मनाङमा यार्सा टिप्न गएका ६० जना सम्पर्क बिहीन, मुख्यमन्त्री मौसमको खरावी पछि चामेमै अड्किनु भयो, ३५ जनाको उद्धार - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 17, 2021

मनाङमा यार्सा टिप्न गएका ६० जना सम्पर्क बिहीन, मुख्यमन्त्री मौसमको खरावी पछि चामेमै अड्किनु भयो, ३५ जनाको उद्धार

अन्तरङ्ग सम्वाददाता

चामे(मनाङ)– जेठ मसान्तका दिनेदेखि परेको अविरल वर्षाबाट उत्पन्न भई चलेको बाढी पहिरोको अवस्था बुझ्न हिमाली जिल्ला मनाङ पुग्नु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा खरावी आएपछि सदरमुमाका चामेमै अड्किनु भएको छ । नेपाली सेनाले ३५ जनालाई असार ३ गते उद्धार गरेको छ । मनाङको फू लेकमा यार्सा टिप्न गएका ६० जना सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ । 

        नेपाली सेना जनप्रतिनिधि सहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले हेलिकप्टर मार्फत नासो गाउँपालिका– १ सिरानतालबाट २४ जना र नासोको थोचें गुम्बा क्षेत्रबाट ११ जना उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताउनु भयो । उहाँका अनुसार त्यसपछि ताचैमा उद्दार गर्ने कार्यक्रम थियो तर मौसमको खरावीले त्यो कार्य सम्भव हुन सकेन । 

        उद्धार गरिएकाहरू सबै नासों गाउँपालिकाका हुन् । उनीहरूमध्ये २४ जना व्यक्तिहरू सिरानतालका हुन् । उनीहरूको स्थिति नाजुक थियो प्रहरी प्रमुख सुभास खड्काले बताउनु भयो । उहाँका अनुसार उनीहरू बसेको तलको भागमा मर्स्याङ्दी नदीले खोलेको खोल्यै गरेको हुँदा आज उद्धार गर्न नसकेको भए उनीहरू बसेको स्थानमा रातभरमा पहिरो गएर मर्स्याङ्दीले बगाउन सक्ने स्थिति बनिसकेको थियो । उहाँले भन्नुभयो, ‘थोंचेको गुम्बामा बसेकाहरू बढी अशक्त थिए । कोही बिरामी बोही सुत्केरी, गर्भवती र बृद्धबृद्धाको उद्दार गरेका हौं ।’ त्यो स्थान पनि अप्ठेरोमा परिसकेको थियो । एकातर्फ दूधकुण्ड खोला र अर्कोतर्फ मस्र्याङ्दीले कटान गरिरहेको  थियो । आज उद्दार नगरेको भए रातभरमा जे पनि हुनसक्ने अवस्था रहेको खड्काले उल्लेख गर्नुभयो । 

        सिरानतालबाट उद्धार गरिएको टोलीलाई तालको फुटबल खेलमैदानमा राखिएको जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो । उहाँका अनुसार थोचें गुम्बा क्षेत्रबाट उद्धार गरिएका टोलीलाई चामेमा राखिएको छ । उहाँहरू सबैलाई टेण्टमा सुरक्षितका साथ राख्ने तयारी छ । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि गएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङे , प्रदेश सांसद चिन्ता घलेको टोली चोममा ओर्लनासाथ मौसम खराब भएर अन्यत्र जान नसकेको जानकारीमा आएको छ । मुख्यमन्त्रीले सदरमुकाम चामे क्षेत्रको बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्ने र स्थानीयसँग भोटघाट गर्ने क्रम चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो । उहाँका अनुसार मौसमको खराबीका कारणले गर्दा मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीको अन्यत्र जान सक्ने अवस्था रहेन । 

        यसैगरी, मनाङको नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका ११० जनामध्ये ६० जना सम्पर्क बिहीन रहेको र सम्पर्कमा रहेका ५० जना पनि अलपत्र अवस्थामा रहेको जानकारी आएको प्रनाउ खड्काले बताउनु भयो । उहाँका अनुसार भोलि मौसमले साथ दिएमा उनीहरूको उद्दार गरिने योजना छ । उहाँले भन्नुभयो, ‘उनीहरू पाँच हजार मिटर भन्दा माथिको भागमा छन्, पानी परेका कारण अलपत्र परेका हुन् ।’ 

        मनाङ प्रहरीले दिएको जानकारी अनुसार बाढीले हिजोका दिनमा मात्रै धारापानीमा रहेका नासों गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय भवनका साथै प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवनका साथै ५ वटा होटल भएका घर बगाएको जनाएको छ । त्यसबाहेक बाढीले ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने लगायतका पाँच वटा झोलुंगे पुल बगाएको छ । जिल्ला सदरमुकाम र नासों गाउँपालिकाका गरी एक सयभन्दा बढी घर परिवार विस्थापित भएको प्रहरी भनाई छ ।

No comments:

Post a Comment