सावित भइनसकेको प्रनाउ थापाको प्रष्टोक्ति, घट्नालाई राजनीतिक रङ्ग दिने प्रयास - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, June 6, 2021

छात्रा उपर हातपात, आरोपित शिक्षक रिहा : उनी निर्दाेष सावित भइनसकेको प्रनाउ थापाको प्रष्टोक्ति, घट्नालाई राजनीतिक रङ्ग दिने प्रयास

अन्तरङ्ग ब्युरो

लमजुङ– लमजुङमा प्रहरीले गर्ने व्यवहार आफ्नो पदीय जिम्मेवारी, कर्तव्य तथा दायित्वभन्दा पनि सत्ता राजनीतिक निर्देशनबाट परिचालन हुने गरेको सर्बसाधारणको बुझाई रहेकै समयमा फेरि त्यस्तै आशंका गर्नु पर्ने घट्नाको पुनराबृत्ती भएको छ । पाँच दिन अघि (जेठ १९ गते) राइनास नगरपालिका– ९ को भैरब माविकी कक्षा– ८ मा पढ्ने १४ वर्षीया एक छात्रा उपर सोही विद्यालयका शिक्षकबाट भएको भनिएको दुव्र्यव्यहारको घट्नाको छानविनमा प्रहरी चुकेको सार्वजनिक भएसँगै प्रहरीले गर्ने व्यवहारप्रति थप आशंका उब्जिएको हो ।

        सो दिन जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले दोषि भनिएका थापा थरका शिक्षक पीडित बालिका र उनका अभिभावकलाई समेत प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । तर पीडित बालिकालाई मनोपरामर्शविद्मार्फत सहजीकरण गर्नु पर्नेमा त्यस्तो नगरी ती बालिकालाई घट्ना ‘होइन भन्न’ लगाइयो र सोही बयानका आधारमा त्यसै दिन घर पठाउने काम गरियो । 

        प्रहरीले गरेको करामतको सो घट्ना चैतमासको प्रचण्ड खडेरीको गर्मीमा सल्किएको डढेलोझैं चारैतिर फैलियो । भोलिपल्ट २० गते विद्यालय व्यवस्थापन समितिको पूर्वव्यवस्थापन समितिका अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधि(उक्त नगरपालिकाका मेयर सिंहबहादुर थापासमेत सोही वडाका हुनुहुन्छ)हरू, शिक्षक अभिभावक संघको समेत उपस्थितिमा बैठक बस्यो । सो बैठकले उक्त घट्नाको हल्लाले विद्यालयको बेइजत भएको भन्दै घट्नाप्रति दुःख व्यक्त गर्दै समाचारको भत्सना गर्ने निर्णय गर्यो । त्यसको साथै, उक्त घट्नाका आरोपि वा आरोप लगाउने को दोषी हो ? गहिरो अनुसन्धानबाट किटान गरी सार्वजनिक गर्न र  निजलाई कडा कारबाहीका लागि प्रहरी, प्रशासनलाई अनुरोध गर्ने निर्णय गर्यो । उक्त बैठकमा सो विद्यालयका प्रधानाध्यापक अर्थात व्यवस्थापन समितिका सचिव रामप्रसाद गुरुङ समेत सहभागी हुनुहुन्थ्यो । 

        २१ गतेका दिनमा पनि विद्यालयमा अर्को बैठक रहेको हुँदा सो निर्णयका बारेमा जेठ २३ गतेमात्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बुझाउने भनिएको थियो । तर प्रधानाध्यापक गुरुङले २३ गतेको दिन २० गतेको निर्णयका बारेमा प्रशासनलाई पत्र लेख्नुको सट्टामा उल्टो स्टाफ बैठक राखी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डेले राजीनामा नगरेसम्म पठन पाठन बन्द गर्ने निर्णय गरेको जानकारीमा आएको छ । 

        यस बारेमा बुझ्नका लागि प्रअ रामप्रसाद गुरुङसँग सम्पर्क गर्दा राजकुमार पाण्डेजस्तो परिपक्व व्यक्ति व्यवस्थापन समितिको अध्यक्ष पाउँदा गर्वको अनुभव भएको थियो तर दुई महिना नवित्दै यस्तो षडयन्त्र गर्नु भयो, साह्रै दुःख लागेको छ भन्नुभयो । तपाईहरूको आज स्टाफ बैठक थियो रे त्यसले गरेको निर्णयबारेमा जानाकारी पाउँ न भन्ने थप जिज्ञासामा ‘यस्तो पनि के लेख्ने र ?’ उहाँले भन्नु भयो । तपाईहरूले निर्णय गरेको विषय भन्न र लेख्नमा के आपत्ती होला र ? भन्ने थप जिज्ञासामा ‘व्यवस्थापन समितिका अध्यक्षको व्यवहारले शिक्षकहरूको नैतिक चरित्रमा आँच आउने किसिमले विद्यालय प्रशासन समक्ष वातावरण धमिल्याउँदै शिक्षकलाई हटाउनु पर्ने, नहटाए प्रअलाई कारबाही हुने भन्ने आपत्तीजनक विषय आयो, जसले शिक्षकको असुरक्षा हुनुका साथै शैक्षिक गुणस्तर उठाउन लागि परेका शिक्षकहरू त्यस्तो वातावरणमा घुलमिल हुन नसक्ने स्थिति उत्पन्न भयो र उहाँ व्यस्थापन समितिको अध्यक्ष रहँदासम्म शिक्षकहरूले पठन पाठनको काम गर्न नसक्ने निर्णय भएको छ ।’ भन्नु भयो । उक्त निर्णय सर्वसम्मत हो ? भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘हो’ । 

        उक्त विद्यालयमा शिक्षकहरू कति जना हुनुहुन्छ ? भन्ने अर्को जिज्ञासामा ‘१७ जना शिक्षक हौं, एक जना लेखा र एक जना कम्प्युटरको समेत १९ जना हौं, उहाँहरू दुई आज अनुपस्थित हुनुहुन्यो तर पनि उहाँहरूले फोनबाट सहमति जनाइसक्नु भएको छ, भोलि सही गर्नु हुन्छ ।’ प्रअ गुरुङले जानकारी दिनुभयो । 

        कोरोना कहरका कारण निषेधाज्ञा नलम्बिएको खण्डमा उक्त विद्यालयमा आउँदो असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुने कार्यक्रम छ । 

        उक्त घटनाका बारेमा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रनाउ गंगाबहादुर थापाले हामीले सूचना पाउनासाथ पिडित भनिएकी बालिका, उनका अभिभावक र पीडक भनिएका शिक्षक दुबैलाई लिएर आयौं तर बालिकाले नै होइन भनेपछि फिर्ता पठाएका हौं, तर केश मिलेको भन्ने होइन भन्नुभयो । प्रनाउ थापाले थप भन्नुभयो, ‘सूचनाको आधारमा हामीले लिएर आयौं तर पुर्पक्षमा राख्नका लागि आधार नभएपछि फिर्ता पठाएका छौं तर हाम्रो अनुसन्धान जारी छ, उजुरीको आधारमा जुनसुकै बेला पनि निज आरोपी थापालाई गिरफ्तार गरी अनुसन्धानको दायरामा ल्याउन सकिन्छ ।’

        प्रहरीको उक्त व्यवहार प्रति आपत्ती व्यक्त गर्दै केन्द्र, प्रदेश र स्थानीय सरकारको निर्देशनमा सत्यलाई दवाउन खोजेको भन्दै उक्त विद्यालयका अभिभावकहरू खासगरी आमाहरूले ‘विद्यालयमा आफ्ना छोरीहरू सुरक्षित हुनुपर्ने’ माग गर्दै जेठ २२ गते विद्यालय परिषरमा प्रदर्शन गर्दै दोषि उपर कडा कारवाहीको माग गरेका छन् । 

        प्रहरी राजनीतिक सत्ता दबाबमा परेको तथा पीडित भनिएकी बालिकाकी आमाले दोस्रो विवाह गरी उनलाई छाडेर गएको र उनको घरमा कान्छी आमा भएका कारण बालिकाले आफूलाई सुरक्षित अनुभूति गर्न नसकेको कारणले बयान फेरेको हुन सक्ने आंकलन गरिएको छ । 

        तर यस घट्नाले अब राजनीतिक रङ्ग लिन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाण्डे नेपाली काँग्रेसका नेता हुनुहुन्छ भने विद्यालयका प्रधानाध्यपक गुरुङ नेपाल राष्ट्रिय शिक्षक संगठनको राइनास नगर समितिका अध्यक्ष भएको र पीडक भनिएका शिक्षक पनि सोही समितिको कार्यकारी सदस्य भएको बुझिएको छ । सो हुँदा उनको बचाउका लागि विद्यालय व्यवस्थापन समितिका विरुद्ध विद्यालयका शिक्षकको मोर्चा बनाउन सफल भएको बताइएको छ । 

        सो घट्ना पीडित बालिकाले शिक्षकबाट आफूलाई दुर्व्यवहार गरेको आफ्ना साथीलाई भनेपछि सार्वजनिक भएको स्थानीयको भनाई छ । उनीहरूले जबरजस्ती करणी जस्तो जघन्य अपराधको बिषयमा पीडित भनिएकी बालिकाको बदलिरहने अभिव्यक्तिले घटनालाई झन शंकास्पद बनाई दिएको बताएका छन् । 

बाल अधिकारकर्मी र यससंग सम्बन्धित संघ संस्थाहरूले बालअधिकार ऐन, दफा, उपदफातर्फ ध्यानै नदिई प्रशासनले हेलचक्रयाई गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । बालबालिकाका लागि राष्ट्रिय अभियान NCCR ले बिज्ञप्ति जारी गर्दै न्यायिक पद्दतिवाट छानबिनको लागि माग गरेको छ । 

        करणी जस्तो आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका व्यक्तिलाई ४,५ घण्टा पनि नवित्दै रिहा गर्नुले प्रहरीको नियतमा आशंका उब्जाउने प्रसस्त आधार भएको बालअधिकारकर्मीहरूले बताएका छन् । 

        समाचारका साथमा जेठ २२ गते विद्यालयमा गरिएको दुर्व्यवहार विरुद्धको प्रदर्शन र बालबालिकाका लागि राष्ट्रिय अभियानको विज्ञप्ति संलग्न छ । 

        स्मरणीय छ, पाठकवर्गलाई थाहै छ, लमजुङ प्रहरीको वर्तमान नेतृत्वको गलत रबैयाका बारेको ज्वलन्त उदाहरण केही महिना अघि दुराडाँडामा भएको हत्याकाण्डमा उदाङ्ग भएको अन्तरङ्गले त्यतिबेलै उजागर गरिसकेको छ । 

(राइनासबाट स्वस्तिका पन्थी र बेसीशहरबाट नवराज पहाडी) 

No comments:

Post a Comment