दुराडाँडाले सम्झ्यो दिवंगत अनुकरणीय व्यक्तित्वहरूलाई - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 19, 2021

दुराडाँडाले सम्झ्यो दिवंगत अनुकरणीय व्यक्तित्वहरूलाई

अन्तरङ्ग सम्वाददाता

काठमाडौं– लमजुङको ऐतिहासिक थलो दुराडाँडाद्वारा यो वर्ष कोभिड– १९ र अन्य कारणले गुनमाउनु परेका आफ्ना दिवंगत अनुकरणीय व्यक्तित्वहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । विद्यमान बन्दाबन्दीको स्थिति र विकसित प्रविधिको उपयोग गर्दै दुराडाँडाबाट राजधानीमा विभिन्न पेशा व्यवसायमा रहेर पनि आफ्नो जन्मथलोप्रति कुनै न कुनै प्रकारले सम्बन्ध बनाई राख्ने र दुराडाँडाका लागि केही गर्नु पर्छ भन्ने अल्प र दीर्घकालीन सोच र योजनाका साथ खटेर विभिन्न संस्थाहरूमा आवद्ध व्यक्तित्वहरू तथा संस्थाहरूको सहभागीतामा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रमको आयोजजना दुरद्रष्टा श्रीकान्त अधिकारी स्मृति प्रतिष्ठानले असार ५ गते गरेको हो । 

        उक्त कार्यक्रम दुराडाँडाका अभिभावक, बहुप्रतिभा र गुणका धनी पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारी, शैक्षिक एवम् सामाजिक व्यक्तित्व प्रा.डा. इन्द्रविलास अधिकारी त्यस्तै सामाजिक सचेतनाका वाहक तपोनिधि अधिकारी, पूर्वसांसद एवम् सामाजिक व्यक्तित्व हरिभक्त अधिकारी, दुराडाँडाकी आदर्श सुपुत्री रश्मी खनाल(अधिकारी) तथा बुहप्रतिभा एवम् जुझारुपनका धनी व्यक्तित्व विष्णु ओझाको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । तर पनि यो वर्ष दिवंगत हुनुभएका दुराडाँडा क्षेत्रका सबै– सबैको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । उल्लेखित छ व्यक्तित्वको जीवनीमा समेत प्रकाश पार्दै सञ्चालन गरिएको श्रद्धाञ्जली समारोहमा दिवंगत व्यक्तित्वहरूसँग निकट रहनु भएका त्यस्तै कर्मशील व्यक्तित्वहरूलाई दिवंगतहरूको व्यक्तित्व एवम् कीर्तित्वका बारेमा प्रकाश पार्न लगाइएको थियो । 

        वेविनार(जुम) कार्यक्रम भएका कारण उक्त कार्यक्रममा जन्मथलो (दुराडाँडा)प्रति चासो र चिन्ता गर्ने जिल्लामै रहेकाहरू समेत केहीलाई जोडिने मौका मिलेको थियो । आयोजक संस्थाका सचिव देशबन्धु अधिकारीले शालिन ढंगबाट सञ्चालन गर्नु भएको कार्यक्रमको शुरुमा उक्त संस्थाका उपाध्यक्ष गणेश नेउपानेले आमन्त्रित व्यक्तित्वहरूको स्वागत गर्दै दिवंगत छवै जनाको संक्षिप्त जीवनी सहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । 

        नरकान्त अधिकारीको व्यक्तित्व एवम् बारेमा पूर्वअर्थमन्त्री प्रतिभाशाली व्यक्तित्वका धनी डा. भेषबहादुर थापाले प्रकाश पार्नु भएको थियो । डा. थापाले अत्यन्त ओजस्वी शब्दहरूको प्रयोग गर्दै नरकान्त अधिकारीले मुलुकका लागि गर्नु भएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँसँगको संगतलाई आफूले सौभाग्यको रुपमा लिएको बताउँदै थापाले उहाँ शिक्षा, दीक्षा र आचारणप्रतिको सदभावको प्रतिबिम्व, आदर्श पुरुष, राष्ट्रप्रतिको आस्था, चिन्ता र चिन्तन अनुकरणीय रहेको उल्लेख गर्नु भयो । पूर्वराजदूतको समेत अनुभव सगाल्नु भएका डा. थापाले आफूसँग फोनमा समेत हुनेगरेका भलाकुसारीको स्मरण गर्दै भन्नुभयो, ‘उहाँलाई समाजको खस्कदो नैतिकता, अनुशासन र इमान्दारी देखेर निकै चिन्ता थियो, ‘व्यवस्था परिवर्तन भएपनि मानिसका स्वभावमा परिवर्तन नआउने रहेछ’ भन्दै पटक– पटक चिन्ता व्यक्त गर्नु हुन्थ्यो ।’ नरकान्त अधिकारी शालिन, संवेदनशील, मानवीय पक्षका धनी, मौलिक तह, नैतिक दृष्टिले उच्च, आचरणमा सरलपन, मुलुकमा बाह्य शक्तिको चलखेल, राजनीतिक, सामाजिक, आर्थिक पक्षमा भइरहेको विचलनका प्रति अति चिन्तित, आध्यात्मिक चिन्तन, आचारण र नैतिकताका अनुकरणीय व्यक्तित्वलाई गुमाउनु पर्दा भावुक भएको डा. थापाले बताउनुभयो । 

        यसैगरी, प्रा.डा. इन्द्रविलाश अधिकारीको व्यक्तित्वमा प्रकाश पार्नु भएको थियो, गण्डकी सामाजिक परिषदका महासचिव नारायणप्रसाद खनालले । ८३ वर्षको उमेरमा आफूले ३० वर्षमात्र उहाँको संगत गर्न पाएको जानकारी दिदै खनालले त्रिविका अंग्रेजी प्राध्यापक, पूर्वीय साहित्य दर्शनमा लक्ष्मीप्रसाद देवकोटाका बारेमा पिएचडी गर्नु भएको जानकारी दिनुभयो । त्यसअघि उहाँले इन्द्रविलासको बाल्यकाल, दुराडाँडाको सर्वोदय माविमा प्रधानाध्यापक भएको बारेमा समेत उल्लेख गर्नु भएको थियो । उहाँ गण्डकी सामाजिक गुठीको संस्थापक हुनुका साथै तीन कार्यकाल अध्यक्ष हुनु भएको र आफ्नो उमेर ढल्कदै गएका कारण नेतृत्व हस्तान्तरणका लागि अधिकारी सदैव चिन्तित रहनु भएको जानकारी खनालले दिनु भयो । बालक, वयस्क एवम् बृद्ध व्यक्तिहरूसँग समेत सहज घुलमिल हुन सक्ने भद्रव्यक्तित्व भएको, दुई श्रीमती भएर पनि दिदीबैनी जस्तो व्यवहार गरेर घरपरिवार चलाएको अनुकरणीय परिवार रहेको मैले पाएँ खनालले भन्नुभयो ।

        पूर्वसांसद हरिभक्त अधिकारीको व्यक्तित्वका बारेमा उहाँका समकक्षी पूर्वसहायकमन्त्री डा. रामचन्द्र अधिकारीले प्रकाश पार्नु भएको थियो । राजनीतिक खिचातानीमा सधैं सँगै हुन नसकेपछि पछिल्ला दिनमा सँगै रह्यौं र उहाँ सांसदसम्म हुनुभयो । सरल एवम् मिलनसार स्वभावका धनी हरिभक्तले सांसद हुनुअघि दुराडाँडाको विकासका अतिरिक्त जिल्लाका विभिन्न स्थानका खासगरी खानेपानी योजनाको विस्तारमा विशेष योगदान गर्नु भएको स्मरण गर्नु भयो । 

        प्राध्यापक विष्णु ओझाको व्यक्तित्वमा प्रकाश पार्नु हुँदै रामहरि तिमिल्सिनाले आइएस्सीका गोल्डमेडलिष्ट उहाँ डिप्लोमा तहको अध्ययन गर्दा विद्यार्थी राजनीतिक क्षेत्र(नेविसंघ)मा समेत सक्रिय रहेका कारणले दोस्रा हुनुभयो, जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्रिविमा सहायक डिनसम्मको पदमा रहे पनि उहाँले त्रिविमा कुनै समस्या पर्दा ओझा सरलाई सोध्नु पर्छ भन्ने वातावरणको सिर्जना गर्नु भएको थियो, उहाँको अभाव धेरै वर्षसम्म खड्किरहने छ तिमिल्सिनाले भन्नुभयो । 

        रश्मी खनाल(अधिकारी)का बारेमा उहाँले सहप्राध्यापन गर्नु भएको मनमोहन मेमोरियल कलेजका प्रमुख द्रोण अधिकारीले प्रकाश पार्नु भएको थियो । सहप्राध्यापनको २० वर्षको कार्यकाल उक्त कलेजमा विताउनु भएकी रश्मी कहिल्यै रिसाएको देखिएन, हँसिलो र मिलनसार व्यक्तित्वकी धनी हुनुहुन्थ्यो । उक्त कजेलमा तीन पुस्ताका १६ सय विद्यार्थीलाई पढाउनु भएकी उहाँलाई उनीहरूले स्मरण गरिरहने जानकारी दिदै रश्मी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहनु भई विभिन्न संघसंस्थामा आवद्ध भई नेतृत्व लिनुभएको, पदीय जिम्मेवारी र समयको अत्यन्तै ख्याल राख्ने आदर्श छोरी एवम् नारी हुनुहुन्थ्यो भन्नुभयो । यस्ता व्यक्तित्वहरूको स्मृति ग्रन्थ प्रकाशन लगायतका कुनै काम हुने भएमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नु भयो । 

        त्यस्तै, तपोनिधि अधिकारीका बारेमा आयोजक संस्थाका उपाध्यक्ष गणेश नेउपानेले प्रकाश पार्नु भएको   थियो । अधिकारीले २००८ सालमा छुवाछुतका विरुद्धमा अभियान चलाउनु भई दलितहरूलाई आफ्नै घरमा पढाउनु भएको, त्यसैकारणले गर्दा जात फाल्यो भन्ने हल्ला भएपछि विवाह समेत निकै ढिला भएको, विद्यार्थीकालमा सर्वोदय माविको सामुन्ने रहेको खेल मैदान निर्माणको अध्यक्ष बनेको, पछि चितवन बसाई सर्नु भएका उहाँ प्रजातन्त्र सेनानी समेत रहेको नेउपानेले उल्लेख गर्नु भयो ।

        सो अवसरमा संविधानसभाका सदस्य डा. भिष्मनाथ अधिकारीले आयोजक र सहभागीहरूलाई धन्यवाद दिनु हुँदै दुराडाँडालाई उठाउन सबै जुटौं भन्ने आह्वान गर्नु भएको थियो ।  

        दुराडाँडा क्षेत्रका छ वडाको प्रतिनिधित्व गर्दै सुन्दरबजार नगरपालिका– ३का अध्यक्ष अमृत न्यौपानेले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो । त्यस्तै पत्रकारहरूका प्रतिनिधि अन्तरङ्गका सम्पादक नवराज पहाडीले जिल्लामा रहेर पनि राजधानीमा आयोजित यति महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा गौरव बोध भएको बताउनु भयो । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको अध्यक्ष समेत रहनु भएका पहाडीले दुराडाँडाको गौरवका रहेको लोकसंस्कृतिको जगेर्ना गर्न, त्यहाँको शैक्षिक, सामाजिक र आर्थिक अभियानलाई अल्प र दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले कोभिडका कारण दिंवगत हुनुभएका राजु केसीको स्मरण गर्दै उहाँको दयनीय आर्थिक अवस्थाले पिरोलेको छ, भोलिका दिनमा त्यस्तै विपदमा पर्न सक्नेहरूका लागि एक ‘दुराडाँडा समुहिक विशेष कोष’को यथासिघ्र स्थापना गर्न सहभागीहरूमा निवेदन गर्दछु भन्नुभयो ।  

        दुरद्रष्टा श्रीकान्त अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त अवसरमा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु हुनेमा लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुरा, दुराडाँडा सेवा समाजका अध्यक्ष निर्मल नेउपानेसहित हुनुहुन्थ्यो । कवि हृदयपाणी अधिकारीले आफैले रचना गरेको छवै जनाको स्मृतिको गीति कविता सुनाउनु भएको थियो ।

        वेविनार कार्यक्रममा एक सयजना मात्र सहभागी हुने पावन्दीका कारण कार्यक्रममा सहभागी हुन खोज्ने प्रतिक्षरतको लामै सूचि रहेको थियो ।  

No comments:

Post a Comment